२ जेष्ठ २०७८, आईतवार

नर्सको सेवालाई मैनबत्ती उज्यालोमा हेर्दा…

  प्रकाशित मिति
२० चैत्र २०७७, शुक्रबार ०२:५१


आमाको सपना पूरा गरिरहेकी नर्स छोरी, ‘यु आर अल्वेज ग्रेट !’

  • डिल्ली अम्माई

मेरी आमालाई स्वास-प्रस्वाससम्बन्धी समस्या थियो । धेरै समय भरतपुर अस्पताल बस्नु पर्दथ्यो । अलिक सञ्चो भएपछि घरमा ल्याइन्थ्यो तर अक्सिजन कहिल्यै छुटाउन नहुने । अस्पतालकै बेडबाट एकदिन आमाले मसँग भन्नुभएको थियो- ‘बाबु यी नर्स नानीहरूले मेरो धेरै सेवा गरेका छन् । डाक्टर र नर्सहरू धर्तीका देवता हुन् जस्तो लाग्छ । एउटी नातिनीलाई नर्स कि डाक्टर पढाउन सके अरुको सेवा गरेर मेरो ऋण तिरिदिन्थे ।’

आमाको त्यो अन्तिम इच्छा हो कि जस्तो पनि लाग्यो र, त्यहीँ बेलुका आमाको इच्छा मैले आफ्ना छोरीहरूलाई सुनाएँ । ठुली छोरी प्रतिमा अलिक बुझ्ने भइसकेकी थिइन् । त्यो कुरा उनको मनमा गढेको रहेछ भन्ने कुरा उनले बाह्र कक्षा पास गरेपछि मात्र थाहा भयो । किनकि, उनले बाह्र पास गरेकै बेलुका नर्स पढ्ने निर्णय सुनाइन् ।

भनिन्छ, आधुनिक प्रविधिले मानव अङ्गको सेल गर्भमा प्रत्यारोपण गरेर दुरुस्तै अर्को मान्छे जन्माउन सक्छ । बङ्गुर र भेडामा क्लोन प्रयोग सफल पनि भयो । त्यस्तै अचेल विचार र इच्चाको क्लोन मनोविज्ञानमा पनि हुँदोरहेछ कि जस्तो लाग्न थालेको छ । अग्रजको इच्छाले बालक-दिमागलाई खोस्रीदिएपछि बालदिमागमा विचारको क्लोनिङ हुने रहेछ । त्यसले समय पुगेपछि संकल्पको रूप लिने रहेछ । त्यसको प्रमाण अहिले मसँग छ ।

आमाको आफ्नी नातिनी परिचारिका वा डाक्टर बनेको देख्ने धोकोले ठुली छोरी प्रतिमा अहिले वरिष्ठ परिचारिका (Registered nurse) अर्थात् ‘आरएन’ भएकी छन् । तर दुर्भाग्य ! आमाले आफ्नी नातिनीले पवित्र स्वेतबस्त्र लगाएर बिरामीको सेवा गरेको देख्न पाउनुभएन । त्यसो भनेको दुई वर्ष पनि आमाको फोक्सोले आमालाई बचाउन सकेन । तर आमा, तपाईंको इच्छाअनुशार अन्य नर्सहरूले तपाइलाइं लगाएको ऋण अहिले तपाईंकी नातिनीले खुरुखुरु तिरिरहेकी छन् । तपाईंको आत्माको अनन्त शान्तिको कामना छ आमा ! तपाईंकी परिचारिका नातिनीलाई सदैव मानव सेवामा मन रमाइरहने आशीष दिइरहनु होला !

छोरीले रोजेको नर्सिङ पेशाबारे मेरो बुझाई :

मैले बुझेअनुशार बिरामीको सेवा वा हेरविचारलाई उपचारिका सेवा भनिन्छ । अङ्ग्रेजीमा नर्स शबदको अर्थ हुन्छ- रेखदेख र पोषण । नर्स एउटा त्यस्तो ब्यक्ति हो जसले बच्चाको हेरचाह गर्छ; त्यो हिसाबले हेर्दा नर्स स्त्रीलिङ्गी पनि हुन सक्छिन् भने पुरुषलिङ्गी पनि हुन सक्छन् । जसले शिशु वा बिरामीको हेरचाह गर्छन् ती सबै सेवकसेविकाहरूलाई नर्स भनिन्छ ।

