३ बैशाख २०७८, शुक्रबार

कसरी पूरा होला सेन्मिखाको लोकसेवा सपना ?

  प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार ००:३६


  • बबिता बस्नेत

‘समुन्द्रको गहिराई थाहा पाउन के गर्नुपर्छ तपाईंलाई थाहा छ ? आफै डुबेर हेर्नु पऱ्यो नि !’ खोटाङ्ग र भोजपुरको सिमानामा पर्ने चखेवा भञ्जाङ्गका सेन्मिखाले ‘हेर्ने कथा’की निर्माता/निर्देशक पत्रकार विद्या चापागाईंसँग भनेको यो कुराले अहिले सामाजिक सञ्जाल भरिएको छ ।

सेन्मिखाको कथा हेर्ने जो-कोहीले उनलाई एकपल्ट मात्र हेरेर चित्त बुझाएका छैनन्, पटक-पटक हेरेका छन् । कतिले त निदाएर बिउँझिदा पनि सेन्मिखालाई सम्झिएका छन् । उनको जीवनकथा, उनी बाँचिरहेको परिवेश र उनको जीवनशैलीले मानिसहरूको मनमा अनेक प्रश्न खडा गरिदिएको छ । प्रत्येक वाक्यमा स्लोगन बोल्ने सेन्मिखा गाउँमा बसेर भेडा चराइरहेका पढेलेखेका युवा हुन् जोसँग कृषिसम्बन्धी प्राविधिक र ब्यवहारिक ज्ञान छ । उनले कृषि पढेका छन् । विभिन्न वनस्पति र माछाहरूको वैज्ञानिक नाम मात्र जानेका छैनन्, ब्यवहारमा तिनलाई कहाँ कसरी फैलाउने भन्ने ज्ञान र सिप पनि छ । उनको नाम सपनासँग जोडिएको छ । राईभित्र पनि फरक समूदायमा फरक भाषाहरू छन्, तीमध्ये बान्तावा भाषामा सेन्मि भनेको सपना र खा को अर्थ देखेको भन्ने हुन्छ । आफ्ना हजुरबुबाले सपनामा नाति देखेपछि उनी जन्मिएकाले नामै सेन्मिखा राखिएको रहेछ ।

सेन्मिखाका बाबु वैदेशिक रोजगारमा छन् । आमाले अर्को विवाह गरेको घटनाले उनको हृदयमा गहिरो चोट पुऱ्याएको छ । उनकै सल्लाहले बाबुले अर्को विवाह गरे । बाबुले दोश्रो विवाह गरेको घटना उनका लागि सामान्य झैँ भए पनि आमाको विवाह पीडादायी भएर मनमा गढेको छ । उनी गाउँमै बसेर वर्षको चार-पाँच लाख आम्दानी गर्छन् । भेडा अर्थात् पशुपालन उनको आम्दानीको प्रमुख श्रोत हो । उनका प्रत्येक शब्दमा ब्यवहारिक ज्ञान छ । उनले गाउने गीतले जीवनका पीडादायी यथार्थलाई लयबद्ध बनाएका छन् । आफूले गरिरहेका तमाम कामकाबीच उनको एउटा सपना छ, लोकसेवा दिएर राष्ट्रसेवक कर्मचारीको रूपमा राष्ट्रलाई योगदान गर्ने ।

सुदूर गाउँको २३ वर्षे युवा सेन्मिखालाई हेर्दै र सुन्दै गर्दा जब उनले लोकसेवा दिने आफ्नो सपना बताए यो पङ्क्तिकारको कानमा झड्का परेझैँ भयो । मनमा अनेक प्रश्नहरू उब्जिए, के हाम्रो लोकसेवा आयोग सेन्मिखा जस्ता प्रकृतिको नियमलाई बुझ्दै हुर्किएका, गहिरो चिन्तन बोक्ने, सम्भावनाले भरिएका युवाहरूका लागि हो ?

सुदूर गाउँको २३ वर्षे युवा सेन्मिखालाई हेर्दै र सुन्दै गर्दा जब उनले लोकसेवा दिने आफ्नो सपना बताए यो पङ्क्तिकारको कानमा झड्का परेझैँ भयो । मनमा अनेक प्रश्नहरू उब्जिए, के हाम्रो लोकसेवा आयोग सेन्मिखा जस्ता प्रकृतिको नियमलाई बुझ्दै हुर्किएका, गहिरो चिन्तन बोक्ने, सम्भावनाले भरिएका युवाहरूका लागि हो ? लोकसेवा आयोगको परीक्षामा जे-जस्ता प्रश्नहरू सोधिइन्छ ती प्रश्नले मुलुक बनाउने भिजन समेट्छन् ? खासमा अहिलेसम्म जसरी लोकसेवा आयोगका परीक्षाहरू चलिरहेका छन ती केका लागि ? कर्मचारी हुनु भनेको कहिले को जन्मियो कहिले मऱ्यो ? या विश्वको कुन स्थानको लम्बाइ, उचाइ कति हो भनी जानकारी राख्नु हो ? कर्मचारी हुनका लागि देशको कुन क्षेत्रलाई कसरी अघि बढाउने आफ्नै भिजन चाहिँदैन ? ब्यवहारिक ज्ञान, सीप चाहिँदैन ? लोकसेवाको जाँचमा जे-जस्ता प्रश्न गरिन्छन् खासमा तिनले मुलुक बनाउन कहाँ, के मद्दत गर्छ ? त्यस्ता प्रश्नको जवाफ दिएर लोकसेवा पास गरेकाहरूबाट के कुराको अपेक्षा गर्ने ? ती प्रश्नका उत्तर दिएर सेन्मिखा जस्ता युवाले लोकसेवा पास कहिले गर्ने ? यदि पासै गरे भने पनि उपलब्धि के ? उनले आफ्नो ज्ञान, सीपको सदुपयोग कसरी गर्ने ? मुलुकलाई सामान्य ज्ञान कण्ठ पार्ने कर्मचारी चाहिएको छ कि आफूभित्रको ज्ञानलाई ब्यवहारमा उतार्ने ?

