प्रचण्ड समूहसँग मागियो दलको आधिकारिता, सत्ता समीकरणमा सकस !

प्रचण्ड समूहसँग मागियो दलको आधिकारिता, सत्ता समीकरणमा सकस !


  • सनत आचार्य

प्रतिनिधिसभा पुनःस्थापनासँगै सत्ता-समीकरणको खेल शुरू भएको छ । नेकपा आधिकारिक रूपले विभाजन नभएता पनि प्रचण्ड समुहले भने सबैभन्दा ठूलो र अझै सिङ्गो पार्टी कायम रहेसरह नेपाली काङ्ग्रेस र मधेसवादी दलहरूसँग सत्ता समिकरणका लागि प्रस्ताव अघिसारेको छ । समिकरणका लागि अन्य दलसंग सहमति मागेपछि प्रचण्ड समुहलाई सत्ता समिकरणमा सकस देखिएको पनि छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । तर, प्रतिनिधिसभा पुनःस्थापित भइसकेपछि नेकपा विभाजनले कानूनी मान्यता नपाएको अवस्थामा संसदीय दलको नेताको वैधानिकता र हैसियत के हुने भन्ने बारे अहिलेसम्म टुङ्गो लागिसकेको छैन ।

जनआधार र एजेण्डाविहीन कांग्रेसले पनि सत्ता समीकरणमा जानुपूर्व नेकपाको वैधानिक विभाजन खोजेको छ । नेकपा वैधानिक रूपले विभाजन भएको अवस्थामा कांग्रेसले आफ्नो राजनीतिक भविष्य सुखद देखेको छ र, सत्ता-समिकरणको लागि काङ्ग्रेस अहिले निर्णायक भूमिकामा रहेको छ, तथापि काङ्ग्रेसले बल नेकपाकै कोर्टमा भएको देखिरहेको छ ।

सत्ता–समिकरणका लागि जनता समाजवादी पार्टीको भूमिका पनि यो बेला अहम् देखिएको छ । जसपाले पनि नेकपाको आधिकारिकताका विषयमा प्रश्न उठाइएको छ । पार्टी नफुट्दासम्म प्रचण्ड समुहलाई सत्ता-साझेदारी गर्न दलहरुलाई मनाउन वा रिझाउन त्यति सजिलो देखिँदैन ।

प्रचण्ड समुहका लागि सत्ता-समिकरण त्यति सजिलो छैन । पुष ५ पछि ओलीविरुद्धको आन्दोलनलाई सशक्त बनाउन प्रचण्डले काङ्ग्रेसका सभापति शेरबहादुर लगायत रामचन्द्र पौडेललाई समेत सरकारको नेतृत्व गर्न आश्वासन दिएको सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा प्रचण्डसँग असन्तुष्ट कुनै पनि दलका नेताले समिकरणमा भाँजो नहाल्लान् भन्न सकिँदैन ।

प्रचण्डलाई दलको आधिकारिकता र हालसम्म आफ्नो समुहमा कति सांसद छन् भन्ने समेत यकिन नभएको अवस्थामा सत्ता-समिकरण गर्न अप्ठ्यारो पर्ने देखिन्छ ।

नेकपाको संसदीय दलमा प्रतिनिधिसभाका १७३ र राष्ट्रियसभाका ५० गरी २२३ सांसद छन् । दलको नेता चयनमा दुवै सदनका सांसद सहभागी भए पनि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा प्रतिनिधिसभाका सदस्यको मात्र भूमिका रहन्छ । पुस ५ पछि प्रतिनिधिसभा विघटनको विरुद्धमा दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रचण्ड, माधव नेपालसहित ९० जना सांसदको हस्ताक्षर थियो । त्यसमा तत्कालीन दुई मन्त्री घनश्याम भुसाल र योगेश भट्टराईको हस्ताक्षर भने थिएन । उनीहरू दुई जनालाई समेत जोड्दा प्रचण्ड-माधव समुहमा प्रतिनिधिसभाका १७३ मध्ये ९२ जना सांसद पुगेका थिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये प्रभु साह र गौरीशंकर चौधरी ओली समुहमा संलग्न भई मन्त्रीसमेत भइसकेका छन् । पछिल्लो चरणमा शेरबहादुर तामाङ, यज्ञ बोगटी र भैरवबहादुर सिंह पनि ओली पक्षमा लागेका छन् । यो संख्या घटाउँदा प्रचण्ड-माधव समुहमा ८७ जना सांसद् हुन्छन् । तर, सभामुखसहित जोड्दा ८८ पुग्छन् ।

