मेरो ‘प्रेम’ केवल फेन्सिङसँग छ

मेरो ‘प्रेम’ केवल फेन्सिङसँग छ


ऐतिहासिक पदकसँगै यसरी ‘फेन्सिङ रानी’ बनिन् अनिता

  • श्रीविक्रम भण्डारी

खेलकुद कुन चरीको नाम हो उनलाई पत्तो थिएन । विद्यालयमा खेलेको सामान्य खेलकुदबाहेक खेलकुद उनको लागि कहिल्यै चासो र रुचिको विषय पनि बनेको थिएन । सानै उमेरदेखि आर्मी भनेपछि भुतुक्कै हुने उनी ठूलो भएपछि आर्मी नै बन्ने सपनामा तरङ्गित थिइन् । यही सपनालाई मूर्तरूप दिन एसएलसी पास गरेलगत्तै आर्मीमा भर्ती हुने रहर उनमा पलायो । चाहना आर्मी बन्ने थियो तर भाग्यले उनलाई सशस्त्र प्रहरी बलतर्फ डोऱ्यायो । आर्मी होस् या आर्म पुलिस, दुवैबाट राष्ट्रकै सेवा हुने भएकोले सशस्त्रको प्रवेश उनको लागि निकै उत्साहजनक बन्यो । अझ बुबा पूर्णबहादुर कार्कीको सपोर्ट र खुला सोच उनका लागि बरदान सावित भयो । यसरी परिवारकै सहयोग र समर्थनमा उनी २०७० सालमा सशस्त्र प्रहरी सेवामा भित्रिएकी थिइन् । यहीँबाट खेलकुदलाई आत्मसात गर्दै नौलो जीवनको आरम्भ गर्न पुगेकी उनी हुन्- अनिता कार्की ।

०७२ सालमा हेडक्वाटर हलचोक आएपछि अनिता भलिबल खेलतर्फ आकर्षित भइन् । यसको कारण थियो– उनको लोभलाग्दो हाइट । तर विडम्बना, सशस्त्रको टीममा कोटा नभएका कारण उनको भलिबल खेल्ने सपना अधुरै रह्यो । त्यसपछि अनिताले आफ्नो भाग्य मार्शल आर्ट्सका खेलमा अजमाउने कोशिस गरिन्, तर यहाँ पनि उनलाई सफलता हात लागेन । मार्शल आर्टसका खेलमा किक बक्सिङतर्फ रुचि राख्ने अनितालाई यो खेल पनि खेल्न जुरेन । यसपछि कुनै खेल खेल्नै नपाउने हो कि भन्ने भावले उनको मन पोलेको थियो । यस्तो हुनुमा खेलकुदप्रति उनको आकर्षण नै प्रमुख कारण थियो । किनकि अन्य साथीजस्तै अनिता पनि खेलकुदबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन चाहन्थिन् । तर उनलाई समयले मात दिइराखेको थियो, कारण अज्ञात थियो ।

०७२ साल अनिताको लागि वसन्त बहार बनेर आयो । सशस्त्रमा भित्रिएको नयाँ खेल ‘फेन्सिङ’मा पुरुषहरूको मात्र टीम थियो, महिलाको थिएन । यसबारे चाल पाएपछि थुप्रै महिलाले आफुहरू पनि फेन्सिङ खेल्न इच्छुक भएको जानकारी गराएपछि सशस्त्रमा पनि १२ जना महिला खेलाडीको टीम तयार भयो । फेन्सिङ नयाँ खेल भए पनि ओलम्पिकमा समावेस खेल भएको र बेसिकबाट सिक्न पाउने भएकै कारण आफुहरू आकर्षित भएको अनिताले बताइन् । त्यतिबेला सशस्त्रमा फेन्सिङका १२ जना पुरुष खेलाडी भएकाले उनीहरूले पालैपालो महिला खेलाडीहरूलाई प्रशिक्षण गराउथे ।

