बुद्धिको बिर्को खुल्थ्यो कि !

बुद्धिको बिर्को खुल्थ्यो कि !


  • मोहन लामा रुम्बा

राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा एकजना नेपाली नागरिक ग्याल्पो शेर्पा भन्ने व्यापारीलाई तिब्बत सरकारले हत्या गरेपछि झण्डै-झण्डै युद्ध भएको थियो । घटना कसरी युद्धको मुखमा पुगेको थियो भने नेपाली ब्यापारी ग्याल्पो शेर्पाको कोठी तिब्बतको ल्हासामा थियो । ग्याल्पो शेर्पा खचेरा नेपाली थियो । खचेरा भन्नुको अर्थ- तत्कालीन समयमा नेपाली बाबु र तिब्बती आमाबाट जन्मेको बालबालिकालाई त्यतिबेला खचरा भन्ने चलन थियो ।

त्यतिबेला तिब्बतमा नेपाली बाबु तिब्बती आमाबाट जन्मेको छोरा भए नेपाली हुने र छोरी भए तिब्बती नागरिक हुने नियम भएकोले नेपाली ब्यापारी बाबुबाट जन्मेको ग्याल्पो शेर्पा स्वतः नेपाली हुने भइहाल्यो । यिनलाई बाबु-आमाले पाँच वर्षको उमेरमा काठमाडौं ल्याई यतै हुर्काइ बढाइ बिहेवारी भएपछि यिनी पुनः तिब्बतमा ब्यापार-व्यवसाय गर्न गए । तत्कालीन समयको निकै नाम चलेको धनी थियो ग्याल्पो शेर्पाको परिवार ।

यसै क्रममा वि.सं. १९८० मा एकपटक यिनलाई तिब्बत सरकारले व्यापारको नाउँमा गैरकानुनी तस्करी गरेको आरोपमा पक्राउ गरेर लामो समय जेलमा राखेको बेला वि.सं. १९८६ श्रावण २६ गते राति कुनै तरिकाले जेलबाट उम्केर भाग्दै सोझै ल्हासास्थित नेपालको वकिल कार्यालयभित्र छिरेर शरण लिएर बसे ।

ग्याल्पो शेर्पाले नेपाली वकिल कार्यालय (त्यतिबेलाको दूतावास जस्तै) मा शरण लिएर बसेको थाहा पाएपछि तिब्बती सरकारले ग्याल्पो शेर्पालाई तुरुन्तै हस्तान्तरण गर्न दबाब दिन थाल्यो, तर नेपाली वकिलले यिनी नेपाली नागरिक भएकाले शरण पर्न आएको हुँदा हस्तान्तरण गर्न नमिल्ने भन्दै अडान लिइ बसे । तर, तिब्बती सेनाले वि.सं. १९८६ भदौ १२ गते नेपालको वकिलको कार्यालय घेराउ गर्दै जबर्जस्ती भित्र घुसेर वकिलको कार्यालय तोडफोड गर्दै ग्याल्पो शेर्पालाई लछारपछार गरी लगेर जेलमा कठोर यातना दियो । आगोमा तताएर रातो पारेको फलामको घोडामा चढाएर चरम यातनासहित वि.सं. १९८६ असोज १ गते ग्याल्पो शेर्पालाई तड्पाइ-तड्पाइ जेलमा नै मारियो । ग्याल्पोको तिब्बतमा रहेकोे चलअचल सम्पत्ति सबै तिब्बतीले लुटपाट गरेर लगे ।

कुनैबेला एकजना ग्याल्पो शेर्पा भन्ने देशको सामान्य नागरिकको हत्यालाई देशमाथिकै अपमानबोध गर्दै कसरी बदला लिएर आक्रोश शान्त पार्न खोज्दै थियो भनेर एकपटक फर्केर इतिहास हेरे त्यही ग्याल्पो शेर्पाको सन्तान आङकाजी शेर्पाको बुद्धिको बिर्को पनि खुल्थ्यो कि त ?