नर्स अत्यन्त परोपकारी र उदारताको काम हो र, यो कार्य यस्तो व्यक्तिको लागि गरिन्छ जुन याचक आफैले आफ्नो केयर गर्न सक्दैन । त्यसैले हेरचाह एक अत्यन्तै पवित्र कार्य वा पेशा हो । यसका लागि समर्पित हृदय भएका चरित्रवान ब्याक्तिहरू आवश्यक पर्दछन् जो मानवीय जीवनको मूल्यप्रति कटिबद्ध र दृढ छन् । नर्सहरूको हरेक समयको सानोभन्दा सानो इकाईले कसैको प्राण रक्षा गरिरहेको हुन्छ । एक नर्सको त्यागयुक्त सेवाले मृत्युन्मुख मानव जीवनोन्मुख बनिरहेको हुन्छ । एक नर्सको मनोविज्ञान सदैव परोपकारप्रति दृढ संकल्पित हुनुपर्छ र जीवनको मूल्य चिनेको हुनुपर्छ ।

अनुकम्पा, करुणा, समवेदना र समर्पणको लागि नर्सिङ एक उच्च मानवीय आत्मसम्मानपूर्ण पेशा हो, जुन समाजको आवश्यकतालाई सम्बोधन गर्न निरन्तर विकसित हुँदै गइरहेको छ । देवतातुल्य धर्तीमा कोही परोपकारी पेशाकर्मी छन् भने ती डाक्टर र नर्स हुन् । शास्त्रअनुशार पनि परोपकारको उत्कर्ष समाजसेवालाई मानिन्छ, समाजसेवामा पनि उत्तम डाक्टर र नर्सद्वारा गरिने प्राणरक्षाको कर्म हो । गम्भीर स्वास्थ्य समस्याहरूको बारेमा सबैभन्दा सही निदान तथा उपचार सुनिश्चित गर्न नर्सहरू सार्वजनिक स्वास्थ्यको सुरक्षामा अपरिहार्य हुन्छन् ।

नर्सिङलाई कला र विज्ञान दुवैको रूपमा वर्णन गर्न सकिन्छ । कला यस मानेमा कि बिरामीको विश्वास नर्सले कहिल्यै मानसिक रूपमा खल्बलिन दिँदैनन्, बिरामीलाई जिउने उत्प्रेरणा र विश्वास उनीहरूको सेवाभावमा निहित हुन्छ । डाक्टर वा नर्सको सेवालाई विज्ञान यस मानेमा मानिन्छ कि यो औषधिको मात्रा र रोगको प्रकृति, रोगको रोगथाम वा निराकरण तथा सल्यक्रिया आदि प्राविधिक प्रयोगसँग पनि सम्बन्धित हुन्छ ।

मानव निर्मित भौतिक सुविधा र आर्थिक उन्नतिले दिने सन्तुष्टि भन्दा पर आत्मिक तथा लौकिक सन्तुष्टि छ, जसलाई कुनै जाति वा देशको सिमाले प्रभावित गर्न सक्दैन, त्यो परम सन्तुष्टि मानवसेवाबाट मात्र प्राप्त हुने हो । महाकवि देवकोटाले यात्री कवितामा भनेको सेवा पनि त्यही परोपकारको परमार्थी सेवा हो । जब हामी परोपकारबाट बिमुख हुँदै जान्छौँ, हामीभित्रको मानवता पनि क्रमशः मर्दै जान्छ । मानवता मर्नु भनेको आत्माभित्र भएको प्रकाश निभ्नु जस्तै हो र, जीवनको ज्योति अनन्त अँध्यारो सुरुङभित्र प्रवेश गर्नु जस्तै हो । परोपकार सेवाभाव र समर्पणको मार्ग हुँदै प्रेममार्फत निसृत हुने गर्दछ । प्रेम नै जनहितको त्यस्तो बिज हो जसले मानवताको भ्रुणलाई कहिल्यै मर्न दिँदैन । मेरो विचारमा अरुको खुशीबाट प्राप्त हुने यो परम सन्तुष्टि लिनको लागि नर्सिङ एक उपयुक्त पेशा हो । त्यसैले छोरी ! तिमी जुन दिन यो पेशा रोज्ने निर्णयमा पुगेकी थियौ र आफ्नो निर्णयअनुशार नर्सिङ पढाइ सुरु गरेकी थियौ, तिमीले गरेको निर्णयको त्यो दिन म आत्मिक खुशीले दिने सुखानुभूतिमा गदगद भएको थिएँ ।

नर्सिङबारे इतिहास के भन्छ ?

