जर्मनीबाट समानतामा सरोकार

जर्मनीबाट समानतामा सरोकार



गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति जर्मनीको आयोजनामा नेपालमा भएको महिला अधिकारसम्बन्धी उपलब्धि र ती उपलब्धिलाई संस्थागत गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल सम्पन्न भएको छ ।

समितिका महिला संयोजक करुणा राई तुलाधरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालको नीति-निर्माण तह तथा युरोपमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरूले मार्च महिनालाई मात्र नभई वर्षभरि नै महिला दिवसको सान्दर्भिकता रहेको बताएका थिए ।

समितिका उपाध्यक्ष निनम्ना राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको प्राविधिक संयोजन राधा सिग्देल र मेनुका त्रिपाठीले गर्नुभएको थियो । कार्यक्रममा भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संसद्को राज्य ब्यवस्था समितिकी सभापति शशी श्रेष्ठ, सांसद डा. डीला संग्रौला, तत्कालिक संविधानसभा सदस्य तारादेवी राई, गरिमा शाह, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी लगायतले नेपालमा भइरहेका लैङ्गिक समानताका कार्यक्रमहरूका बारेमा जानकारी दिनुभएको थियो ।

युरोपमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने, दिल गुरुङ, भीमा सावाँ लिम्बु, महाबाणिज्यदुत रामप्रताप थापा, उषा शर्मा, हरि न्यौपाने, विजय मोक्तान, शुभ एल्मर लामालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विभिन्न सरोकार पक्षबीच भएको उक्त छलफलले नेपालमा बनेका नीति तथा कानूनको कार्यान्वयमा दबाब पुग्ने र आवश्यक नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको करुणा राई तुलाधरले बताउनुभयो ।