‘भाइरल कल्पना’लाई नचिन्दा अपराधै भयो त ?

‘भाइरल कल्पना’लाई नचिन्दा अपराधै भयो त ?


  • राजन घिमिरे

नेपाल टेलिभिजनबाट प्रसारित एक कार्यक्रम ‘दोहोरी च्याम्पियन’ मा सहभागी हुन पुगेकी कल्पना दाहाललाई निर्णायकहरूले चिनेनन् अरे.. ! निर्णायकले नचिन्दा कल्पनाको अपमान भयो अरे.. !! … !!!

को हुन् कल्पना ? र, किन अनि केका लागि सबैले उनलाई चिन्नैपर्ने ? सवाल पैदा भएको छ । नेपाली गीत–संगीतमा यिनको योगदान, त्याग अनि निरन्तरता कति छ ? नेपाली लोकगीत–संगीतमा कल्पना लागेको कति वर्ष भयो ? यिनको योगदानको फेहरिस्त कति रहेछ ? के यिनी हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, विमाकुमारी दुरा, बिष्णु माझी नै हुन् ? यिनलाई चिन्नैपर्ने र नचिनेमा ठूलै अपराध गरेजस्तो गरेर किन निर्णायकहरूप्रति आरोपको वर्षा गरिन् ? तात्पर्य बुझ्न सकिएन ? सायद आफूलाई ठूलै सेलिब्रेटी ठान्ने भ्रममा परिन् यी नवप्रतिभा ।

कल्पना दाहाल चर्चित भइन् होला एउटा तप्कामा, तर उनले आफूलाई महान् ठान्ने बेला भएको पक्कै छैन । यदि ख्यातिप्राप्त गायिका थिइन् भने किन नवप्रवेशीले भाग लिने प्रतियोगितामा सहभागिता जनाइन् ? यिनलाई निर्णायक चन्द्र शर्माले ‘तपाईं त्यही भाइरल कल्पना होइन ?’ भनेर इज्जतकै साथ प्रश्न गरेका थिए, तर यसलाई उल्टो रूपमा बुझेका युट्युबरहरूले शर्माले जीवनमा ठूलै अपराध गरे जस्तो गरेर केही धज्जी उडाउन खोजे । युट्युबरहरूले यो कुरा बुझेनन् कि कल्पनालाई नचिनेका शर्माको नेपाली लोकगीत-संगीतमा कत्तिको योगदान र समर्पण रहेछ त ? शर्मालाई चाहिँ कत्तिको चिने युट्युबरहरूले ? यो पाटोबाट पनि प्रश्न उठाउने हो कि ?

हालसम्म कल्पनाले मौलिक रूपले आफ्नै भन्न मिल्ने कतिवटा गीत गाइन् ? अर्थात् यिनलाई चिनाउने आफ्नै गीत कुन हो ? कसैले बताउन सक्दैन । अरूको गीत गाएर प्रविधिको प्रयोगमार्फत् केही युट्युबरहरूको आडमा केही समय भाइरल बन्न सफल कल्पना दाहाललाई युट्युबरले आफ्नो फाइदाको लागि भरपूर प्रयोग गरेका हुन् । कार्यक्रममा जून र जसको गीत गाएर कल्पना भाइरल बनेकीछन्, ती गीतमा दोहोरी च्याम्पियनका निर्णायकहरू प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्माका कति गीत थिए होलान् ? कसैले हेक्का राखेको छ ? जसको गीत गाएर कल्पना भाइरल बनिन्, उल्टो तिनै स्रस्टामाथि केरकार, आरोप अनि गालीगलौज ..?

कल्पनालाई नचिन्दा निर्णायकहरूले जघन्य अपराध गरेजस्तो गरेर प्रस्तुत गरियो, जसले नेपाली लोकगीतमा वर्षौं योगदान दिए । मानौँ यी निर्णायकहरू त कल्पनाको अगाडि तुच्छ हुन् । कल्पनाको जति योगदान र नाम छैन त यी निर्णायकहरूको । दुःखलाग्दो कुरा ! एउटा निर्णायकले ‘कहाँ–कहाँ देखेजस्तो लाग्यो’ भन्न पनि नहुने ? यत्ति भनेको भरमा वर्र्षौंदेखि सङ्गीत कर्ममा लागेका व्यक्तित्वको खिल्ली उडाउने ? गाली नै गर्ने ? कस्तो संस्कारलाई बढावा दिइरहेका छौँ हामी ? कुन ‘मेन स्ट्रीम’ मिडियाले भाइरल बनाएको हो र कल्पनालाई ? रमेश प्रसाई, जसले एउटा पुरानो लोकगीतलाई रिमिक्स गरेर गाए र अहिले हराए, उनैसँग दोहोरी गाएपछि यूट्युबरहरूले कल्पनालाई भाइरल बनाएका हुन् । यत्ति हो उनको साङ्गीतिक यात्रा ! तर उनको बारेमा यति धेरै गुनगान, चर्चा र वाहवाही गरियो कि निर्णायकहरू भन्दा कल्पना नै महान् स्रस्टा हुन् !

केही समय यूटुबमा भाइरल भएका सबैलाई चिन्नैपर्छ भन्ने पनि छैन र सबैलाई सबैले चिन्न सक्दैनन् पनि । यूट्युब र सामाजिक सन्जालमार्फत आजभोलि कोही न कोही भाइरल भैरहेकै हुन्छन् । के ती सबैलाई चिनेर सम्भव छ ? यस्ता भाइरल पात्रहरूको चर्चा, नाम, योगदान र वाहवाहीले निरन्तरता पाइरहेको छ त ? यस्ता भाइरल त आज चर्चामा तर भोलि गुमनाम हुने अवस्था छ । सबैले यूट्युब हेर्छन् नै भन्ने छ र ? सबैले सामाजिक सन्जाल चलाउँछन् भन्ने छ र ? सबै भाइरललाई चिन्नैपर्छ भन्ने पनि छैन ।

त्यसैले, भाइरल होइन, भैरहने र टिकीरहने काम गर्नुस् । त्यो नै कलाकारको लागि हितकारी हुनेछ । केही यूट्युबमार्फत केही समय भाइरल भइएला तर आफ्नो हैसियत र धरातल बिर्सनु भएन । तपाईं क्षमतावान, दक्ष र प्रतिभावान हुनुहुन्छ भने तपाईंको प्रतिभालाई चिनाउन कुनै यूट्युबको भाइरल चाहिँदैन । तपाईं अरूको गीत गाएर जत्तिकै भाइरल भए पनि त्यो क्षणिक मात्र हो, तपाईंलाई जीवनभर चिनाउने त तपाईंको आफ्नै सिर्जनाले मात्र हो । तपाईं आज भाइरल भएर वाहवाही कमाइरहँदा तपाईंलाई कसैले ‘तपाईंको मौलिक गीत चाहिँ कुन हो ?’ भनेर प्रश्न गर्दा तपाईं त्यतिबेला जवाफविहीन हुनुपर्ने अवस्था नआओस् । यस्तो प्रश्नको जवाफ दिँदा यो हो मेरो गीत भनेर तपाईंले सगौरव भन्न पाउनुपर्ने क्षमता विकास गर्नतिर लाग्दा राम्रो हुन्थ्यो कि ?