माध्यामिक तहको पढाइ सकिने बेला तिमीले भनेको मलाई अझै याद छ छोरी । भनेकी थियौ- ‘मानव प्रेम होस् त मदर टेरेसाको जस्तो, परोपकार र मानव सेवा होस् त फ्लोरेन्स नाइटिङ्गलको जस्तो ! हामीले पनि अलिकति फ्लोरेन्स नाइटिङ्गलकै बारेमा पनि पाठ पढ्नु पर्दथ्यो । त्यसपछि नर्सकी संस्थापक आमाको बारेमा धेरै कुराहरू थाहा भएको थियो । उहाँको मानव हितप्रतिको समर्पण र त्यागबारे जानेर नै मेरो परिचारिका पढाइतर्फ आकर्षण पैदा भएको छ । मैले नर्सिङ पेशालाई स्वेत पहिरन जस्तै पवित्र पेशा मानेर हाम्रा अग्रजहरूकै अनुशरणमा हिँड्ने प्रयत्न गर्ने लक्ष्य लिएको छु ।’

पङ्क्तिकारले पनि पढेपछि थाहा पायो कि महान् परोपकारी महान् आमा फ्लोरेंस नाइटिङ्गलले सिकिस्त बिरामी, घाइतेहरूलाई नियमित हेरचाहको जग बसाल्नुभएको रहेछ । उहाँ एक धनी घरकी छोरी हुनुहुन्थ्यो, तर युद्धमा घाइतेहरूको नियमित सेवाको आवश्यकतालाई आत्मसात गर्दै पुरानो चिकित्सा पद्दतिबाट असन्तुष्ट बन्नुभएको उहाँले नर्सिङ पढाइ सकेर लन्डनमा बिरामीहरूका लागि हेरचाह भवन खोल्नुभयो । सन् १८४५ मा, जब क्रिमियामा युद्ध सुरु भयो, उहाँले आफ्नो ३४ वर्षको उमेरमा युद्ध सचिवको अनुरोधमा ३८ जना नर्सको टोली लिएर घाइतेहरूको सेवामा तल्लिन हुनुभयो । जसरी एक आमाले आफ्नो बच्चाको स्याहार स्वस्फुर्त रूपमा गर्छिन् परिचारिकाकी संस्थापक आमा फ्लोरेन्स नाइटिङ्गलले युद्धमा घाइतेहरूको सेवा त्यसरी नै गर्नुभयो, परिचारिकाको थिति बसाल्नु भयो र परिचारिका सेवालाई संसारकै उत्कृष्ट पेशाको रुपमा स्थापित गरेर जानुभयो । उहाँहरूको अथक सेवा पाएर बिरामीहरू छिटो सन्चो हुन थाले । मर्नेको संख्या धेरैले कम भयो । ब्यारेकमा घाइते सिपाहीको मर्ने संख्या ४२ प्रतिशतबाट बाट २ प्रतिशतमा झरेपछि नाइटिङ्गललाई संसारले सम्मान गर्न थाल्यो । नर्सकी संस्थापक फ्लोरेन्स नाइटिङ्गलकै प्रयासले लन्डनमा नर्सहरूको लागि संसारकै पहिलो नर्सिङ स्कूल खोलियो, जुन विद्यालय अहिले पनि संसारभरि उनैको नामले प्रसिद्ध छ ।

तिमीले यो पेशाका अग्रजहरूको त्यागमय इतिहासबाट मानवतालाई ब्युँझाएर यो पेशा अँगाल्ने निर्णयमा पुगेकी रहिछौ । हो, डाक्टरहरूले बिरामीको प्राणलाई शरीरबाट बाहिर बग्न नदिन जसरी सम्बन्धित रोगको कारण पत्ता लगाएर निदानाको लागि कार्य गर्दछन्, त्यस्तै दयालु सिस्टरहरूले ओइलाउनल लागेको शरीरलाई जीवनतर्फ फर्काउने काममा आफूलाई समर्पित गरेका हुन्छन् ।

