फर्जी टिकट बेचर फरार भएका एनआरएनए पोर्चुगलका कोषाध्यक्षद्वारा आत्मसमर्पण

फर्जी टिकट बेचर फरार भएका एनआरएनए पोर्चुगलका कोषाध्यक्षद्वारा आत्मसमर्पण


  • सनत आचार्य (युरोप प्रतिनिधि)

पोर्चुगलमा नक्कली टिकट बेच्ने र रेमिट्यान्सबाट करोडौँ रकम ठग्ने गैरआवासीय नेपाली संघका कोषाध्यक्ष विक्रमजंग कुँवरले पोर्चुगल प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् ।

कुँवरले शुक्रबार (१६ अप्रिल) स्थानीय प्रहरी पीएसपी अल्भेर्कामा आत्मसमर्पण गरेका हुन् ।

गत अप्रिल ५ मा नेपाल उड्न लागेका दर्जन बढी नेपालीलाई विमानस्थलका सम्बन्धित उडान कर्मचारीले टिकट नक्कली रहेको भन्दै लिस्बनस्थित विमानस्थलबाट फर्काएपछि विक्रम कुँवरको ‘नक्कली टिकट र रेमिटको ठगी धन्दा’ पर्दाफास भएको थियो ।

पीडित यात्रुले आफुहरू ठगिएको भन्दै स्थानीय प्रहरीसमक्ष उजुरी गरेलगत्तै कुँवर फरार थिए ।

प्रारम्भिक अनुसन्धानमा कुँवरले पोर्चुगलको लिस्बनमा संचालित लक्ष्मी ट्राभल्सको नामबाट नेपाली, बंगलादेशी र भारतीय नागरिकहरूलाई नक्कली हवाइटिकट बेच्ने गरेको र रेमिट्यान्सबाट दुई करोड भन्दा बढी रकम ठगेको पाइएको बताइएको छ ।

यसरी ठगिनेहरूमा एक सय साठी भन्दा धेरै नेपाली रहेका छन् भने विक्रम पक्राउ परेपछि पीडितको संख्या अझ बढ्ने देखिन्छ ।

ठगिएका नेपालीहरू महाबाणिज्यदूतको कार्यालय र फ्रान्सस्थित नेपाली दूतावासलाई समेत हारगुहार गरेपछि सबैको समन्वयमा पीडितहरूले स्थानीय प्रहरीमा उजुरी गरेका थिए । उजुरीको आधारमा प्रहरीले लक्ष्मी ट्राभल्समा छापा मारेर आवश्यक कागजातहरू नियन्त्रणमा लिएको थियो ।

त्यसलगत्तै महाबाणिज्य दूतावासमा सर्वपक्षीय छलफल भएको थियो । छलफलपश्चात फ्रान्सस्थित नेपाली दूतावासले कुँवरको नेपालस्थित परिवारसमक्ष ठगीका बारेमा जानकारी गराइ कुँवरको नेपालमा रहेको सबै चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रियासमेत अघि बढाएको थियो ।

अघिपछि राजनीतिक र अन्य हिसावले विभाजित पोर्चुगलको नेपाली समाज कुँवरको ठगीकाण्डमा भने एक भएको देखियो । यहाँका अधिकांश संघसंस्थाले पीडितहरूको पक्षमा ऐक्यबद्धता मात्र प्रदर्शन गरेनन्, ठगीमा संलग्न कुँवरविरुद्ध उनीहरू संगठित रूपमा प्रस्तुत पनि भए ।

यसरी चारैतिरको दबाबपश्चात कुँवर स्थानीय प्रहरीसमक्ष आत्मसर्मपण गर्न बाध्य भएका हुन् ।

ज्ञातव्य छ, कुँवर गैरआवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष हुन् भने ठगी प्रकरणपछि संघले साधारण सदस्यसमेत नरहने गरी कुँवरलाई निलम्बनका लागि सिफारिस गरेको थियो ।

कुँवर पक्राउ परेपछि अब उनमाथि उचित कारवाही हुने र पीडितहरूले न्याय पाउनेमा पोर्चुगलवासी नेपाली र नेपालीसम्बद्ध संघसंस्थाहरू विश्वस्त देखिएका छन् ।