जबर्जस्ती सती पठाउनेलाई कानूनी सजाय

जबर्जस्ती सती पठाउनेलाई कानूनी सजाय


(इतिहास)


राजधानीमा प्रायः श्री ५ पृथ्वीनारायण शाह रहन्थे तापनि मुद्दामामिलाका पचेटातिर नलागी उनी यो काम आफ्ना सहकारी भएका चौताराहरूलाई दिएर अन्तिम निर्णयमा आफ्नो लालमोहर लगाइदिन्थे । तैपनि राजधानीमा उनको उपस्थिति रहनाले घूसपेसको गुप्ती चाल बहुत कम हुन्थ्यो । अन्यत्रका सामान्य अदालतका विचारी भर्ना गर्नालाई योग्यता पुगेका र इमानदार व्यक्ति पाइन केही गाह्रो हुने हुनाले डिट्ठाले र धर्माधिकारीले भर्ना गर्दा सहुलिया व्यक्ति भर्ना गर्नुपर्दथ्यो । यिनीहरूले जिल्लाका प्रशासकहरूसँग सम्मिलित भएर अदालत कायम गर्नुपर्दथ्यो र प्रशासकहरू प्रायः इमानदार हुनाले यिनीहरूसँग मेल नभई अदालतको व्यवस्था बिग्री न्यायमा बराबर बाधा उठ्थ्यो ।

दण्ड अनेक थरीका हुन्थे । ज्यानमारा मानिसलाई काटी मारिदिने सामान्य नियम थियो । तर, ब्राह्मण, संन्यासी जोगी, बैरागी र जनानाहरूले ज्यान मारे पनि प्राणदण्ड हुँदैनथ्यो र दण्ड हुन्थ्यो । आफ्नी स्वास्नी जारी गरेर लैजाने जारलाई साधुले काट्न पाउने पनि व्यवस्था थियो । तर, ब्राह्मण आदि अवध्य जातलाई काट्न नपाउने र बरू गाउँनिकाला आदि हलुका सजाय गर्ने अथवा जारसँग विवाह खर्च भराइलिने व्यवस्था थियो । तर, तागाधारी (जनै लाउने) जातलाई मतवाली (मद्य खाने) जातका मानिसले जारीखतमा जारलाई काट्न पाउँदैनथ्यो । पोइल जाने विवाहिता स्वास्नीमानिसको नाकको नथुनी काटेर बेरुप गराइन्थ्यो । हाडनातामा बिग्रने मर्दाना र जनानालाई चाक र चकुई नाम तर दासीमा परिणत गराई बिक्री गरेर अदालतका खातामा धन जम्मा गरिन्थ्यो । दोस्रो पटके चोरको सायद चोर औंलो काटिन्थ्यो । उनताक दण्डका कडाइले नै अपराध कम हुन्छ भन्ने सिद्धान्त समाजमा प्रचलित थियो र निकै अंशमा यो सिद्धान्त त्यसबखत सत्य पनि देखिन्थ्यो ।

ब्राह्मणबाहेक अरुले विधवा भाउजूलाई पाणिग्रहण गरी गृहणी बनाएर आफ्नै घरमा राख्न सक्तथे । तर, ब्राह्मणले विधवा भाउजूलाई यसैगरी गृहणी बनाएमा शिर मुडेर जात पतित गरी जिल्लाबाट बाहिर निकालिन्थे । ब्राह्मणले नाता नपर्ने विधवा ब्राह्मणीको पाणिग्रहण गरेर गृहणी बनाउन सक्थे । तर, यस्ता गृहणीपट्टिका सन्तानले पनि फलित ज्योतिषको काम गर्ने हुनाले फलित ज्योतिषको काम नगर्ने पनि जैसीब्राह्मण कहिन्थे र यिनको अलग समाज बन्दथ्यो । यस तरहका वर्णशङ्कर अनेक थरी हुन्थे र सामाजिक विषमता बढिरहन्थे ।

सतीप्रथा समाजमा चलेको थियो । सन्तान नभएकी अथवा छोराको उमेर पुगेकी स्वास्नीमानिसको लोग्ने मऱ्यो भने उसलाई लोग्नेका लासका साथ जलाइदिन्थे । यसरी जलेर सती भएमा पतिका साथ स्वर्गमा आनन्दसँग रहिन्छ भन्ने पुराणका कथा सुनाएर स्वास्नीमानिसलाई उत्साहित गराइन्थे र लाजगालले पनि विधवा बनेर हेला भई बाँच्नुभन्दा मर्नु नै बेस भनेर उनीहरू पोलिन्थे । कोही–कोही जनानाहरू साँच्चिकै स्वर्गमा पुगिन्छ भनेर हठ गरेर पनि पोलिन्थे । कुनै–कुनै सती जाँदैनौँ भन्दाभन्दै पनि उनका हकदारहरूले जबर्जस्ती पोलिदिएको उजूर परेर मलामीलगायत दण्डित हुन्थे र कैद गरिन्थे ।

तागो (जनै) लाउनेलाई तागाधारी र तागो नलाउने जातिमा संन्यासी, जोगी आदि भेषधारीबाहेक मतवाली कहिन्थे । तागाधारीमा मद्य पिउन बिलकुल वर्जित थियो । यसकारण तागाधारी जातका नरनारीले मतवाली जातका नरनारीसँग जानाजानी मद्य लिएर खायो भने खानेलाई जनै झिकी मतवाली जातमा मिलाइन्थे । मतवाली जातका नरनारीले झुक्याएर तागाधारी जातका नरनारीलाई मद्य खुवाएमा यिनलाई मासी दास-दासी बनाएर अदालतले बिक्री गरिआएको धन अदालतको आम्दानी खातामा दरिन्थ्यो । झुक्किएर मद्य खाने तागाधारी नरनारीले ‘पतिया’ पाउँथे । घटीबढी जातमा जारी-करणीको मुद्दा परेमा भात-पानीमा बोरिएको कुरा उठ्दथ्यो र जानीजानी भात–पानी खानेजति तल्ला जातमा मिलाइन्थे । थाहा नपाएर त्यस्ता पतित नरनारीहरूका हातको भात–पानी खाएमा पतिया मिल्दथ्यो र शुद्ध हुनालाई धर्माधिकारी पण्डितद्वारा ब्राह्मणभोजन गराउनुपर्दथ्यो । पातकबाट शुद्ध हुने काम ‘पतिया’ कहिन्थ्यो । शुद्ध हुनालाई पहिले नजिकका नदीमा स्नान गरी शुद्ध भएर व्रतउपवास गरी ब्राह्मणभोजन गराउने काम पतियाको हुन्थ्यो ।

(बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’बाट)