खेलकुद सामग्रीविना शुभारम्भमा प्रशिक्षण गर्दा अलि कस्तो–कस्तो लागे पनि पछि रमाइलो लाग्दै गएको अनिताले सुनाइन् । त्यतिबेलाको अवस्था जस्तोसुकै भए पनि खेलकुदमै लाग्ने र केही गर्ने चाहनाअनुरुप उनले यसलाई अवसरको रुपमा लिइन् । नयाँ खेल जुन चुनौतीपूर्ण थियो, जुनसुकै बेलामा पनि मन विचलित हुन सक्थ्यो, त्यस्तो विषम परिस्थितिमा फेन्सिङमा नै आफुलाई फोकस गर्दै अनिताले आफ्नो खेललाई निरन्तरता दिइन् । परिणामस्वरुप प्रशिक्षण गर्न थालेको ६ महिनापछि खेल सामग्रीसहित ड्रेस लगाएर खेल्न पाउँदा उनी खुशीले गद्गद् भइन् । साँचो अर्थमा भन्नुपर्दा त्यो दिन उनले आफ्नो खेलजीवन सार्थक भएको महसुस गरेकी थिइन् । त्यसपछि निकै हौसला बढेको अनिताको अनुभव छ ।

नयाँ खेल भएरै होला त्यो बेला फेन्सिङका प्रतियोगिता खासै आयोजना हुँदैनथे । त्यसैले प्रायजसो खेलाडीमा प्रतियोगिता खेलेको अनुभव थिएन । यसमा अनिता पनि अछुतो थिइनन् । उनले फेन्सिङ खेल्न थालेको दुई वर्षसम्म एउटै प्रतियोगितामा खेल्न पाइनन् । अनिताले एकैचोटी विराटनगरमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । जुन उनको लागि नितान्त नौलो थियो । साँचो अर्थमा भन्नुपर्दा उनलाई प्रतियोगितामा कसरी खेल्नुपर्छ भन्ने सामान्य जानकारी समेत थिएन । यस्तो अवस्थामा विजयभन्दा पनि अनुभव बटुल्नु नै उनको लागि विशेष महत्वको पाटो बन्यो । यसर्थ उनी सिंगलमा पदक जित्न असफल भइन् । टीममा प्रतिस्पर्धामा भने उनको टीम दोश्रो भयो । सातौँमा सशस्त्र, आर्मी, पोखरा र मध्यमाञ्चलका दुई टीम (शिवपुरी, र काँडाघारी) गरी पाँच टीमको सहभागिता रहेको थियो ।

राष्ट्रिय प्रतियोगिताको सिंगलतर्फ पदक जित्न नसक्दाको तीतो अनुभव अनिताको लागि निकै कुठाराघात बन्यो । त्यसमाथि साथीहरूको फरक हेराइ र आलोचनाले उनको खेलजीवनमा समेत प्रश्नचिह्न खडा गरिदियो । यस्तोमा हतोत्साही हुनु स्वभाविकै थियो तर उनी भइनन् । यो घटनाबाट उनले ठूलो पाठ सिकिन् । जसलाई उनले सकारात्मक रुपमा लिँदै आफ्नो खेलमा सुधार गर्नेतिर लागिन् । उनले पूरा फोकस सिंगलतर्फ नै दिएर अहोरात्र प्रशिक्षणमा होमिइन् । परिणामतः ०७५ सालमा लैनचोरमा आयोजना भएको इपी ओपन च्याम्पियनसीपमा काँश्य पदक जित्न सफल भइन् । यो अनिताले सिंगलतर्फ जितेको पहिलो पदक थियो । यसपछि निकै उत्साहित भएकी उनले अझै मेहनत गरिन् । त्यसको केही समयपश्चात नै राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर आलोचकहरूको मुख पूर्ण रूपमा बन्द गर्न उनी सफल भइन् । यो सफलतासँगै आफ्नो खेल जीवनलाई नयाँ मार्गमा डोऱ्याउन पनि उनलाई सफलता मिल्यो ।