परिचारिका पेशाको स्थापना कालमा अमेरिकामा सिस्टर्स अफ च्यारिटी तथा दयालु बहिनीहरूद्वारा स्थापना गरिएका अस्पतालहरूको सेवाले अमेरिका आभारी भयो । गृहयुद्धको त्यो समयमा अस्पतालहरूको ठूलो हिस्साले उनीहरूको रकमको एक हिस्सा नर्स प्रशिक्षण स्कूलहरूको स्थापनामा खर्च गर्न थाल्यो । जसले अमेरिकामा स्थायी रूपमा नर्सिङ पढाइ र सेवालाई चिरस्थायी बनायो । उक्त समयमा १८०० शैक्षिक कार्यक्रममा ६० हजार विद्यार्थीले नर्सिङ पढाइ शुरु गरे । यसरी यो सेवाले प्रतिष्ठित पेशाको रूपमा विश्वब्यापी हुने मौका पाएको हो । यो सबै मैले अलिकति तिमीबाट र धेरै तिमीले सिफारिस गरेका पुस्तकहरूबाट थाहा पाएँ छोरी ।

नर्सिङ सेवाहरू :

मैले के पनि बुझेँ भने प्रतिमा, प्रत्येक नर्स कुनै एक वर्गका मानिसको विषयगत सेवाका विशेषज्ञ हुन् । अहिले पशु अस्पतालमा पनि नर्सहरू राखिन थालेकोले अरुको सेवा आवश्यक रहेका जो-कोही प्राणीले पनि नर्सको सेवा लिन सक्ने भएको हो । नर्सका कामहरू मुख्यतयाः सामाजिक र सार्वजनिक स्वास्थ्य सेवा, अस्पतालको हेरचाह, औद्योगिक क्षेत्रमा कामदारहरूको स्वास्थ्य हेरचाह, नर्सिङ हेरचाह र निजी चिकित्सा सेवाअन्तर्गत पर्ने देखियो । त्यो बाहेक युद्धबाट घाइते बनेका वा दुर्घटनामा घाइते बनेका बिरामीहरूको आकस्मिक सेवासमेत नर्सिङमा पर्दछ । परिचारिकामार्फत गरिने हेरचाहका धेरै अन्य उपविभागहरू पनि छन्, उदाहरणका लागि– बच्चाको हेरचाह, हृदयरोगिहरूको हेरचाह, गर्भावस्थाको हेरचाह, सामान्य औषधि र शल्यचिकित्सा हेरचाह, मानसिक बिरामीहरूको हेरचाह, सङ्क्रामक रोगीहरूको हेरचाह आदि ।

विश्लेषण क्षमता र उद्देश्य :

मेरो विचारमा बिरामीहरूको अवस्थाबारे मुल्याङ्कन गर्दा नर्सहरूले परीक्षणको नतिजा मात्र हेरेर हुँदैन, उनीहरूले नर्सिङ प्रक्रियामा उदाहरणीय आलोचनात्मक सोचको माध्यमबाट आफ्नो क्षमता तथा अनुभवहरूको उपयोग गर्दै उद्देश्यपूर्ण डेटालाई बिरामीको जैविक, शारीरिक र व्यवहारिक आवश्यकताहरूको सापेक्षिक अनुभवको साथ एकीकृत गरेर हेर्न सक्नु पर्दछ । त्यसैले यो पेशालाई कलासँग जोडिएको हो ।

