२ जेष्ठ २०७८, आईतवार

वयस्कहरू किन बालबालिकामाथि आँखा लगाउँछन् ?

  प्रकाशित मिति
२८ चैत्र २०७७, शनिबार ०५:३२


(२० वर्षअघिको घटना र विचार)
  • राजेन्द्रप्रताप शाह

झण्डै तीन महिनाअघि ठमेलस्थित मनकामना गेष्टहाउसमा यौनशोषणको अभियोगमा रंगेहात पक्राउ परेका ब्रिटिस नागरिक क्रिस्टोफर आर फ्रेजर अहिले अदालतबाट धरौटीमा छुटेका छन् । उनीविरुद्ध जीउ मास्नेबेच्ने अभियोगमा काठमाडौं जिल्ला अदालतमा र यौनशोषणको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

पोखरामा ‘स्टारलाइट चिल्ड्रेन होम’ नामक गैरसरकारी संस्था खोली त्यसै संस्थाको माध्यमबाट क्रिस्टोफरले अथाह सम्पत्ति जोडिसकेको बताइन्छ । सडक बालकहरूलाई आश्रम र शिक्षा दिन भनी उनले विभिन्न देशहरूबाट स्पोन्सर खोजी जम्मा गरेको रकम अहिले नेपालका विभिन्न बैंकहरूमा खाता खोली राखिएकोसमेत खुल्न आएको छ । सडक बालकहरूलाई मात्र राखिने भनिएको स्टारलाइट चिल्डेन होममा विभिन्न प्रलोभन देखाई घरमा बसेका बालकहरूलाई समेत ल्याइ त्यहाँ राख्न यिनी सफल भएका थिए ।

करिब दश वर्षअघि बोटानिकल अनुसन्धान गर्ने निहुँमा नेपाल छिरेका क्रिस्टोफरले शुरुदेखि नै सडक बालकहरूको यौन शोषण गर्ने गरेको रहस्य खुल्न आएको छ । उनी बालकहरूको अश्लील फोटोहरू खिचेर विदेशमा समेत पठाउने गर्दथे । संस्था खोल्नुअघि यिनी काठमाडौंका विभिन्न होटेल न र गेष्टहाउसमा छानी–छानी बस्ने गर्दथे । जहाँ बसे पनि यिनको साथमा एउटा न एउटा सडक बालक रहेकै हुन्थ्यो । ४८ वर्षीय अविवाहित क्रिस्टोफर सम्पत्ति कमाउनको लागि भन्दा पनि यौनसन्तुष्टिको लागि नै नेपाल बसिरहेको बुझिन्छ ।

ब्रिटिस नागरिक क्रिस्टोफर आर. फ्रेजर एउटा सानो उदाहरण मात्र हुन् । उनीजस्ता यहाँ दर्जनौँ विदेशी नागरिकहरू विभिन्न बहानामा बसी बाल यौनशोषण कार्यमा लागेका बताइन्छ । कतिपय विदेशी पर्यटकहरू बालबालिकाहरूसँग यौन सम्पर्क गर्न मात्र पनि नेपाल आउने गरेको बुझिएको छ । आखिर किन त विदेशीहरू यसरी बालबालिकाहरूसँग यौन सन्तुष्टि लिन लालायित हुन्छन् ? यसको मुख्य कारण हो सुरक्षित यौन सम्पर्क । अहिले विश्व ‘एड्स’ को भयावहले आक्रान्त छ । साना बालबालिकाहरूसँग यौन सम्पर्क गर्दा ‘एड्स’ को कुनै डर हुँदैन । हुन त बालबालिकालाई पनि ‘एड्स’ नसर्ने होइन, तर यौनसम्पर्कमा नै नआएका बालबालिकासँग शारीरिक सम्बन्ध राख्दा ‘एड्स’ बाट सुरक्षित हुन सकिन्छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत ‘गैरसरकारी संघसंस्थामा आबद्ध विदेशी नागरिक र पर्यटक मात्र होइन नेपाली नागरिकहरूसमेत बालयौन दुराचारमा फसेका देखिन्छन । पाश्चात्य संस्कृतिसँगसँगै बाल यौन दुराचारले समेत नेपालमा प्रवेश पाएको हो । मानिसले राम्राभन्दा नराम्रा कुरा छिटो टिप्ने गर्दछ । त्यसैले मौन दुराचारलाई यहाँ मानिसहरूले छिटो ग्रहण गर्न पुगेका हुन् ।

नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) को सूचना र स्रोत केन्द्रद्वारा सन् १९९९ को निम्ति तयार गरेको ’ ‘नेपालमा बाल अधिकारको स्थिति : अर्धवार्षिक प्रतिवेदन’का अनुसार गत ६ महिनामा बलात्कारसम्बन्धी ८२ वटा घटनाहरूमा १६ वर्षमुनिका ४९ जना (५९.७१ प्रतिशत) बालबालिकाहरू पीडित हुन पुगेका छन् । जसमध्ये ७ वटा केसमा बालिकाहरू बलात्कारपछि मारिएका छन् भने १५ वटा केशमा सामूहिक बलात्कार र ६ वटा केशमा हाडनाता करणीका घटना हुन पुगेको छ । त्यस्तै बाल यौनदराचारी (पेडोफिल) बाट करिब २० जना बालबालिकाहरू पीडित हुन पुगेका छन् ।

बाल यौन दुराचारको सम्बन्धमा समाजमा गम्भीर कुरा उठे पनि सरकार, संसद् र कानून कार्यान्वयन गर्ने निकायले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न नसकेको कारण गम्भीर बाल यौनदुराचारीहरू पनि सजिलैसँग हिरासतबाट छुट्न सफल भइरहेका छन् । यो बालअधिकारसम्बन्धी महासन्धि र बालबालिकाको हकहितको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०४८ को ठाडै उल्लंघन हो ।

बाल यौनदुराचारीहरू दुई किसिमका हुन्छन्- एउटा नरमखाले अर्को गरमखाले । नरमखालेमा पनि एउटा शारीरिक र बौद्धिक क्षमता कमजोर भएका र अर्को शारीरिक र बौद्धिक क्षमता भएका तर भावानात्मक सम्बन्ध बिग्रेका गरी दुई प्रकारका बाल यौन दुराचारीहरू पाइन्छन् । यी दुवैखाले अर्थात् नरमखाले बाल यौन दुराचारीहरूले बलभन्दा बुद्धिको प्रयोग बढी गर्दछन् । यसमा पनि पहिलोखाले यौन दुराचारीहरू शारीरिक र बौद्धिक क्षमता कमजोर भएको कारण आफ्ना दौंतरी र उमेर मिल्दा विपरीत लिङ्गीसँग घुलमिल हुन सक्दैनन् । उनीहरूमा हीनताबोध हुन्छ । त्यसैले उनीहरू विस्तारै साना केटाकेटीहरूप्रति आकर्षित हुन पुग्दछन् । दोस्रोखाले बाल यौन दुराचारी शारीरिक र बौद्धिक क्षमता भएर पनि कुनै कारणले भावानात्मक सम्बन्ध बिग्रिन गई आफ्ना दौंतरी र उमेर मिल्दा विपरीतलिङ्गीसँग टाढा हुन पुगेका हुन्छन् । यिनीहरू आफ्ना जोडीसँग मन भाँचिएकाले पनि बालबालिकाहरूप्रति आकर्षित हुन पुग्दछन् । नरमखाले बाल यौन दुराचारीहरू चकलेट या त्यस्तै कुनै मिठाई दिएर बालबालिकाहरूलाई आफूतिर आकर्षित गर्ने गर्दछन् ।