यी प्रश्नहरू अहिलेसम्म राष्ट्रसेवक कर्मचारी हुनका लागि लोकसेवा आयोगले सोध्दै आएका प्रश्नहरूले उब्जाएका हुन् । नेपालको कर्मचारीतन्त्र चुस्त, दुरुस्त र ब्यवहारिक भएन भन्ने गुनासो बढिरहेको बेला हामीले यस्तो कर्मचारीतन्त्र कसरी भयो भन्नेतर्फ भने छलफल र बहस गरेका छैनौँ । लोकसेवामा कस्ता प्रश्न सोधिन्छन् ? उदाहरणका लागि २०७३ साल माघ २९ गते शाखा अधिकृतका लागि लिइएको परीक्षामा आएका केही प्रश्नहरू हेरौँ- साँढेजुधाई कसको पालामा सुरु भएको हो ? डोनाल्ड ट्रम्पले कति इलेक्ट्रोल मत प्राप्त गरेका थिए ? प्रद्युम्नका पिता को हुन् ? कोलम्बियाको शान्तिसम्झौता संसदबाट कहिले पारित भएको थियो ? पहिलो घण्टी प्रत्येक १५ मिनेटमा, दोश्रो १८ मिनेटमा र तेश्रो २४ मिनेटमा बज्छन्, ती घण्टीहरू एकैपटक बिहान ८ बजे सँगै बजे भने अब कति बजे सँगै बज्लान् ? बिग ब्रदर ल रसियाको कस्तो कानून हो ? डोनाल्ड ट्रम्पले कति मत प्राप्त गरे ? (ट्रम्पसम्बन्धी तीन वटा प्रश्न छन्) । यी र यस्ता प्रश्नको उत्तर दिएर भएका शाखा अधिकृतहरूबाट मुलुक र जनताले के अपेक्षा गर्ने ?

वर्षौंदेखि लोकसेवामा यस्तै प्रश्नहरू सोध्ने गरिएको छ । खासमा यस्ता प्रश्न सोध्नुको उद्देश्य के हो भनेर अहिलेसम्म प्रश्न उठाइएको छैन । कुनै खास विषयका ज्ञाता र आफ्नै मौलिक भिजन भएका मानिसहरू यस्ता प्रश्नका उत्तर पढेर लोकसेवा दिन चाहँदैनन, सम्भव पनि छैन । डोनाल्ड ट्रम्पले ल्याएको भोटले हाम्रो ब्युरोक्र्यासीमा के अर्थ राख्छ ? रसियाको कानून हामीले जान्नुपर्ने किन ? आवश्यक पऱ्यो भने गुगलमा खोज्दा भेटिन्छ ।

कसले, कहिले, कहाँ साँढे जुधायो भन्ने ज्ञानका आधारमा लोकसेवाको परीक्षा पास गरेर कर्मचारी हुने परिपाटी अब बन्द गरिनुपर्छ । नेपाल सरकारको कर्मचारी हुन चाहनेले आफ्नो मौलिक भिजन र विषयगत रणनीति प्रस्तुत गर्ने खालको पाठ्यक्रम तय गरिनुपर्छ ।

कसले, कहिले, कहाँ साँढे जुधायो भन्ने ज्ञानका आधारमा लोकसेवाको परीक्षा पास गरेर कर्मचारी हुने परिपाटी अब बन्द गरिनुपर्छ । नेपाल सरकारको कर्मचारी हुन चाहनेले आफ्नो मौलिक भिजन र विषयगत रणनीति प्रस्तुत गर्ने खालको पाठ्यक्रम तय गरिनुपर्छ । अब लोकसेवा आयोगले ब्यवहारिक ज्ञान, सीपसँग सम्बन्धित प्रश्नहरू तय गरेर परीक्षा लिनुपर्छ । अहिलेकै पाठ्यक्रमलाई जारी राख्ने हो भने नेपालको कर्मचारीतन्त्रलाई सिर्जनशील र जनमुखी बनाउन सम्भव छैन । यही ‘सिस्टम’मा रहेर लिइने परीक्षाले सेन्मिखाहरूको सपना पूरा गर्न सक्दैन । उनीहरूको सपना पूरा गर्नका लागि त सीपको प्रतिस्पर्धा हुनुपर्छ । उनीजस्ता प्रकृतिको नियमलाई बुझ्दै हुर्किएका युवाको ज्ञानको सदुपयोग गर्नका लागि सोहीअनुरुपको लोकसेवा आयोग चाहिन्छ ।

लोकसेवा आयोगलाई अहिले आमनेपालीले आफ्नो भविष्य जोडिएको आयोगका रूपमा लिन सकेका छैनन् । आयोग साँच्चिकै लोकको सेवाका लागि गठन भएको हो भने सबै नेपालीलाई अपनत्व महसूस गराउन सक्नुपर्छ । विभिन्न पाखा, पखेरामा रहेका सेम्निखाहरूदेखि विश्वका नामी विश्वविद्यालयमा पढेका युवाहरूसम्मले लोकसेवाको सपना देख्ने वातावरण नबनाउञ्जेल कर्मचारीतन्त्रमा सुधार टाढाको लक्ष्य मात्रै रहने छ । तिम्रा सपना र मेहनतका लागि सलाम सेम्निखा !



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।