राजालाई ‘श्री ५’कै रूपमा निम्ता

राजालाई ‘श्री ५’कै रूपमा निम्ता



विश्वप्रशिद्ध धार्मिक स्थल भारतको हरिद्वारका आचार्य महामण्डलेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थान गर्नुहुने भएको छ । हरिद्वारको बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रूपमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

गत शिवरात्रीका अवसरमा पहिलो मेला सम्पन्न भएको थियो, चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका निम्ति मौसुफलाई महामण्डलेश्वरबाट ‘विश्व हिन्दू सम्राट श्री ५ महाराजाधिराज’का रूपमा निमन्त्रणा प्राप्त भएको हो । आचार्य महामण्डलेश्वरका तर्फबाट निमन्त्रणा लिएर उहाँका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए ।

भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयम्सेवक (RSS) का प्रमुख मोहन भागवत लगायत कैयन दिग्गजहरूको समेत सहभागिता रहने बुझिएको छ ।

पूर्व श्री ५ महाराजाधिराजका साथ बडामहारानी कोमल तथा सचिवहरू डा. फणिराज पाठक र सागर तिमिल्सिना रहनुहुने भएको छ । पूर्व श्री ५ को भ्रमण टोली चैत २६ गते काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने, २८ गते शनिबार दिल्लीबाट देहरादुन हुँदै ऋषिकेश जाने र, चैत ३० गते महामेलामा शाही स्नानका निम्ति हरिद्वार पुग्ने कार्यक्रम रहेको छ ।

हरिद्वारबाट दिल्ली फर्किएर केही दिन पूर्व श्री ५ हरू नयाँ दिल्लीमै रहनुहुने बुझिएको छ । दिल्लीमा रहँदा मौसुफको विभिन्न महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने बताइए पनि को-कोसँग भेट हुने हो सो बुझ्न सकिएको छैन ।

राजपरिवारको यो भ्रमणलाई नेपालमा निकै अर्थपूर्ण मानिएको छ । काङ्ग्रेस-कम्युनिष्टका नेताहरू राजाको यो भ्रमणलाई लिएर अलिक सशङ्कित भएको पाइएको छ । कतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि राजाको भेटवार्ता हुने हो कि भन्ने चिन्ता उनीहरूमा देखिएको छ ।