बलात्कार प्रयासमा असफल भएपछि महिलालाई घाइते तुल्याउने साउद पक्राउ

बलात्कार प्रयासमा असफल भएपछि महिलालाई घाइते तुल्याउने साउद पक्राउ



हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका-२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड-३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जनाएअनुसार पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि साउदलाई पक्राउ गरिएको हो । उनविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएका बताइन्छ । पीडितकी आफन्त माङ्ली फडेरालाई उद्धृत गर्दै राससले जनाएअनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा पीडितको उद्धार गरिएको थियो ।

हाल अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका पीडित साउदविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले पुष्टि गरेका छन् । सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको छ ।