सारांशमा भन्नु पर्दा छोरी ! नर्सहरूको मुख्य काम निरोगी नागरिकको आधार बनाएर स्वस्थ राष्ट्र अनि विश्व निर्माण गर्नु हो । रोगको अनुपस्थितिलाई स्वास्थ्य भनिँदैन, स्वास्थ्य निश्चय पनि तन्दुरुस्त नाम हो, जुन त्यस्तो अवस्था हो जहाँ पूर्ण शारीरिक, मानसिक र सामाजिक हृष्टता हुन्छ । अस्पतालमा स्वस्थ भएपछि बिरामीलाई पहिले जस्तो अस्वच्छ वातावरणमा फर्काउनु पर्ने बाध्यताले स्वस्थ राष्ट्रको निर्माणको दिशामा कुनै प्रगति हुन सक्दैन । नर्सहरूले अधिक स्वास्थ्यको भावना जागृत गराउने र स्वास्थ्य जागरण ल्याउन सक्नुपर्छ र तिनीहरूले यो बुझ्नुपर्दछ कि समुदायमा यदि आत्मिक जागरण, स्वस्थ जीवनशैली र विश्वास कायम गरियो भने धेरैजसो स्वास्थ्यसम्बन्धी चिन्ता स्वतः हट्नेछ । यो केवल नर्सहरूबाट मात्र सम्भव छ, जसले मानिसहरूलाई स्वस्थ जीवन जीउन राम्रो मार्ग निर्देश गर्न सक्छ । तिनीहरूले बिरामी र उसको परिवारलाई ती चीजहरूको बारेमा शिक्षा दिनुपर्दछ ताकि नर्सले छोडे्पछि पनि उनीहरूले परिवारको एकापसमा नर्सले झैँ सेवा गर्न सकुन् । तिम्रो सेवाभावको भावार्थबाट मैले बुझेको कुरा यो पनि हो ।

जिम्मेवारी :

छोरी तिमीले हमेसा भन्ने गछौँ, ‘नर्सले नयाँ आगन्तुक बिरामीहरूको प्रायः सबै जिम्मेवारी लिनुपर्दछ । एक नर्सले बच्चा जन्मनुभन्दा नौ महिनाअगाडिबाटै आफ्नो काम शुरु गर्नु पर्दछ । जन्मभन्दा अघि, जन्ममा, शैशवकालमा, बाल्यावस्था र किशोरावस्था, एक बालकको हरेक समयमा र नर्सले बच्चाको घरमा, स्कूलमा, अस्पतालमा, सडकमा, खेतमा समेत हेरचाह गर्नुपर्छ । नर्सले बालकको अभिभावकलाई सहयोग गर्नुपर्दछ र जानकारी दिनुपर्छ कि तपाईंको बच्चा यो समस्याहरूबाट गुज्रिरहेको छ । नर्सले शिक्षक, सल्लाहकार र साथीको समेत अभाव पूरा गरिदिनु पर्छ । प्रत्येक नर्सलाई बच्चाको रुचिसम्बन्धी अनुमान, विशेष ज्ञान र बच्चा हेरचाहको अधिक सीपहरू चाहिन्छ ताकि उनले वैज्ञानिक ढंगले उनीहरूको हेरचाह गर्न सकुन् ।

बच्चाको लागि समय अत्यन्त तीव्र हुन्छ, जब उसलाई अस्पताल ल्याइन्छ । ऊ आफ्नी आमालाई छोडेर नयाँ संसारमा पुग्छ, जहाँ के गर्ने वा नगर्ने उसलाई थाहा हुँदैन । बच्चाको अस्थिर मानसिक सन्तुलन र तीव्र आवेगले उसको बिरामीपनलाई बढी जोखिममा पार्छ । यस्तो अवस्थामा, अस्पतालमा व्यक्तिगत हेरचाहको महत्त्व उपचारको भन्दा बढी हुन्छ । विश्वासलाई आत्मिय बनाउन उसको लागि सबै कुरा स्पष्ट रूपमा बताउनु एक नर्सको मुख्य काम हो ताकि बच्चा वा बिरामी मेडिकल र डाक्टरले गर्ने कामको लागि तयार हुन सकुन् । यदि बच्चालाई पहिल्यै सहमतिमा ल्याउन सकिएन भने पक्कै उसको विरोधले आगामी उपचार अनुसन्धानमा बाधा पुऱ्याउनेछ । यो सबै कुराको हेक्का राखेर नर्सले सेवा दिनु पर्छ ।

कार्डियाक केयरमा नर्सको विशेष जिम्मेवारी हुन्छ र उही तरिकाले नर्स प्रशिक्षित भएका हुन्छन् । शुरुमा दुखाइ कम भएपछि मुटुका धेरै रोगीहरूले तिनीहरूको रोगको सम्बन्धमा पछिसम्म आवश्यक सतर्कताहरू लिँदैनन् । नर्सप्रति बिरामीको उल्लेखनीय विश्वास र आफैमा पूर्ण निर्भरता प्राप्त गर्ने नर्स, जो बिरामीको शारीरिक गतिको भाव बुझ्दछि, जसले आफ्नो शैलीलाई बिरामीले थाहा नपाउने किसिमले परिवर्तन गर्न सक्दछिन्, उनी नै वास्तवमा कार्डियक केयरको लागि सफल र योग्य नर्स हुन् ।’ तिमीले भनेका यी सबै कुरा सत्य हुन् छोरी ।

