‘सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र विवाद छैन’ : प्रवक्ता शर्मा

‘सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र विवाद छैन’ : प्रवक्ता शर्मा



देउवाको नेतृत्वमा छिट्टै सरकार बन्ने महामन्त्री कोइरालाको दाबी

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ-काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् ।

‘कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ’ भन्दै उनले बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको जिकिर गरे ।

कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका नेता शर्माले नेपाली कांग्रेस राजनीतिक दल मात्र नभएर समाजको प्रतिनिधि भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने दाबी गरे । कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सके मात्र कांग्रेस रुपान्तरण हुने तर्क पनि गरे ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने सुझाव दिए भने कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने धारणा राखे ।

सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री कोइराला

यसैबीच नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ’, जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने जिकिरसहित उनले भने ।