जङ्गबहादुरविरुद्ध एउटा घुस्याहाको षडयन्त्र !

जङ्गबहादुरविरुद्ध एउटा घुस्याहाको षडयन्त्र !


(इतिहासको पानाबाट)

जंगबहादुर राणा थापाथली पुगेको ठीक १० दिनपछि फेब्रुअरी १६ मा एउटा कपटपूर्ण षड्यन्त्र रचिएको कुरा पत्ता लाग्यो । त्यो षड्यन्त्र निकै पहिले नै परिपक्व अवस्थामा पुगेको रहेछ । यस षड्यन्त्रको सूक्ष्म सङ्केत र गन्ध त्यसबेलासम्म अनुभूत भएको थिएन । थापाथली पुगेको दुई दिनपछि जङ्गबहादुरले प्रधानमन्त्रीको पदभार पुनः ग्रहण गरे र आफ्नो काम कर्तव्यप्रति दत्तचित्त भए । उनका विरोधमा कहाँ, कतै र कसैबाट कुनै पनि लक्षण देखिएको थिएन । कानून र व्यवस्था शान्त, सामान्य र स्थिर थियो । यो षड्यन्त्रको भन्डाफोर एउटा अचम्मको अवस्थाबाट हुन आयो ।

फेब्रुअरी १६ को मध्यरातमा जनरल बमबहादुर दगुर्दै थापाथली गए । केही समय चुपचाप लागेर आगो तापेपछि उनी एक्कासी रुन थाले र दाजुलाई आफ्नो मनमा केही गोप्य कुरा खेलेको बताए– उनी पछिल्ला दुई रातदेखि निदाउन सकेका थिएनन् । आफू निर्दोष हुँदाहुँदै पनि आफैमाथि अबगाल आइपर्ने डरले उनले यो कुरा अहिलेसम्म प्रकट गर्न सकेका थिएनन् । तर जङ्गबहादुरको ज्यान जान धेरै समय नलाग्ने अवस्था आएको हुँदा उनले आफूमाथि अरू बढी नियन्त्रण गर्न सकेनन् ।

भोलिपल्टकै दिन जङ्गबहादुरलाई वसन्तपुर गइरहेका बेला बाटैमा गोली हानेर मार्ने षड्यन्त्र रचिएको थियो । बमबहादुरले त्यसपछि षड्यन्त्रको पूर्ण विवरण सुनाउन लागे । षड्यन्त्रमार्फत जनरल बद्रीनरसिंह, कर्णेल जयबहादुर र काजी करबीर खत्री मिलेर एउटा हत्याराका हातबाट जङ्गबहादुरको हत्या गराउने र वर्तमान सरकार ढलाएर यसका ठाउँमा नयाँ सरकार गठन गर्ने तयारीमा थिए । जङ्गबहादुरको मृत्युपश्चात् राजकुमार उपेन्द्रविक्रम दाजु सुरेन्द्रविक्रमलाई मारेर राजगद्दीमा बस्ने त्यसपछि नयाँ सरकार गठन गरेर बमबहादुरलाई प्रधानमन्त्री, बद्रीनर सिंहलाई प्रधानसेनापति अनि जयबहादुर र काजी जयवीर खत्रीलाई त्यसमुनिका दर्जामा नियुक्त गर्ने व्यवस्था गरिएको थियो ।

यस षड्यन्त्रको उठान गर्ने व्यक्ति काजी करबीर खत्रीझैँ लाग्थे । यो षड्यन्त्रद्वारा उनले जङ्गबहादुरसँग पुरानो रिसको बदला लिने आशा गरेका थिए । उनलाई धेरै पहिलेदेखि मनमा पालेर राखेको त्यो प्रतिशोध अहिले पूरा गर्ने अवसर जुरेको थियो । करबीरले जङ्गबहादुरले यूरोपेलीले छोएको खाएर मात्र होइन हिन्दू धर्मको सिद्धान्तविपरीत अन्य धेरै त्यस्ता काम गरेर जात फालेको हल्ला फिँजाइदिए । यो एउटा प्रभावकारी अस्त्र थियो । यो अस्त्रले जबहादुरका विरुद्ध उनका हितैषी साथीभाइ र अन्य नातेदारको सहानुभूति सजिलै बिच्छेद गराउन सक्थ्यो । किनभने जङ्गका साथीभाइ र नातेदारहरू हिन्दू धर्मविरोधी क्रियाकलापका कट्टर विरोधी थिए । त्यसैले करबीर खत्रीले आफू र आफ्ना सहयोगीलाई यो दुष्कर्मको कलङ्क र सैनिक क्रोधको अपजसबाट बचाउन उपयुक्त बाटो अपनाएका थिए ।

