चट्टानलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पियन

चट्टानलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पियन



आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

नुवाकोटको शिवपुरीस्थित सूर्यचौरमा भएको प्रतियोगिताको लाइट हेभी वेटमा साइनले डेविडलाई पाखा लगाए भने लाइट वेटमा एस हिरोले सीजे वल्र्डमाथि जित रचे । साइन १२ हजार तथा हिरो ८ हजार नगदबाट पुरस्कृत भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपकी सदस्य समेत रहेकी आयोजक संघका महासचिव सुवर्णाकेशरी श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा ११ रेस्लर सहभागी थिए । प्रतियोगितामा विकास खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।