सिड्नीमा सुदिनको क्रेज

सिड्नीमा सुदिनको क्रेज


  • राजन घिमिरे


लामो समयदेखि प्रवासमा रहँदा पनि नेपाली गीत-संगीतप्रतिको लगावबाट टाढिएनन् सुदिन पोखरेल । प्रवासी जीवनमा पनि स्वदेशमा रहँदा जस्तै नेपाली संगीत विधामा उनले वाहवाही वा आफ्नो वर्चश्व कायम गरि नै राखे । यसको ज्वलन्त उदाहरण यसै साता सिड्नीमा प्रस्तुत गरे सुदिनले ।

कार्यक्रम थियो- न्यू इअर ब्यास नयाँ वर्षको संगालो । सिड्नीको डार्लिङ हार्बरमा रहेको होम द भेन्यूमा आयोजना गरिएको नेपालीको नयाँ वर्षको कार्यक्रममा सुदिन पोखरेलको उपस्थितिले साँच्चै माहौल पूरै गर्माएको थियो- ‘नेपालमा रहँदा सुदिनको प्रस्तुतिको हामी फ्यान थियौँ । अहिले प्रवासमा पनि उहाँसँग झुम्न पाउँदा निकै दङ्ग छौँ’, कार्यक्रमबाट मनोरन्जन लिइरहेका दर्शकहरूको प्रतिक्रिया थियो ।

नेपाल रहँदा गायनसँगै सञ्चारकर्मीको रूपमा शान, मान र उचाइ बनाएका सुदिनले कार्यक्रममा आफ्ना पुराना हिट नम्बरहरू मात्र गाएनन् कि सिड्नीमै तयार पारिएका गीतहरू पनि प्रस्तुत गरे । ‘म यस्तो छु, म उस्तो छु… म प्रेममा पहिलोपटक… लगायतका प्रस्तुति दिँदा सिड्नीवासीहरूमा उल्लास-उमङ्ग थपिएको थियो । सुदिनसँगै नट्टु शाह, ऱ्याड्स र आरती, टिम नेप डिम हट्स, ब्रासिस सुवाल र डिजेमा विरकका साथै रिजनको प्रस्तुतिले कार्यक्रम झनै चर्चित बनाएको थियो ।

रोटेपिङ इन्टरटेनमेन्ट आयोजक रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजकमा एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज भिसा सर्भिसेस रहेका थिए । ‘जहाँ रहे तापनि सर्जकको सृजनाको महत्व र क्रेज घट्दैन रहेछ भन्ने कुरा सुदिनले प्रस्तुतिले प्रस्ट पाऱ्यो’- आजोजकमध्येका एक रोशन भट्टराईको भनाइ थियो ।

गायक सुदिन पोखरेल पनि प्रवासी नेपालीमाझ खुलेर प्रस्तुत हुन पाएकोमा कम दङ्ग थिएनन् । ‘प्रवासमा यसरी साथ, माया र समर्थन पाउँदा गौरव लागेर आयो’, उनी भन्दै थिए ।