सदस्यसचिव सिलवाल, थापा र संगीनालाई पदक

सदस्यसचिव सिलवाल, थापा र संगीनालाई पदक


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट विभूषित भएका छन् ।

खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबिच पदक प्रदान गरिन् । सदस्यसचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए ।

सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन करिब साढे चार महिना मात्र बाँकी थियो । त्यो साढे चार महिनाको अवधिमा १३ औँ साग सफल रुपमा सम्पन्न मात्र भएन नतिजाका हिसाबले पनि नेपालका लागि १३औँ साग ऐतिहासिक रह्यो ।

उक्त सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो । १३ औं सागअघि नेपालले सागमा हासिल गरेको सर्वाधिक स्वर्ण संख्या ३१ हो । उक्त स्वर्ण नेपालले नेपालमै भएको आठौं सागमा जितेको थियो । सिलवालकै कार्याकालमा सागमा पदक विजेता खेलाडीले नेपाल सरकारबाट पाउने पुरस्कार राशीमा पनि उल्लेख्य बृद्धि गरिएको थियो ।

थापा समारोह विज्ञका रुपमा परिचित छन् । उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह व्यवस्थापनमा मुख्य जिम्मेवारीमा रहेर कार्य गरेका थिए । मुख्य जिम्मेवारीमै रहेर थापासंग आठौं सागमा पनि समारोह समितिमा काम गरेको अनुभव छ । १३ औँ सागमा थापाले समारोह समितिमा सविच र निर्देशकको भूमिका निर्वाह गरेका थिए ।

संगिना छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् । संगिनाले सन् २००४ को ग्रिसमा भएको २८ औं संस्करणको एथेन्स ओलम्पिकमा छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकि थिइन् ।

सागको दुई संस्करण आठौं र नवौंकी स्वर्णधारी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपको पनि स्वर्ण विजेता हुन् । रियो ओलम्पिक-२०१६ र १३ औं सागमा संगिना प्रशिक्षकको भूमिकामा थिइन् । नेपालले १३ औं सागको तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । तेक्वान्दोमा सहभागी २९ खेलाडीमा सबैले पदक जितेका थिए ।