तिमीले पनि अस्पतालमा मानसिक बिरामीहरूको केयर गर्दछौ । आफ्नो अनुभवअनुसार नर्सहरूलाई मानसिक बिरामीहरू सम्हाल्नको लागि ठूलो कौशलताको आवश्यक हुन्छ । नर्सले आफ्नो काम बिरामीहरूबीच धेरै ध्यानपूर्वक गर्नुपर्दछ । उसको व्यवहार र उसको हेरचाह निश्चित रूपमा बिरामीको लागि कुनै औषधीभन्दा बढी उपयोगी हुन्छ । त्यसैले नर्सलाई बिरामीको बारेमा सबै प्रकारका ज्ञान हुनुपर्दछ र उसले ती चीजहरू राम्ररी जान्नुपर्दछ, जसले बिरामीको मानसिक सन्तुलन बिग्रन्छ । अत धैर्यता, समानुभूति र सीप लगाएर बिरामीहरूसँग व्यवहार गर्नुपर्दछ, मानौँ ऊनीहरू उसका साथीहरू र प्रियजनहरू हुन्, किनकि मानसिक बिरामीहरू सामान्य चीजबाट उग्र बनेर निस्कन्छन् र उपचारबाट हुदै आएको लाभ एकै छिनमा समाप्त हुन सक्दछ ।’

यी कुरामा पूर्ण रुपमा सहमत छु छोरी, तिमीले भन्ने गरेका माथिका क्षमताहरू नर्सहरूको विशेष सीपहरूका केही उदाहरण हुन् । नर्सका प्रत्येक विशेष क्षेत्रमा केही विशेष कर्तव्यहरू हुन्छन् । नर्सले आफ्नो सेवा वा हेरचाहको लाभ तब लिन सक्दछ जब उसलाई सम्पूर्ण रूपले परिस्थितिको ज्ञान हुन्छ ।

परिवेश :

जीवनको मूल्यबारेको सोचमा, सामाजिक पद्दतिबारेको सोचमा र शिक्षा पद्दतिबारेको सोचमा नेपाल र बेल्जियमबिचको कहालीलाग्दो अन्तरले मलाई बेलाबेलामा नेपालबारे सोच्न बाध्य गराउँछ । मदर टेरेसाले पश्चिम बङ्गाललाई यिनै कारणहरूले आफ्नो कर्मभूमि बनाएको हुनु पर्छ जस्तो लाग्छ । जीवनको मूल्य किन फरक छ, युरोपमा मानव जीवन किन यति मूल्यवान छ ? गास, बास, कपास, शिक्षा र स्वास्थ्यमा नागरिक अधिकार कायम गरेर यहाँका सरकारले नागरिक सर्वोच्चता कायम गरेका छन् । तर नेपाललगायत तेश्रो मुलुकहरूमा मानवीय मूल्य किन हायलकायल छ ? सायद यो प्रश्नको उत्तर त जन्मभूमिलाई आंशिक रूपमा भएपनि कर्मभूमि नबनाएसम्म तिमीलाई थाह नहुने होला । यसको लागि संसारभरिका स्वास्थ्यकर्मी (नर्स र डाक्टर) एक विश्व संजाल बनाएर मानवीय मूल्य र स्वास्थ्यसँग सम्बन्धित सानातिना अभियानहरू चलाउन सकिन्छ भन्नेबारे पनि सोच्नुपर्छ होला छोरी । यो अभियानको लागि संसार भरिका नेपाली स्वास्थ्यकर्मीहरूले धेरै समय नभएपनि भ्याकेशनको समयलाई उपयोग गरेर धेरै नेपालीको प्राण रक्षाको लागि काम गर्न सकिन्छ ।