उनले जङ्गबहादुर धेरै शक्तिशाली व्यक्ति भएका हुँदा उनलाई जातबाट हटक गर्न सकिँदैन तसर्थ यसको उपयुक्त उपचार नै उनको हत्या गर्नु हो र यसो गरे मात्र सबै प्रकारको दोषबाट मुक्ति पनि मिल्नेछ भन्ने ठाने । फेब्रुअरी १४ रातको समयमा राति बमबहादुरलाई बद्रीनरसिंहको घरमा लगियो र षड्यन्त्रकारीको सानो समूहको मुखेन्जी राखियो । बमबहादुरलाई यस षड्यन्त्रको मतियार तोक्नुभन्दा पहिले नै सबै निर्णय गरेर आवश्यक व्यवस्था मिलाइसकिएको थियो । बमबहादुरको आदर्श तथा चतु¥याइँका प्रतिफल भन्नुपर्छ- उक्त षड्यन्त्रको शपथ ग्रहण गरेपछि बमबहादुर उनीहरूका कुटिल चालभित्र प्रवेश गरे र प्रत्यक्ष रूपमा त्यसको ऐना हेर्ने प्रयास गरे ।

हो, उनले यस षड्यन्त्रको भन्डाफोर गर्न ढिलाई गरे तर यसो गर्नुमा उनको आफ्नै प्रकारको चाल थियो । उनले त्यो चाल चाले । उनले उक्त षड्यन्त्रको भित्री तहसम्म पुग्ने प्रयास गरे । सोझो अर्थमा भन्दा उनी समयको लाभ उठाउन चाहन्थे । यसरी बमबहादुरले अत्यन्त सावधानीपूर्वक आफ्नो बुद्धि लडाएर त्यो षड्यन्त्रको सम्पूर्ण भेद पत्ता लगाए । उनले त्यस षड्यन्त्रमा आफू पूर्ण रूपले लागेको र ज्यानको बाजी थापेर त्यसमा सहमत भएको भनेर षड्यन्त्रकारीलाई आश्वस्त पारे । उनले त्यस षड्यन्त्रको भेद आफ्नो हातमा पारेपछि जङ्गबहादुरलाई यसको खुलासा गर्ने निधो गरे । उनलाई यसो गर्दा के कसो हुने हो भन्ने शङ्का थियो किनभने यस षड्यन्त्रको पहिलो सूत्राधार उनी आफै पनि पर्न सक्ने अवस्था थियो । उनको दिमागले दुई दिनसम्म काम गरेन । यसको प्रमुख कारण, एकातिर उनको मनको आन्तरिक त्रास थियो भने अर्कातिर कान्छो भाइको प्राण रक्षाको पनि प्रश्न थियो । उनी भाइको ज्यान बचाउने वा दाइको ज्यान बचाउने भन्ने धर्मसङ्कटमा परेका थिए ।

आफ्नै एउटा प्यारो भाइ आफ्नै ज्यान लिन उद्यत भएको थाहा पाउँदा जङ्गबहादुरलाई चिन्ता लाग्नु स्वाभाविक थियो । यति गम्भीर सूचना यति ढिलो सम्प्रेषण गरेका कारण रिसाएर उनले एकछिन भाइ बमबहादुरलाई खूब गाली गरे र यो सूचना झुठो भएको खण्डमा उनलाई उचित दण्ड दिने र सत्य सावित भएमा यथोचित रूपमा पुरष्कृत पनि गरिने प्रतिज्ञा गरे ।

