केपी यसरी बने आधा ‘जङ्गबहादुर’ !

केपी यसरी बने आधा ‘जङ्गबहादुर’ !


  • देवप्रकाश त्रिपाठी

नेपाली राजनीतिमा एउटा स्थापित नाम हो जङ्गबहादुर राणा, जो आफ्नै पौरख, क्षमता, आत्मविश्वास, साहस, चातुर्य, दूरदर्शिता र निर्णय क्षमताका कारण स्मरणीय बनेका छन् । नेपाली भाषामा ‘जङ्ग’ शब्द आफैंमा ऊर्जाकारक छ, तर नामअनुसारको स्वभाव, चरित्र र व्यवहार सबैको हुन सक्दैन, कसैमा हुन्छ भने त्यो अपवाद हो, त्यस्तै अपवादमा जङ्गबहादुर राणा परेका छन् । जस्तो नाम उस्तै कार्य परिणाम भएकोले पनि नेपाली मानसपटलमा उनको नाम सधैं ताजा बनेर रहने गरेको छ । तथापि, शासकीय सान या शक्तिशाली शासक भएकै कारण जङ्गबहादुर अमर बनेको निष्कर्ष निकालियो भने त्यो शतप्रतिशत गलत हुनेछ । सान र शक्तिका आधारमा हेर्ने हो भने सबै राणा प्रधानमन्त्री पदमा थि र सबैले श्री ३ महाराजको पदवी पाएका थिए, त्यस आधारमा हेरिने भए सबै नै बराबरी स्मरणयोग्य बनेका हुन्थे ।

जङ्गबहादुर शिक्षित थिएनन्, पहिलो पटक विद्यालय स्थापना गरे । कुटनीतिको शास्त्रीय ज्ञानमा उनी शुन्य थिए, तर आफ्नै बुद्धि र क्षमताको प्रयोग गरेर नेपाललाई विश्वमञ्चमा परिचित गराए, गुमिसकेको भूभाग फिर्ता लिए र, देशको नापीनक्सा तयार गरेर अन्तर्राष्ट्रिय सीमा स्तम्भ राख्न सफल भए । जङ्गबहादुर वातावरणविद थिएनन्, तर वृक्षारोपण गरेर काठमाडौं उपत्यकाका नागार्जुन तथा गोकर्णसहित देशका विभिन्न भाग हरियाली बनाउने र पशुपन्छीको सूरक्षित बसोबास व्यवस्था मिलाउने उनै थिए । जङ्गबहादुर आफैं योजनाकार थिएनन्, तर फिर्ता आएको भूभाग बाँकेमा नेपालगञ्ज नामाकरण गरी शहर (बस्ती) बसाउने र देशको इतिहासमै पहिलो पटक पूर्व-पश्चिम राजमार्ग निर्माणका निम्ति बजेट विनियोजन गर्ने उनै थिए ।

शक्तिशाली शासक या निरङ्कुश व्यवहारका कारणले मात्र जङ्गबहादुरलाई सम्झनु परेको होइन । त्यसबेलाको नेपाल जसरी गुज्रिरहेको थियो, त्यहाँ एक कुशल व्यवस्थापकको अभाव खट्किँदै थियो, संयोगले मात्र बालनरसिंह कुँवरका छोरा जङ्गबहादुर उक्त अभाव पूर्ति गर्ने भूमिकामा आइपुगेका हुन् ।

जङ्गबहादुर राजनीतिकर्मी थिएनन्, न राजनीतिज्ञ हुन् न त शासकीय अनुभव नै उनमा थियो, तर अस्थिर नेपाली राजनीतिलाई स्थिर तुल्याउने उनै हुन् । जङ्गबहादुर कानुनवेत्ता थिएनन्, तर नेपालमा पहिलो पटक कानून (मुलुकी ऐन) जारी गरेर जनतामा कानूनी शासनको प्रत्याभूति दिलाउने उनै हुन् । यस प्रकारका झण्डै चार दर्जनभन्दा बढी स्मरणयोग्य कार्य गरेर जङ्गबहादुर नेपाली इतिहासका अमर पात्र बनेका हुन् । केवल शक्तिशाली शासक या निरङ्कुश व्यवहारका कारणले मात्र जङ्गबहादुरलाई सम्झनु परेको होइन । त्यसबेलाको नेपाल जसरी गुज्रिरहेको थियो, त्यहाँ एक कुशल व्यवस्थापकको अभाव खट्किँदै थियो, संयोगले मात्र बालनरसिंह कुँवरका छोरा जङ्गबहादुर उक्त अभाव पूर्ति गर्ने भूमिकामा आइपुगेका हुन् ।

