महामारी तीव्र बनेपछि दिल्लीमा निषेधाज्ञा जारी

महामारी तीव्र बनेपछि दिल्लीमा निषेधाज्ञा जारी


भारतको केन्द्रीय राजधानी दिल्लीमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले सप्ताहन्तमा निषेधाज्ञा जारी गर्नुपर्ने पर्ने निष्कर्ष निकालेको एएनआईले जनाएको छ ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यू लगाउनुपर्ने निष्कर्षमा पुगिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरेका छन् ।

दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती मध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ ।

बताइएअनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ । भारत देशभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको बुधबार पहिलो पटक हो । यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो ।

कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् ।