त्यसपछि जङ्गबहादुरले थापाथलीको सुरक्षा दललाई सशस्त्र तुल्याउन कुनै समय खर्च गरेनन् । उनले कोतमा तैनाथ सेना र सम्पूर्ण रेजिमेन्टलाई सशस्त्र अवस्थामा राखेर आफ्नो नियन्त्रणमा लिए । अनि आफूले चालेको सुरक्षा कदम कसैले थाहा पाउनुअघि षड्यन्त्रकारीका घरघरमा सेना पठाए र उनीहरूलाई पक्राउ गरेर तत्काल कोतमा ल्याउने आदेश दिए । प्रत्येक दलमा सय जना सेना परिचालन गरियो । कर्णेल जगतशमशेरको नेतृत्वमा जयबहादुरलाई पक्राउ गर्ने आदेश दिइयो । जङ्गबहादुरका पूराना मित्र कप्तान रणमेहर अधिकारीलाई अत्यन्त जण्ड षड्यन्त्रकारी भाइ बद्रीनरसिंहलाई पक्रन पठाइयो । राजकुमार उपेन्द्रलाई ल्याउन रणोद्दीप सिंहलाई खटाइयो । कर्णेल धीरशमशेरलाई शहरको निगरानी गर्ने जिम्मेवारी दिइयो । उनलाई जङ्गबहादुरका विरुद्ध हुनसक्ने कुनै पनि आक्रमणको प्रतिरोध गर्न जङ्गबहादुरको रेजिमेन्टलाई नै परिचालन गर्ने जिम्मेवारी पनि दिइयो ।

यी सबै काम यति गोप्यताका साथ या षड्यन्त्रकारीले सुइँकोसम्म पाएनन् । यसको दुई घण्टापछि जङ्गबहादुर षडयन्त्रका सम्पूर्ण जानकारी पाउन सफल भए । चारै जना षड्यन्त्रकारीलाई लगाएर कोतमा हाजिर गराइयो । यसैबीच जङ्गबहादुरले भाइभारदार समूहका केही प्रमुख, महाराजाधिराज र उनका बुबा पूर्व महाराजाधिराजलाई एक ठाउँमा एकत्रित गरेर एउटा कचहरी बसाले । षड्यन्त्रकारीको विरुद्ध तत्काल छानविन शरू भयो । बन्दीले शुरूमा आफ्नो कसुर स्वीकार गरेनन् । उनीहरूलाई कबुल्याउने सबै प्रयास असफल भए । त्यसैले त्यो दिनको अदालत पनि पर सारियो । तर त्यसको भोलिपल्ट उनीहरूको घरको खोजतलास गर्ने क्रममा एउटा कागज फेला पर्यो । त्यसले उनीहरूको अपराधको यथेष्ट प्रमाण जुटाइदियो । प्रधानमन्त्रीले केही क्षणका लागि त्यसलाई गोप्य राख्ने विचार गरे ।

आफ्नो अपराध कबुल नगरेर सबभन्दा ठूलो स्वरमा चिच्याउने बद्रीनरसिंह थिए । उनले न्यायालयमा अपील गरे । उनले कृपाको भीख मागे । उनले भ्रातृहत्याको यस झूठो आरोपका लागि भगवान्सँग क्षमा मागे । उनी आफूलाई निर्दोष सावित गर्न अनेक प्रयास गर्दैथिए । तर जङ्गबहादुरले उनलाई बीचैमा रोके । उनले आफूले लुकाइराखेको प्रमाणित कागतले बद्रीनरसिंहको टाउकोमा झ्याम्म हाने र कप्तान सीतारामलाई बद्रीनरसिंहको मुखमा जुत्ताले हान्ने आदेश दिए । यसरी अपमानित भएका बद्रीनरसिंह आफ्नो अपराध स्वीकार गर्न बाध्य भए र क्षमा माग्दै रुन लागे ।

षड्यन्त्रकारीको अपराध प्रमाणित भएपछि उनीहरूलाई कस्तो प्रकारको दण्ड दिने भन्ने विषयमा ठूलो प्रश्न उठ्यो । भोलिपल्ट मुख्य मुख्य सरदारको विशेष सभा बस्यो । सभामा महाराजा र पूर्वमहाराजा पनि उपस्थित थिए तर उनीहरूले यस छलफलमा भाग लिएनन् र, दण्ड दिने विषयमा केही बोल्दा पनि बोलेनन् । सभाले अन्य अभियुक्त सरह राजकुमारलाई पनि दण्ड दिनुपर्ने विचार व्यक्त गर्यो । पहिले त बन्दीहरूको टाउको काट्ने निर्णय गरिएको थियो तर सार्वजनिक नीति र नैतिकताका आधारलाई ध्यानमा राखेर जङ्गबहादुर यो निर्णयमा सहमत भएनन । त्यसपछि तताएको फलामको सुइरोले उनीहरूका एक एक आँखा झिक्ने निर्णय गरियो ।