नेपालको वर्तमान स्थितिले पनि एउटा ‘जङ्गबहादुर’ खोजिरहेको छ । देशको राजनीतिक स्थिति र नेता तथा प्रशासकहरूको आचार-व्यवहारबाट आजित नेपालीले आपसी कुराकानीका क्रममा समेत ‘देशलाई जङ्गबहादुरको खाँचो भएको’ अभिव्यक्ति दिन थालेका छन् । प्रजातन्त्रविरुद्ध जनता हुन्छन् भन्ने कुरा सैद्धान्तिक एवम् वैचारिक रूपले नै गलत हो । तर यहाँ लोकतन्त्रको आवरणमा शासक र प्रशासक (नेता र कर्मचारी)को सोच-व्यवहार-कार्यशैली यति निन्दायोग्य बन्यो कि प्रजातन्त्रसमेत बदनाम हुन पुग्यो । जुन दलका जो-कुनै नेता प्रधानमन्त्री र मन्त्री बने पनि आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन नआउने, बरु नेता र कर्मचारीकै कारण देशमा गरिखाने स्थिति नभएपछि जनताले नै भन्न थालेका छन्- ‘बरु जङ्गबहादुर नै आउ ।’

केही मानिसको विभत्स हत्या गर्दैमा कोही जङ्गबहादुर बन्ने भए प्रचण्ड–बाबुरामलाई पचासौँ गुणा ठूलो जङ्गबहादुर मान्नुपर्ने हुन्थ्यो । सम्पूर्ण शासन सत्ता आफूमा निहित गर्न सक्नुलाई ‘जङ्गबहादुर’ बन्ने योग्यता मानिने भए भीमसेन थापालाई नै त्यस रूपमा स्मरण गरिएको हुन्थ्यो ।

कुनै समय राजालाई जङ्गबहादुर बन्ने मौका थियो, राजाले जङ्गबहादुर बन्न खोजेनन् या सकेनन् । नेपाली सेनाका उच्चाधिकारी मध्येबाट कोही प्रकट हुन सक्थे, त्यहाँ पनि साहसी कुनै देखापरेनन् । समयचक्र र परिस्थितिले जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जङ्गबहादुर’ बन्न सक्ने ठाउँमा ल्याइपुऱ्याएको छ । राज्यसत्ता र संयन्त्रलाई काबुमा लिन सक्ने क्षमता केपी ओलीले दर्शाइसक्नुभएको छ ।

दूरदृष्टि, देशभक्ति, नेपाली राष्ट्रियताप्रति गौरवभाव, निर्णय क्षमता र चातुर्यका साथमा व्यवस्थापकीय कौशलसहित इमानदार मानिसको खोजिलाई नै अहिलेको अवस्थामा जङ्गबहादुर उदयको चाहनाका रूपमा बुझ्नुपर्दछ । नेपालीजनको मानसपटलमा रहेको त्यस्तो पात्र कुनै ‘मुलुकबाट आयात गर्न मिल्ने भए नेपाली जनताले कैयन वर्षअघि नै घरधुरी चन्दा उठाएर त्यस्ता मानिस भित्र्याइसकेका हुने थिए । एक समय प्रचण्ड-बाबुराम नै जङ्गबहादुर बन्न सक्ने या बन्न खोज्ने हुन् कि भन्ने पनि ठानिएको हो, तर दुवैमा विध्वङ्शात्मक र विभाजनकारी दक्षता मात्र देखियो । एउटालाई ‘मानुषी’ र अर्कोलाई ‘रेणु’प्रति जति माया-ममता जागेको देखियो त्यसको एकाङ्श ममता पनि देश र जनताप्रति रहेको महसूस गरिएन ।

कुनै समय राजालाई जङ्गबहादुर बन्ने मौका थियो, राजाले जङ्गबहादुर बन्न खोजेनन् या सकेनन् । नेपाली सेनाका उच्चाधिकारी मध्येबाट कोही प्रकट हुन सक्थे, त्यहाँ पनि साहसी कुनै देखापरेनन् । समयचक्र र परिस्थितिले जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जङ्गबहादुर’ बन्न सक्ने ठाउँमा ल्याइपुऱ्याएको छ । राज्यसत्ता र संयन्त्रलाई काबुमा लिन सक्ने क्षमता केपी ओलीले दर्शाइसक्नुभएको छ । यतिबेला सत्तारुढ दल नेकपा एमालेको अध्यक्ष पदमा केपी हुनुहुन्छ । केन्द्रीय समिति केपीको पकडमा छ र, उहाँलाई चुनौती दिन सक्ने हैसियतमा अर्को कुनै व्यक्ति देखापरेको छैन । पार्टीमा पूर्ण नियन्त्रण कायम भएको छ, संसदीय दलको नेता केपी आफैं हुनुहुन्छ, संसदीय बोर्डसमेत उहाँको इच्छा र इसारामा मात्र चल्ने प्रकारको छ । प्रधानमन्त्री पदमा उहाँ आफैं हुनुहुन्छ र सरकारमा पनि पूर्ण नियन्त्रण छ ।

