भागरथी भट्टकी आमालाई सुदूरपश्चिम समाज (द.को.)बाट सहयोग

भागरथी भट्टकी आमालाई सुदूरपश्चिम समाज (द.को.)बाट सहयोग



डम्बर निदाल, डडेल्धुरा

बलात्कारपछि हत्या गरिएकी बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टकी आमालाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले सहयोग गरेको छ ।

भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग जुटाउन सुदूरपश्चिम समाज दक्षिण कोरियाले निवर्तमान अध्यक्ष लालबहादुर साउदको संयोजकत्वमा आर्थिक सहयोग अभियान संचालन गरेको थियोे । उक्त अभियानबाट संकलन भएको रकम शुक्रबार सुदूरपश्चिम समाज दक्षिण कोरीयाका पूर्वअध्यक्ष नरबहादुर साँकी, धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्ट र हालका कोषाध्यक्ष डीआर पनेरुले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

अभियानबाट संकलन भएको रु. २,८३,५०० (दुई लाख त्रियासी हजार पाँच सय) नगद स्वर्गीय भागरथीकी आमालाई भेटेर हस्तान्तरण गरिएको सुदुरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष वीरबहादुर पालले जानकारी दिए । साथै यस पवित्र कार्यमा सहयोग गर्ने सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई समाजले हार्दिक आभार ब्यक्त गरेको छ ।

सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न समयमा जन्मभूमि नेपालका लागि सामाजिक कार्य तथा सेवा गर्दै आएको छ ।