उनीहरू कानूनविरोधीका भाउँतोमा लागेर फेरि त्यस्तो दुष्कर्ममा प्रवृत्त हुन नसकून् र त्यस्तो प्रवृत्तिमा लागेका अरू कोही छन् भने उनीहरूले पनि यो पाठ सिकून् भन्ने मनसाय प्रकट गरियो । यस षड्यन्त्रका मुख्य अभियुक्त करबीर खत्रीका हकमा भने यति विघ्न घृणित कुकर्मको रचयिता भएका कारण उनका दुवै आँखा झिक्ने र जिब्रो काट्ने निर्णय गरियो । सभाका सदस्यले अभियुक्तलाई फलामको पिंजडामा बन्द गरेर ‘कालो ज्वरो’ ग्रस्त चितवन जिल्लामा पठाउने र त्यहीँ मर्न दिने माग गरे । तर वीर जङ्गबहादुरले हुन सक्छ आफ्नो भाइको मायाले माथि प्रस्तावित कुनै पनि दण्ड दिन स्वीकार गरेनन् । स्मरणीय छ, यो गम्भीर विषयमा निर्णय गर्ने बखत जङ्गबहादुर अति उच्चकुलीन आफ्नी आमाको मानवीय चरित्रबाट प्रभावित भएका थिए । उनले आफ्नो प्रिय छोराबाट सधैं प्रेम र आदर प्राप्त गरेकी थिइन् । आमाको जेठो छोराका रूपमा आफूले पाएको स्नेह यतिबेला बलवन्त भएको थियो, तर उनैका अर्का छोरा बद्रीनरसिंहमा यो भावना किन आएन होला !

यस विषयमा निर्णय गर्दा जङ्गबहादुरमा आफ्नै प्रकारको व्यक्तिगत सहानुभूतिले पनि काम गरेको हुन सक्छ । राजपरिवारलाई धार्मिक दृष्टिकोणले ईश्वरको अवतार मानिने देशमा राजपरिवारकै एउटा सदस्यलाई सार्वजनिक रूपमा काटेर मार्ने प्रसङ्गले एउटा ठूलो तरङ्ग उत्पन्न गऱ्यो होला । यसले राजा चाल्र्स प्रथमको मृत्युपश्चात् बेलायतको संसदविहीन अवस्थाको झझल्को दिन्थ्यो र त्यस्तै लुई सोह्रौंलाई जिलेटिन पड्काएर मारेको अवस्थाको पनि स्मरण गराउँथ्यो । अर्कातिर देशमा राज्यशक्ति विशृङ्खलित भइरहेको र एक हातबाट अर्को हातमा सरिरहेको अवस्थामा यस प्रकारको कठोर दण्ड दिँदा भविष्यमा के होला भन्न निकै गाह्रो थियो । यति कठोर दण्डविधान जङ्गबहादुरले शपथ ग्रहण गर्दाको सरकारको नीति अनुकुल पनि थिएन । अर्को कुरा अङ्गभङ्गको दण्ड दिने काम अत्यन्त निकृष्ट अपराधीलाई पनि लागू गर्नु हुँदैन भनेर जङ्गबहादुरले प्रधानमन्त्रीको शपथ खाएकै दिनमा कानूनले नै निषेध गरेको थियो । वास्तवमा यस प्रकारको क्रुर दण्ड दिने पुरानो समयमा बन्द गरिसकिएको व्यवहारलाई पुनः प्रचलनमा ल्याउनु हुँदैन भन्ने जङ्गबहादुरको मान्यता थियो ।