तिमीले छोटै उमेरमा धेरै कार्य अनुभव बटुलेकी छौँ । नेपालबाट आएकै साल समर भ्याकेशनमा पकेटमनीको लागि तिमी मारियाको ग्रीन हाउसभित्र काम गऱ्यौ । तिम्रो लगनशीलता देखेर होला, अर्को वर्ष पनि मारियाले तिमीलाई बोलाउनुभयो । तिमीले काम गरेको देखेर जोन, फिलिसिया, आलेकान्द्रो, आन्द्रे र मालिक मारियासमेत खुशी हुन्थे । प्रतिमा ‘यु आर अल्वेज विल्कम’ बिदाको काम सकिएपछि मारियाले भनेको अझै मैले सम्झेको छु छोरी ।

टमाटर टिप्ने काम ज्यादै गाह्रो काम भए पनि त्यो पनि गर्न सक्यौ र कठिन काममा समेत अभ्यस्त हुन सक्ने गुणको विकास गऱ्यौ । पछि तिमीलाई ओम अंकलको आन्थोर्पेन, ग्रोनप्लातअवस्थित दोकानमा कासामा काम गरेर ब्यावसायिक कलाको विकास गर्ने मौका मिल्यो । तिमीले त्यो बेला अधिक समुदायहरूको समिपमा रहँदा र बोल्दा आफ्नो आत्मविस्वास बढ्दै गएको कुरा गरेकी थियौ । त्यो पनि तिम्रो जीवनको अर्को अध्याय थियो, जसबाट तिमीले धेरै सिक्ने मौका पायौ ।

‘अन्तिमपटक जीवनको भिक्षा मागेर बिरामीले मुखमा हेर्दा मेरो मन स्थिर रहनै सक्दैन । म उसको सेवामा कतै कमि भयो कि वा औषधिको समय, परीक्षणको रिपोर्ट, डाक्टरको बोलावट, वा अन्य कारणबारे सोच्न ढिला गर्नु अपराध समान लाग्छ । मानवता बाहेक परिचारिका सेवामा नाता, गोता, जात, धर्म, रंग, देश, लिङ्ग केही रहँदैन । अचेल म पृथ्वीमाताकी असल छोरीबाहेक अरु बन्ने चेष्टा गर्दिनँ । एकै दिनमा पचासौँ मुलुकका र सम्प्रदायविशेषका बिरामीको सेवा गर्नुपर्छ । यही पेशामा मेरो सन्तुष्टि र गौरव छ र स्वाभिमानीपूर्वक मानव सेवा गरिरहेकी छु । त्यसैले मलाई नेपालमा नभएकोमा कुनै पछुतो छैन । सेवाको कुनै रंग हुदैन, यदि सेवा अझ मानवीय सेवामा पनि भेद देख्न थालियो भने हाम्रो सेवाले हामीलाई कहिल्यै अन्तर्राष्ट्रिय जातको सेवक बनाउने छैन ।

अस्पतालभित्र पसेपछि बिरामी वृद्धवृद्धा भए आमा, उमेरअनुसार बैनी, आमा, बुबा र आफ्नै परिवार झैँ देख्दछु । सायद मानवले सम्पूर्ण संकीर्णताका बार भत्काएपछि पुगिने ठुलो आँगन भएको घर त्यही अस्पतालभित्र हुने हाम्रो सेवा भाव होला । मानवता अट्ने ठुलो घर र हामी सबै महादेशका आफन्त परिवारजन त्यही पाँचतले भवनभित्र हुन्छौँ । ‘तिम्रो यो भनाईमा निहित भावले मलाई मेरी छोरी गर्व गर्नलायक अन्तर्राष्ट्रिय जातकी नर्स साथै परोपकार र मानवताकी स्वास्थ्य सिपाही हुन् भन्नेमा कुनै शङ्का छैन ।

होन, नर्स वास्तवमा संसारलाई त्यही मानवताको घरमा लैजाने पेशा हो । मैले यसलाई जागिर मात्र भनेँ भने जीवन दिन सक्ने र मानवताको अन्तिम गन्तव्यको स्पर्श बोध गराउने नर्स सेवामाथि अन्याय हुन्छ, नर्सकी संस्थापक महान् आत्मा फ्लोरेन्स नाइटिङ्गलको समर्पण भावप्रति अन्याय हुन्छ ।