तिब्बती सरकारबाट कुटनीतिक मर्यादाविपरीत नेपाल सरकारको वकिलको अडमा तोडफोड गर्दै मान्छे पक्राउ गरेर लगेको प्रति वकिल कप्तान लालबहादुर बस्न्यातले तिब्बत सरकारलाई एक विरोध पत्र लेखी उक्त घटनाको कडा भत्सर्ना गर्दै क्षतिपुर्ति माग गरे । तर, तिब्बत सरकारले कुनै वास्ता गरेन ।

यस घटनाको सम्पुर्ण विवरण खुलाई कप्तान बस्न्यातले नेपाल सरकारलाई एक पत्र पठाए । उक्त पत्र श्री ३ महाराज चन्द्र शमशेरकोमा जाहेरी भएपछि ल्हासामा घटेको घटनालाई गम्भीरतापूर्वक लिँदै भारदारहरूको बैठक बस्यो । बैठकले तिब्बतीहरूले शरणमा परेको मान्छेलाई जबर्जस्ती नेपालको वकिलको अड्डामा हमला गरी लैजानु भनेको यो नेपालमाथि गरेको सरासर अपमान हो भन्ने ठहर ग¥यो र निष्कर्ष निकाल्यो- या तिब्बत सरकारले नेपालसमक्ष माफी माग्नुपर्छ या त युद्धको लागि तिब्बत तयार हुनुपर्छ । यस्तो निष्कर्ष निकाल्दै ल्हासामा यही ब्यहोराको कडा खालको चेतावनीयुक्त पत्र पठायो ।

यस पत्रको तिब्बत सरकारबाट कुनै जवाफ आएन, भनौँ वास्ता नै गरिएन । त्यसपछि श्री ३ महाराज रहेका चन्द्र शमशेर युद्धको तयारीमा जुटे । युद्धको लागि अंग्रेज सरकारलाई सैनिक सामाग्रीको सहयोग माग्दै पत्र पठाए तर अंग्रेज सरकारले सैन्य सामाग्री दिन चाहेन, बरु तिब्बतप्रति संयमित हुनु भन्दै आवश्यकता परे दुई देशबीचमा मध्यस्थता गरिदिने भन्ने ब्यहोराको आश्वासन पाए । आशा गरेविपरीत अङ्ग्रेजको जवाफ आए पनि चन्द्रशमशेर युद्धको लागि पछि हट्न मानेनन्, जसरी पनि अपमानको बदला लिएरै छोड्ने सुर कसेर तत्कालै युद्धको निम्ति राष्ट्रको ढुकुटीबाट ६ करोड झिकेर कमान्डर इन चिफ रहेका भीम शमशेरको नेतृत्वमा युद्ध कार्यालय पनि खोलियो टंगाल दरबारमा । छुट्टाएको रकम मध्येबाट २ करोड ५० लाखको सैन्य सामाग्री बेलायतलगायत अन्य युरोपेली देशबाट अत्यावश्यक जुत्ता लत्ताकपडा हातहतियार खरिद गरियो ।

लडाइँको पूर्व अभ्यासको लागि दैनिक बटालियन कमान्डरहरूको टुँडिखेलमा सैनिक अभ्यास सुरु भयो । युद्धको लागि चाहिने आवश्यक सैन्य सामाग्री गोला बारुद खाद्यान्न जोहो गर्दै तिब्बतमाथि जाइलाग्ने दिन नजिकै आउँदै थियो भने उता अङ्ग्रेज सरकारले तिब्बतलाई नेपालसँग वार्तामार्फत समस्याको हल खोज्न भन्दै कुटनीतिक दबाब दिँदै थियो । तर तिब्बत सरकारले कुनै ठोस प्रतिक्रिया दिइरहेको थिएन ।

रातदिन युद्धको तयारीमा रहँदै गर्दा वि.सं. १९८६ मङ्सिर ३० गते निमोनियाको व्यथा लागेर श्री ३ महाराज चन्द्र शमशेरको अचानक मृत्यु भयो । उनको मृत्यु भएको केही समयपछि अर्थात् वि.सं. १९८६ माघ महिनामा तिब्बत सरकारले क्षमायाचनासहितको पत्र पठायो । त्यतिबेला कमान्डर इन चिफ रहेका भीम शमशेर श्री ३ महाराज एवम् प्रधानमन्त्री भइसकेका थिए ।

तिब्बत सरकारले क्षमायाचनासहित पठाएको पत्रले नेपाल-तिब्बत युद्ध भरेभोलि हुने-हुने अवस्थामा पुगिसकेको एउटा घटना टरेर गयो ।

यही देश कुनैबेला हाम्रो हजुरबुबाको पालामा एकजना ग्याल्पो शेर्पा भन्ने देशको सामान्य नागरिकको हत्यालाई देशमाथिकै अपमानबोध गर्दै कसरी बदला लिएर आक्रोश शान्त पार्न खोज्दै थियो भनेर एकपटक फर्केर इतिहास हेरे त्यही ग्याल्पो शेर्पाको सन्तान आङकाजी शेर्पाको बुद्धिको बिर्को पनि खुल्थ्यो कि त ?