जङ्गबहादुरको इच्छा यति मात्र थियो । एक पटक भएको वा घटेको अपराध फेरि अर्को पटक दोहोरिनु हुँदैन । उनी स्वभावतः अति दयालु मानिस भएका कारण क्षमा र मानवीय भावनाले पनि यतिबेला उनमा थप चेतना वृद्धि गऱ्यो । उनले रिसको झोँकमा केही अपशब्द मुखबाट निकाल्न सक्थे अथवा कुनै प्रकारको क्रूर कारबाही गर्न सक्थे तर शान्त हृदयी जङ्गबहादुरले त्यस्तो काम केही गरेनन् । त्यसैगरी बद्रीनरसिंह उनका आफ्नै भाइ र जयबहादुर आफ्नै काकाका छोरा भएका हुँदा न्यायको नाममा उनको हृदयले रगतको सम्बन्ध र बन्धनविच्छेद गर्न मानेन । त्यसकारण उनले अभियुक्तको रक्षा गरेर सबै समस्या हल पनि हुने र न्यायको पनि सम्मान हुने मध्यमार्ग रोजे ।

अभियुक्तलाई ब्रिटिस इन्डियामा निर्वासित गर्ने र चुनार वा अलाहावादको किल्लामा आजीवन काराबासको लागि ब्रिटिस सरकारको अनुमति माग्ने जङ्गबहादुरको सोचाइ थियो । यस्तो गर्नुको आशय अभियुक्तको नेत्रज्योतिका साथै ज्यान पनि बचाउने दिशातर्फ लक्षित थियो । अभियुक्तको कुचेष्टाको प्रभावबाट राष्ट्रलाई पूर्ण रूपमा मुक्त गर्ने दिशातर्फ लक्षित थियो । बदलाको भावमा डुबेका न्यायकर्तालाई उनीहरूको आपसमा बाझिएको निर्णयबाट बचाउनु थियो । जङ्गबहादुरको यो सुझाव अदालतको सर्वसम्मतिबाट पारित भयो । सेना भने दोषीलाई मृत्युदण्ड नै दिनुपर्ने अडानमा थियो ।

माथि भनेझैँ गर्न–गराउन ब्रिटिस सरकारसँग लेखापढी भयो । त्यसबीच अभियुक्तहरूलाई तत्कालका लागि एक जना कर्णेल, दुई जना कप्तान र केही सङ्ख्यामा तल्लो तहका सेनाको एउटा सिङ्गो रेजिमेन्टको पहरामा कोतमा थुनिएको थियो । बद्रीनरसिंहले आत्मग्लानीका कारण आत्महत्या गर्न नसकून् र न्यायको ढोका पनि बन्द नहोस् भन्ने अभिप्रायले उनलाई हतकडी लगाएर राख्न आवश्यक ठानियो । अरू अभियुक्तलाई अत्यन्त कडा निगरानीमा भिन्नाभिन्नै कक्षामा थुनियो तर उनीहरू बन्धनमुक्त थिए । ब्रिटिस सरकारले उनीहरूलाई हिरासतमा राख्ने जिम्मेवारी लिएन र एक महिनाभित्र नेपाल सरकारले पठाएको पत्रको जवाफ नै दिएन भने उनीहरूलाई कठोर काराबासको दण्ड दिने निर्णय गरियो ।

आशा गरिए बमोजिमको समयभित्र ब्रिटिस सरकारको जवाफ नआउँदा यस विषयमा धेरै छलफल भयो र अरू दुई महिनाको समय बढाउन सकिने भनेर पुनः पत्र लेखियो । त्यसैबीच अन्तिम समयमा ब्रिटिस सरकारका तर्फबाट उनीहरूलाई अलाहावादमा बन्दी बनाएर राख्न र उनीहरूको सुरक्षाको प्रत्याभूति समेत दिन सहमति भएको जवाफ आयो । पत्रमा अभियुक्तहरू हिरासतबाट कुनै अवस्थामा भागे भने त्यसको जिम्मेवारी नलिने व्यहोरा पनि लेखिएको थियो । नेपाल सरकार प्रत्येक बन्दीलाई दिनको रु. १० र पाँच जना नोकरलाई दिनको ५–५ रुपिञा निर्वाह भत्ता दिन राजी भयो । तर ती नोकरहरू किल्लाबाट बाहिर जान नपाउने र आ–आफ्ना मालिकसँगै बस्नुपर्ने शर्त थियो । त्यसका अतिरिक्त सरकार बन्दीलाई आवश्यक पर्ने लत्ताकपडा दिन र उनीहरूको हेरचाह गर्न एक जना सर्जनलाई पनि भत्ता दिन सहमत भयो ।