राष्ट्रिय प्रतियोगितामा तीन जना खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेपछि उनको खुशीको सिमा थिएन । ‘अझ प्रशिक्षक लगायत साथीहरूले बधाई दिएपछि मनमा निकै आनन्द पैदा भयो, हौसला बुलन्द भयो, मैले पनि केही गर्न सक्छु जस्तो लाग्यो, त्यो दिन म साह्रै खुशी थिएँ, यथार्थमा भन्नुभन्दा मेरो वास्तविक खेल जीवन त्यसै दिनदेखि शुरु भएको थियो । मैले स्वर्ण पदक मात्र नभै आफुभित्रको आफूलाई जितेको थिएँ’- अनिताले भनिन् ।

अनिताले आफ्नो खेलजीवनमा निकै उतारचढावको सामना गरेकी छिन् । जहिले राम्रो गर्न खोज्यो त्यो बेला उनलाई निरासा हात लागेको छ । यसको ज्वलन्त उदाहरण नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हो । राखेपले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेकी अनितालाई आठौँमा पनि स्वर्णपदकको प्रमुख दावेदारको रूपमा हेरिएको थियो । उनी स्वर्णपदक जित्ने विश्वासका साथ आठौँमा उत्रिएकी थिइन् । तर उनी आफ्नो विश्वासमा खरो उत्रिन असफल भइन् । परिणामतः तेस्रो स्थानमै चित्त बुझाउनु पऱ्यो । जुन अनिताको लागि अकल्पनीय र अविश्वसनीय थियो । यो प्रदर्शनले उनको खेलजीवनमा फरक हलचल नै ल्याइदियो ।

सन् २०१९ मा इटालीको नेपोलीमा भएको युनिभर्सियाड ओलम्पिक अनिताले सहभागिता जनाएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । ओलम्पिकपछिको दोश्रो ठूलो मानिने यो प्रतियोगितामा अनिताको प्रदर्शन उत्कृष्ट रह्यो । सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरेकी अनिताले आफ्नो प्रदर्शनपछि खुशी प्रकट गर्दै अन्तर्राष्ट्रिय अनुभव बटुल्न पाउनु आफ्नो लागि उपलब्धिपूर्ण रहेको बताइन् । त्यसपछि नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा इपीतर्फ छनोट भएका ६ महिला खेलाडीमा अनिता पनि परिन् । ती ६ महिला खेलाडीमध्ये अन्तिम चारमा एक नम्बरमा छनोट हुँदै अनिताले सागमा आफ्नो स्थान सुरक्षित पारेकी थिइन् । अन्तिम चारमा छनोट भएपछि उनले इपीतर्फ सिंगल र टीममा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

१३औँ सागको वैदेशिक प्रशिक्षणको लागि फेन्सिङ टोली थाइल्याण्ड गएको थियो । प्रशिक्षणकै क्रममा थाइल्याण्डमा भएको २८औँ सियू फेन्सिङ ओपन च्याम्पियनसिपमा नेपाली टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । उक्त च्याम्पियनसीपमा इपीतर्फ महिला सिंगलमा अनिताले काश्य पदक जित्दै पहिलो पटक नेपाललाई ऐतिहासिक अन्तर्राष्ट्रिय पदक दिलाएकी थिइन् । त्यस्तै यही समुहको टीमले रजत पदक जित्न समेत सफल भएको थियो ।

‘करिव एक सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको सिंगल प्रतिस्पर्धामा मैले पदक जित्ने कल्पनासमेत गरेकी थिइनँ, तर प्रशिक्षण राम्रोे हुनुको साथै भाग्यले साथ दियो, म उत्कृष्ट प्रदर्शन गर्न सफल भएँ । नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी बन्न सफल भएँ । यो सफलतापछि मेरो खुशीको ठेगाना थिएन, यो मेरो खेल जीवनकै सर्वोकृष्ट प्रदर्शन थियो’- अनिताले भनिन् ।

थाइल्याण्डमा पदक जितेपछि १३औँ सागमा सिंगलतर्फ अनितालाई सम्भावित पदकविजेता खेलाडीको सूचीमा राखिएको थियो । दुर्भाग्य ! अनिताको पुरानै ‘रोग’ सागमा पनि दोहरियो । उनले सागमा सोचेको जस्तो प्रदर्शन गर्न सकिनन् । परिणामतः भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले मात्र सहभागिता जनाएको प्रतियोगिता समेत उनले पदकविहीन बन्नु पऱ्यो । ओलम्पिकमा समेत सहभागिता जनाएका भारतका खेलाडी सागमा रहेका कारण अनिताले रजत या काँश्यमध्ये एक पदकसम्म जित्ने लक्ष्य थियो । तर भाग्यले साथ दिएन । उनी सिंगलतर्फ पदकविहीन बनिन् । टीममा भने रजत पदक जितिन् ।

अझै केही वर्ष फेन्सिङ खेल्ने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पदक दिलाउने अनिताको लक्ष्य छ । सागमा स्वर्णपदक जित्ने लक्ष्य बनाएकी अनिता फेन्सिङको नियमित प्रशिक्षण, प्रतियोगिताको आयोजना, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकको व्यवस्था भए नेपाली खेलाडीले पनि उत्कृष्ट प्रदर्शन सक्ने दाबी गर्छिन् । त्यसको लागि सम्बन्धित निकाय राखेप र नेपाल फेन्सिङ संघले विशेष भूमिका निभाउनुपर्ने उनको सुझाव छ । साथै फेन्सिङको समग्र विकास र विस्तारको लागि विद्यालयस्तरदेखि नै यसको विकास गर्नुपर्ने अनिताको धारणा थियो ।

अनिता भन्छिन्- ‘थाइल्याण्डमा पहिलो पटक नेपाललाई फेन्सिङ खेलमार्फत ऐतिहासिक अन्तर्राष्ट्रिय पदक जिताउँदाको क्षण मेरो खेल जीवनको अविष्मणीय क्षण हो । यो प्रदर्शनपछि मेरो खेल जीवनले कोल्टे फेरेको थियो । ममा नौलो जोश जाँगर उत्पन्न हुनुको साथै आत्मविश्वास पैदा भएको थियो । विभिन्न क्षेत्रबाट माया र सदभाव पाउँदा म निकै उत्साहित र प्रोत्साहित भएको थिएँ । त्यसपछि मलाई सफलता के हो र त्यसको पछाडिको रहश्यको आत्मबोध भएको थियो ।’

त्यस्तै १३औँ सागमा सिंगलतर्फ पदक जित्न नसक्नुलाई अनिताले अपत्यारिलो र दुःखद् क्षणको संज्ञा दिएकी छिन् । अब त्यसको क्षतिपूर्ति कसरी गर्ने र भविष्यमा पनि सम्भव हुन्छ कि हुँदैन त्यसले सन्त्रासले मन पोलिरहने आँकलन उनले गरेकी छिन् ।

आफू अहिलेसम्म कसैको प्रेममा नपरेको बताउने अनिताले यसबारेमा आफुले केही नसोचेको बताइन् । ‘सबै कुरा गेममै फोकस हुन्छ, अझै चार-पाँच वर्ष यो बारेमा कुरा नगर्दा नै बेस होला । किनकि यस्तो कुरा मेरो मन-मस्तिष्कमै आउँदैन । मनले चाह्यो र मस्तिष्कले उचित निर्णय गऱ्यो भने त्यो दिन सोचौँला’- उनको निष्कर्ष छ । उमेर भैसक्यो, कसैले प्रेम प्रस्ताव त राख्यो होला नि ? भन्ने जिज्ञासामा उनले त्यस्तो प्रस्ताव अहिलेसम्म कसैले नराखेको खुलासा गरिन् । राख्यो भने के गर्ने नि भनी प्रतिप्रश्न गर्दा ‘राख्यो भन्दैमा प्रेम गर्नुपर्छ भन्ने छैन, समय आउँछ, समयमा सबै हुन्छ, म त्यसैमा विश्वास गर्छु । साँचो अर्थमा भन्नुपर्दा अहिले मेरो ‘प्रेम’ केवल फेन्सिङसँग छ’ भन्दै उनले कुराकानीको बिट मारिन् ।