राष्ट्रप्रमुख सरकारको काममा व्यवधान पैदा गर्ने मानसिकतामा हुनुहुन्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगलगायत सबै संवैधानिक निकाय उहाँको काबुमा छन् । राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्रीको मातहत पुगेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत अहिलेसम्म प्रधानमन्त्रीप्रति बफादार र सहयोगी भूमिकामा देखिएका छन् । न्यायपालिका केपी ओलीप्रति असहिष्णु हुन खोजेको मानिदैन र, कर्मचारीतन्त्रमा केपीसँग त्रास उत्पन्न भएको छ भने जनसाधारणमा पनि केपीका जबर्जस्त समर्थक र हितैषीहरू बढेका छन् । अन्य नेताको तुलनामा अन्तर्राष्ट्रिय साथ-सहयोग प्राप्त गर्न पनि केपी नै सफल हुनुभएको छ । समग्रतामा केपी ओली एउटा शासकका रूपमा बलवान हुनुभएको छ, बलवान भइसकेपछि कसरी देशको काम गर्न सक्नुहुने हो, अब त्यतातिर हेरिँदैछ । आफूमा निहित शक्तिलाई राजा वीरेन्द्रले झैँ आफ्नै शासन-सूरक्षामा मात्र उपयोग गरिने हो या राजा महेन्द्रले जस्तै देशहितका लागि आफ्नो शक्तिको उपयोग हुने हो, प्रतीक्षा त्यसैको भइरहेछ ।

केपी ओली एउटा शासकका रूपमा बलवान हुनुभएको छ, बलवान भइसकेपछि कसरी देशको काम गर्न सक्नुहुने हो, अब त्यतातिर हेरिँदैछ । आफूमा निहित शक्तिलाई राजा वीरेन्द्रले झैँ आफ्नै शासन-सूरक्षामा मात्र उपयोग गरिने हो या राजा महेन्द्रले जस्तै देशहितका लागि आफ्नो शक्तिको उपयोग हुने हो, प्रतीक्षा त्यसैको भइरहेछ ।

‘जङ्गबहादुर’ प्रमाणित हुन केपीले धेरै जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था पनि अहिले होइन । लडाकुको नाममा भएको अर्बौं भ्रष्टाचारका नाइकेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउँदै मुलुकबाट भ्रष्टाचार उन्मूलन गर्न देशैभरी विशेष अभियान चलाउने र, त्यसको थालनी आफ्नै वरिपरिबाट शुरु गर्ने, काम गरिखान खोज्नेहरू कर्मचारी प्रशासनबाट हैरान र एकप्रकारले प्रताडित भएकोले प्रशासनलाई कार्यमुखी एवम् जनमुखी बनाउने, शिक्षा र स्वास्थ्यलाई सुलभ र सहज तुल्याउन यो क्षेत्रमा भइरहेको व्यापारीकरणलाई नियन्त्रण गर्ने र, मुलुकमा लगानीमैत्री वातावरण बनाउने हो भने केपीको क्षमता उजागर हुनेछ ।

तर यति मात्र काम गरेर केपी शर्मा ओली ‘जङ्गबहादुर’ बन्न सक्नुहुने छैन । इतिहास-स्मरणीय बन्न केपीले खण्डित नेपाललाई एकिकृत तुल्याउन सक्नुपर्छ । जनताको सेवा, सुविधा र अधिकार सुदृढ तुल्याउन ‘सङ्घीयता बलियो बनाउँदै’ प्रदेश संरचना खारेज गरेर प्रदेशमा निहित अधिकार वडा तहमा हस्तान्तरण गरिनुपर्ने हुन्छ । बहुसङ्ख्यक जनताको भावना कदर गरी नेपाललाई किराँत, बौद्ध, जैन, शिख, बोन, मैत्रीय र नेपाली इस्लामधर्मीहरूको समेत संरक्षण गर्ने वैदिक सनातन हिन्दुराष्ट्रको पहिचान दिन सक्नुपर्छ । त्यस्तै, आरक्षणको जातीय आधार खारेज गरी शैक्षिक र आर्थिक रूपमा पिछडिएका समुदायलाई त्यस्तो सुविधा उपलब्ध गराउँदै समानुपातिक पद्धति बिस्थापित गरिदिनुपर्ने हुन्छ । यसनिम्ति संविधान संशोधन गर्न नसक्ने हो भने संविधान बदलेर पनि देश जोगाउन सक्नुपर्छ ।

समयको मागलाई सम्बोधन गर्ने सामर्थ्य प्रमाणित गरेर बालनरसिंहका छोरा ‘जङ्गबहादुर’ बनेका हुन् । प्रचण्ड-बाबुराम र गिरिजाप्रसादसहितको तत्वावधानमा बर्बाद गरिएको यो मुलुकलाई धर्ती र आकाश रहेसम्म सूरक्षित हुने विश्वास दिलाउन सक्दा मात्र केपी आधुनिक युगको ‘जङ्गबहादुर’ बन्न सक्नुहुने हो, के यी काम गर्ने सामर्थ्य तपाईंमा होला त प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ?
जय मातृभूमि !