सन् १८५१ जुन २४ का दिन बन्दीलाई मलेरियाले छोला भन्ने डरले तराई छलेर मकवानपुरको बाटो काठमाडौंबाट चलान गरियो । काठमाडौंबाट हिँडाइएपछि अभियुक्तले गरेको षड्यन्त्रका विषयमा छानविनका अगाडि बढाइयो । यसबाट स्पष्ट भयो षड्यन्त्रको प्रमुख खलनायक र जटिल योजनाका प्रथम आविष्कारक जयबहादुर रहेछन् । यस षड्यन्त्रमा प्रमाणित भएका अभियुक्तका अतिरिक्त अन्य व्यक्ति पनि मुछिएका रहेछन् । यस षड्यन्त्रमा सक्रिय हुनुपर्ने अवस्था आयो भने आफूसँग मिल्न आउने असन्तुष्टहरूको एउटा दल अस्तित्वमा छ भन्ने उपद्रवी नेतालाई थाहा नभएको भए उनीहरूले यस प्रकृतिको षड्यन्त्रको सूत्रपात गर्ने नै थिएनन् । साँचै भन्ने हो भने देशभित्र प्रधानमन्त्रीका विरुद्ध यो वा त्यो कारण इष्र्या पालेर बसेका धेरै व्यक्ति थिए । निरास भएका झगडिया, तिरस्कृत उम्मेदवार, पराजित प्रतिद्वन्द्वी, राजनीतिमा उद्यत दुस्साहसी, पेसेवर झेली र बानी परेका रिसाहा तथा असन्तुष्ट थुप्रै थिए । उनीहरू सानो फाइदा हुने देखे भने जस्तोसुकै योजनामा जसलाई पनि साथ दिन तयार हुन्थे ।

दुई वर्ष पहिले एकजना जमिन्दारसँग घुस खाएबापत अपमानित भएका जयबहादुरको मनमा जङ्गबहादुर विरुद्ध ठूलो तुष थियो । उनी त्यसको बदला लिने मौका पर्खेर बसिरहेका थिए । यसैबीच उनी बद्रीनरसिंहलाई यस गोप्य षड्यन्त्रमा सम्मिलित गराउन सफल भए । बद्रीनसिंह अत्यन्त मूल्यवान् सहकर्मी हुन सक्थे किनभने सेनामा उनी अति लोकप्रिय थिए । उनको सहयोगविना केही गर्न सकिँदैनथ्यो । काजी करबीर चिरकालिक झेली मानिस भए पनि यस षड्यन्त्रमा उनी एउटा उपयोगी हतियार मात्र थिए । बेलायतमा रहँदा जङ्गबहादुरका क्रियाकलापका प्रत्यक्षदर्शी भएका हुँदा यस षड्यन्त्रमा उनको सहयोगलाई सबैले विश्वास गरेका थिए ।

स्वभावैले पानीआन्द्रे राजकुमार उपेन्द्रलाई यी धूर्त मानिसले सजिलैसँग लिस्नो बनाए । उनीहरूले राजगद्दीको सपना देखाउँदै राजकुमारको रित्तो सेखीमा काउकुती लगाइदिए । उनको व्यक्तिगत आवश्यकता पूर्तिका लागि जङ्गबहादुरले व्यवस्था गरिदिएको अत्यन्त कम रकमको कुरा लगाएर उनीभित्र असन्तुष्टि जगाइदिए । उनलाई जङ्गबहादुरका विरुद्ध भड्काए । षड्यन्त्रमा संलग्न राजकुमारसहित सबैका विरुद्ध प्रमाणहरू पर्याप्त थिए, यद्यपि अन्य मानिसको पनि यसमा हात थियो । उनीहरूले यस षड्यन्त्रमा सहानुभूति प्रकट गरे तापनि डराएर प्रत्यक्ष रूपमा भाग लिएका थिएनन् । फलत ः हतारमा गरिएको यो योजना परिपक्व हुनुभन्दा पहिले नै तुहियो । त्यसैले गर्दा धेरै अभियुक्तका विरुद्ध आवश्यक प्रमाण जुट्न सकेन ।

(पद्यजङ्ग राणाकृत ‘जङ्गबहादुरको जीवनयात्रा’बाट)