अर्को गरमखाले बाल यौन दुराचारी तीन किसिमका हुन्छन् । रिसाहा बलात्कारी, शक्तिमुखी र आततायी बलात्कारी । गरमखाले बलात्कारीहरू फकाएरभन्दा हिंसामा उत्रिएर बलात्कार गर्न उद्यत् हुने हुँदा यिनीहरूलाई हिंस्रक बलात्कारी पनि भन्ने गरिन्छ । यसमा रिसाहा बलात्कारी आवेगमा आएर बिनायोजना बालबालिकालाई बलात्कार गर्न पुग्दछन् । कसैको रिस बालबालिकामाथि पोखेर बदला लिन यिनीहरू खप्पीस हुन्छन् । शक्तिमुखी बलात्कारी सदा आफ्नो बल, पहुँच र ताकतमा विश्वास गर्दछन् र त्यही शक्ति प्रयोग गरेर बालबालिकालाई बलात्कार गर्ने गर्दछन ।

शक्ति प्रयोग गरी बलात्कार गर्दा यिनीहरू आनन्द र गौरव मान्दछन । एकान्त र गोप्य ठाउँमा बालबालिकालाई बलात्कार गर्ने गरमखाले बाल यौन दुराचारीलाई आततायी बलात्कारी भनिन्छ । मनोयौन विचलन बोकेको मानिस आततायी बलात्कारी बन्न पुग्दछ । ऊ बलात्कारमा परेको बालबालिकाको पीडामा रमाउँदछ, चिच्याहटमा आनन्द मान्छ, छट्पटीमा खुशीले उफ्रिन पुग्दछ । अन्तमा उसले पीडित व्यक्तिलाई मारिदिन पनि सक्दछ । यो ज्यादै खतरनाक बाल यौन दुराचारी हो ।

बाल अधिकारवादी बद्धिजीवी गौरी प्रधान बाल यौन दुराचारलाई बालबालिका र वयस्कबीच हुने विश्वासघातको रूपमा लिन चाहनुहुन्छ । उहाँ बाल यौनशोषणसम्बन्धी अपराध नियन्त्रण गर्न छुट्टै र कडा कानून ल्याउनुपर्ने आवश्यकता महसुस गर्नुहुन्छ । हुन त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यससम्बन्धी विधेयक संसद्को चाल अधिवेशनमै ल्याउन केही समयअघिको एक सार्वजनिक कार्यक्रममा कानून तथा न्यायमन्त्रीलाई निर्देशन दिइसक्नुभएको छ । तर, त्यससम्बन्धी कुनै तयारी नभएकाले चालु अधिवेशनमा यो विधेयक आउने कुरामा कानूनविद्हरू विश्वस्त छैनन् ।

बाल यौन दराचारीहरू पीडितकै नजिकको नातेदार र विश्वास गरेका मानिसहरू नै बढी हने गरेको पाइएको छ । एक अध्ययनबाट यस्ता यौन दुराचारीहरू ८० प्रतिशत भएको अनुमान गरिएको छ । शिक्षक, काका, बाजे, बाबुको साथी, सौतेनी बाबु, डाक्टर र बार्डेन पनि यस्तो अपराधमा बढी संलग्न भएको देखिएको छ ।

बालबालिकाको कोमलता, सरलता र प्रतिरोध गर्न नसक्ने कमजोरीको फाइदा उठाएर उनीहरूमाथि वयस्कहरूद्वारा गरिने यौन शोषणको डरलाग्दो रूप बालयौन दुराचारलाई निर्मूल गर्न समाजका सबै पक्षको सक्रिय सहभागिताको खाँचो आजको आवश्यकता हो । यो एक्काइसौँ शताब्दीको चुनौती पनि हो ।

(घटना र विचार साप्ताहिक, २०५६ साउन १९ गते बुधबार)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कपिलवस्तु प्रतिनिधि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसँग सहकार्य

राजन घिमिरे कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच

राजन घिमिरे प्रबासी जीवन त्यति सहज र सरल छैन । प्रबासमा रहँदा अधिकांशको सपना हुन्छ धन कमाउने । यो सपना

हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार