२५ बैशाख २०७८, शनिबार

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने बाइडेनको तयारी

  प्रकाशित मिति
१ बैशाख २०७८, बुधबार ०७:०२



अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेका उनीनिकट अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौतापश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो । झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र रहेका छन् । तर अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुने क्रम रोकिएको छ ।

झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयासस्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाई सार्वजनिक भएको हो । तथापि तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा गरिए पनि अमेरिकाले अल-कायदा वा इस्लामिक स्टेट अतिवादी समूह समेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्ने बारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो ।

अन्त्यमा, राष्ट्रपति बाइडेनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः उनी सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुगेका एक जना वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

ती अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै शर्त-सहित अमेरिकी सेना तैनाथ रहने भन्नुको अर्थ अफगानिस्तानमा अमेरिकी सेना अनन्तकाल रहने भन्ने देखिएकाले राष्ट्रपति बाइडेन हाल सम्पूर्ण सेना फिर्ता गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेका बताइएको छ ।

ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ । तर यसको बदलामा तालिबानले अल–कायदा र अन्य विदेशी आतंकवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो ।

बाइडेनका ती अधिकारीले सेना फिर्तीको कार्यक्रम आगामी मे महिनाबाट शुरु हुने जानकारी दिए । उनले अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सेनामाथि लक्ष गरी आक्रमण नगर्न पनि उनले चेतावनी दिए ।

विश्वस्त तालिबान

विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावना छ । राष्ट्रिय गुप्तचर निकायका प्रमुखले मङ्गलबार सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूहरुले सैन्य विजय हासिल गर्नेमा विश्वस्त देखिएको उल्लेख छ ।

धेरै वटा शहरमा नियन्त्रण कायम गरिरहेका अफगानी सेनाले आफूले पुनः कब्जामा लिएका नयाँ क्षेत्र वा सन् २०२० मा छाडेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहन सङ्घर्ष गर्नु परेको प्रतिवेदनमा छ ।

अफगानी नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ ।

सुन्नी इस्लामको बहुसंख्या रहेको तालिबान समूहले सन् १९९६-२००१ मा आफू सत्तामा रहँदा महिलालाई विद्यालय, कार्यालय, संगीत र दैनिक जीवनका धेरै कामहरुमा निषेष गरेका थिए । दुई दशकपछि स्कुले विद्यार्थीमध्ये हाल झण्डै ४० प्रतिशत छात्राहरु छन् ।

संयुक्तराज्य अमेरिकाले महिला अधिकार र बालिका शिक्षालाई प्रबद्र्धन गर्न गैरसैनिक साधनको प्रयोगलाई बढावा दिने नीति लिने अमेरिकी अधिकारीहरुको भनाई छ ।

तालिबान र अफगान सरकारबीच भइरहेका वार्तामा महिलाको सहभागितालाई लगभग निषेध गरिएको छ । महिला अधिकारवादीहरुले अफगानी नेताहरुको यस्तो रबैयाले निकै सङ्घर्षका साथ प्राप्त अधिकार कुण्ठित हुने खतरा औंल्याएका छन् ।

तालिबान समूहलाई परास्त गर्न भन्दै एक दशकअघि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाखको हाराहारीमा थियो । तर पूर्व राष्ट्रपति ट्रम्पको कार्यकालमा यो संख्या २ हजार ५०० मा आइपुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने