फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा रहेको दाबी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा रहेको दाबी



नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु २ का दरले मूल्यवृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ भने डिजल र मट्टितेलको प्रतिलिटर रु ९९ कायम गरिएको छ । यस्तै, हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रतिलिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ भने खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्यचाहिँ यथावत नै कायम राखिएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको जानकारी दिइएको छ । अर्धमासिक रुपमा करिब रु एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने बताइएको छ ।

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा रु ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । इण्डियन आयल कर्पोरेशनले सोमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमको भनाइ छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरिएको छ ।