अन्तमा, जीवन अथाह यात्राको नाम हो । त्योभित्र कति धेरै बाँच्नको लागि संघर्ष हुन्छ भन्न सकिन्न र शब्दमा लेख्न पनि सकिन्न । तर मानवताको सेतो बस्त्र लगाएर सेवारत नर्स र डाक्टरबाहेक यस्तो मृत्युन्जय सेवा सायदै होला । मेरो अनुभूतिले भन्छ, वृद्धवृद्धा बिरामी उपचारको क्रममा बित्दा एउटा नर्सले प्रत्येक दिन आफ्नै काखमा आफ्ना अविभावक गुमाएको अनुभव गर्दछन् । दिमाग सन्तापले तड्पिन्छ, एकछिन अगाडि बिरामीले हेरेको धमिला आँखाभित्रको अपिल,आफूले उनलाई बचाउनको लागि दिएको सेवाको मुल्याङ्कन गरेपछि झन् मन अतासिन्छ । तर डाक्टर र नर्सको सेवाले बाँचेर मुस्कुराउदै बिरामी निको भएर घर फर्केको सम्झनाले अघिल्लो मृत्युको शोकलाई तुरुन्त बिर्सन कर लगाउँछ । एक दिन तिमीले भनेकी थियौ छोरी, ‘नर्सहरूका सेवामार्फत बाँचेकाहरूले दिएको धन्यवादको कारणले हो प्रत्येक दिन हाम्रा काखमा मृत्यु मडारिँदा पनि नर्स डिप्रेसनमा नजाने । कतिपय अवस्थामा त आफ्नो सेवाको कमजोरीले बिरामीको ज्यान गयो कि भन्ने शंकाले रातभरि निद्रा पर्दैन । अस्पतालभित्र नर्सको आफ्नो समय हुँदैन । अस्पतालभित्रको एक सेकेन्ड पनि नर्सको समय बिरामीको हो । नर्सको सानो भन्दा सानो त्रुटीले बिरामीको जीवन गुम्न सक्छ । त्यसैले त्यहाँ पुगेपछि प्रत्येक समय चौकन्ना हुनुपर्छ । त्यसैले यो नर्स पेशा मानिसको प्राण बोक्ने पेशा हो जस्तो लाग्छ ।’

हरेक उमेर समुहका बिरामीलाई नर्सले हेर्ने दृष्टिकोण परिवारको भन्दा फरक हो भन्ने निष्कर्ष निकालियो भने त्यो पाप हो । उसले त्यो बिरामी बचाउन प्रत्येक सेकेन्ड तड्पी-तड्पी सेवामा बिताइरहेको हुन्छ । ठिक छ नानी, नर्सिङमा ब्याचलर सकेर यसको सेवाभित्रको महत्वलाई चम्काउने प्रयत्न गर्दैछौ । अध्यायनमा त सफल भएकै छौ वा तिम्रो मेहनत सँधै उत्कृष्ट र विजित छ । तर सफल नर्सिङ भनेको जीवनको मूल्यलाई सम्मानपूर्वक बचाउनुसँग जोडिएको हुन्छ । त्यसमा सफल भइरह्यौ भने तिमी सफल वरिष्ठ परिचारिका सावित हुनेछौ । र, त्यसको मुल्याङ्कन विधि भनेको तिम्रो सेवाप्रतिको आत्मिक विश्वस्तता बाहेक अरु हुनै सक्दैन । वास्तवमा तिमीले रोजेको सेवालाई मैनबत्तीको उज्यालोमा देख्न सकिने भए संसारले नर्सको पेशा कति पवित्र रहेछ भनेर थाहा पाउने थियो ! हाम्री आमाले भनेझैँ महामारीको यस्तो कठिन अवस्थामा पानी अरुको प्राण रक्षाको लागि लडिरहेका नर्सहरू धर्तीका देवता नै हुन् । किनकि संसारभरी २१ हजारभन्दा बढी नर्सहरूले कोरोनाबाट बिरामीलाई बचाउने सिलसिलामा आँफै सङ्क्रमित भइ सहादत प्राप्त गरिसकेका छन् । ती सबै महान् शहीद नर्सहरूप्रति मेरो असिम श्रद्धा छ ।

(संसारभरि पवित्र सेतो पहिरनमा सेवारत महान् नर्स दिदीबहिनी र छोरीहरूको सम्मानमा समर्पित !)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७३६८

भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोना भाइरसको