शान्तिक्षेत्रका अभियन्ताहरु

शान्तिक्षेत्रका अभियन्ताहरु


  • खगेन्द्र गिरी कोपिला

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देवबाट मौसूफको शुभराज्याभिषेकको शुभ अवसरमा २०३१ साल फाल्गुण १२ गते विश्व समुदायसमक्ष नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखिबक्सेको थियो।

२०४६ सालसम्म विश्वका ११६ ओटा देशहरुले त्यस प्रस्तावलाई समर्थन गरिसकेका थिए तर २०४७ साल वैशाखमा गठन भएको सर्वदलीय सरकार र त्यसपछि बनेका सरकारहरुले त्यो प्रस्तावलाई ‘पञ्चायतको अभियान’ भनेर त्यत्तिकै अलपत्र पारे।

२०३१ सालदेखि २०४६ सालसम्मको १५ वर्षको कालखण्डमा नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव र असंलग्न परराष्ट्र नितिलाई नेपालले आफ्नो वैदेशिक सम्बन्ध निर्धारणको मूल मन्त्र बनाएको थियो।

सो १५ वर्षको कालखण्डमा ६ जना व्यक्तिहरुले परराष्ट्रमन्त्रीको रुपमा काम गरि नेपालको परराष्ट्र नितिलाई सञ्चालन गरेका थिए।

यी ६ जना परराष्ट्रमन्त्रीलाई शान्तिक्षेत्रका अभियन्ता भन्न सकिन्छ-

१. ज्ञानेन्द्र बहादुर कार्की : विक्रम सम्वत १९८९ सालमा घनकुटामा जन्मेका कार्की २०२९ वैशाखमा ४० वर्षको उमेरमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए । उनले २०३१ चैत्रसम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए । शान्ति क्षेत्रको प्रस्ताव उनकै पालामा राखिएको थियो । तीन पटक राष्ट्रिय पञ्चायत सदस्य चुनिएका कार्की पहिलोपल्ट २०२३ साल साउनमा शिक्षा सहायकमन्त्री नियुक्त भएका थिए । २०२४ साल जेठमा जलविद्युत मन्त्री नियुक्त भएका कार्कीले भुमिसुधार, खाद्य कृषि, शिक्षा र अर्थमन्त्रीको रुपमा पनि काम गरेका थिए । उनी सिंगापुर र रुसका निम्ति राजदूत पनि भएका थिए । २०४९ सालमा मोटर दुर्घटनामा परि ६० वर्षको उमेरमा श्री कार्कीको निधन भएको थियो ।

२. कृष्णराज अर्याल : विक्रम संवत् १९८५ साल पुषमा काठमाडौंमा जन्मेका अर्याल प्रसिद्ध शिक्षाशास्त्री र प्राध्यापक हुन् । उनी २०३२ साल वैशाखदेखि २०३५ साल चैत्रसम्म चार वर्ष परराष्ट्रमन्त्री रहेका थिए । उनी तीन पटक राष्ट्रिय पञ्चायतको सदस्य मनोनित हुनुका साथै लामो समय शिक्षा, स्वास्थ्य, निर्माण यातायत र पर्यटनमन्त्री पनि भएका थिए । उनी फ्रान्सको लागि राजदूत पनि रहे । उनलाई राजा र रानीलाई पढाएको योग्य शिक्षक मानिन्थ्यो । नेपाललाई शान्तिक्षेत्र बनाउने अभियानका मुख्य अभियन्ता श्री ५ वीरेन्द्रपछि अर्याल नै हुन् । २०६३ सालमा ७८ वर्षको उमेरमा अर्यालको निधन भएको थियो।

३. केवी शाही : विसं १९८६ सालमा डोटीमा जन्मेका खगेन्द्रवीर शाही नवलपरासीबाट तीन पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । उनी २०३६ साल जेठदेखि २०३८ साल असारसम्म दुई वर्ष परराष्ट्रमन्त्री रहेका थिए । ८० वर्षको उमेरमा २०६६ सालमा शाही स्वर्गे भएका थिए ।

४. पदमबहादुर खत्री : विसं १९७२ सालमा काठमाडौंमा जन्मेका उपरथी खत्री शाही नेपाली सेनामा लामो समय काम गरेपछि परराष्ट्र सेवामा तानिएका व्यक्ति हुन् । उनी दुई पटक परराष्ट्र सचिव, दुई पटक अमेरिकाको लागि राजदूत र दुई पटक संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भएका थिए ।

नेपालका योग्य र अनुभवी परराष्ट्रविद मानिने खत्रीलाई २०३९ साल असोजमा राष्ट्रिय पञ्चायतको सदस्य मनोनीत गरेर परराष्ट्रमन्त्री बनाइएको थियो । उनी २०४२ साल जेठसम्म परराष्ट्रमन्त्री रहेका थिए । ७० वर्षको उमेरमा २०४२ सालमा श्री खत्रीको देहावसान भएको थियो ।

५. रणधीर सुब्बा : विसं १९६५ सालमा जन्मेका सुब्बा परराष्ट्रमन्त्री नियुक्त हुँदा ७७ वर्षका थिए । उनी २०४१ जेठदेखि २०४३ असारसम्म परराष्ट्रमन्त्री रहेका थिए । उनी २०१५ साल जेठदेखि २०१६ साल जेठसम्म अन्तरिम सरकारमा राष्ट्रवादी गोरखा परिषदको तर्फबाट शिक्षा, स्थानीय स्वायत्त शासन, स्वास्थ्य, कानुन, संसदीय प्रबन्ध, उद्योग र वाणिज्यमन्त्री पनि भएका थिए । चीनको लागि राजदूत र त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएर पनि उनले काम गरेका थिए । २०४९ सालमा ८४ वर्षको उमेरमा सुब्बाको निधन भएको थियो ।

६. शैलेन्द्र कुमार उपाध्याय : विसं १९८६ सालमा भारतमा एक नेपाली शरणार्थी परिवारमा जन्मेका रामेश्वर दाहाल कालान्तरमा शैलेन्द्रकुमार उपाध्यायको नामले चर्चित हुन पुगे । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद त्यागेर पञ्चायत प्रवेश गरेका व्यक्ति हुन् उनी । पहिलोपल्ट उनी २०१९ साल असारमा पञ्चायत तथा राष्ट्रिय निर्देशन सहायकमन्त्री नियुक्त भएका थिए। तीन पटक राष्ट्रिय पञ्चायत सदस्य चुनिएका उपाध्याय २०४३ असारदेखि २०४६ चैत्रसम्म पररराष्ट्रमन्त्री रहेका थिए । उनले २०२० को दशकमा गृह, पञ्चायत, भुमिसुधार, स्वास्थ्य र संचारमन्त्री पनि भएर लामो समय काम गरेका थिए ।

उपाध्याय संयुक्त राष्ट्र संघका लागि स्थायी नेपाली प्रतिनिधि पनि भएका थिए । २०६८ साल वैशाखमा ८२ वर्षको उमेरमा सगरमाथाको आधार शिविरमा उनको निधन भएको थियो ।

यी ६ जनालाई नेपालका योग्य परराष्ट्रमन्त्री मानिन्छ ।

courtesy: Khagendra Giri Kopila