बामेदव गौतमकी पत्नी तुलसा थापाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् र बामदेवसँगै उनी एकता अभियानमा छिन् । ओलीपक्षको केन्द्रीय सदस्य समेत रहेकी थापाको समर्थन कता हुन्छ भन्ने कुरा बामदेवको निर्णयमा भर पर्ने देखिन्छ । बामदेव अझै पनि पार्टी एकताको पक्षमा छन् ।

लालबाबु पण्डित माधव नेपालनिकट रहे तापनि हस्ताक्षर दुरुपयोग भएको भनेर तटस्थ रहेको संकेत यसअघि गरिसकेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा पण्डितले बहुमत प्राप्त नेकपाले काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी गरेकोमा आपत्ति जनाएका छन् ।

लालबाबु र तुलसी थापासमेत प्रचण्ड समुहको संख्या ९० पुग्छ । हाल ओली पक्षमा प्रतिनिधिसभाका ८३ सांसदको हिसाब देखिन्छ ।

राष्ट्रिय सभाका सदस्यसमेत जोड्दा संघीय संसदीय दलमा प्रचण्ड समुहका सांसदको संख्या ११२ छ । त्यस्तै ओली पक्षमा दुवै सदनका सांसदको संख्या १०८ देखिन्छ ।

सांसद तानातान गर्दा आर्थिक चलखेल समेत हुने सम्भावना देखिन्छ भने संसदभित्र देखिने यस्तो फोहरी खेलबाट पुनः आम नागरिकमा दल र सरकारप्रति नकारात्मक भावना पैदा हुने निश्चित छ ।

१७४ सिट प्रतिनिधिसभामा रहेका नेकपाको समानुपातिक सांसद् सानु शिवाको निधनपछि हाल १७३ सिट भएको हो । राष्ट्रियसभामा बामदेव गौतमबाहेक ओली पक्षमा राष्ट्रियसभा अध्यक्षसहित २५ र प्रचण्ड समुहमा उपाध्यक्षसहित २४ सांसद छन् । बामदेव प्रचण्ड समुहमा लाग्दा बराबरी हुन्छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संसदीय दलको नेता चयनमा सहभागी हुन पाउँदैनन् । यदि नेकपा एकीकृत रूपमा रहने गरी दलको नेता चयन प्रक्रिया अघि बढ्यो भने दुवै सदनका २२१ सदस्यले मतदान गर्न पाउँछन् ।

ओली समुहमा हाल केपी शर्मा ओली, ईश्वर पोख्रेल, विष्णु पौडेल, सुवास नेम्वाङ, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बास्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्मा भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ (किसन), केदार सिग्देल, नारायण मरासैनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्र बहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दल बहादुर राना, बृजेशकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयस त्रिपाठी, रविन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवबहादुर सिंह, विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा. शिवमाया तुम्वाहम्फे, सुजिता शाक्य, नविना लामा, शान्तिमाया पाख्रीन, कुमारी मेचे, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेबी पाल, मनकुमारी जिसी, बिष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम्, शान्ता चौधरी, विमला विश्वकर्मा, आशाकुमारी विश्वकर्मा, जुलीकुमारी महतो, रेखा झा, सरिताकुमारी गिरी, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, शेरबहादुर तामाङ, यज्ञ बोगटी, रामबीर मानन्धर र धनबहादुर बुढा रहेकाछन् । यसरी ओली पक्षका कुल ८३ जना सांसद देखिन्छन् ।

त्यस्तै प्रचण्ड समुहमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, कृष्णबहादुर महरा, वर्षमान पुन, घनश्याम भुषाल, योगेश भट्टराई, सुदन किराती, शिवकुमार मण्डल, देबकुमार राई, रामकुमारी चौधरी, अमलाल मोदी, सुरेशकुमार राई, चाँदतारा कुमारी, सिता पोखे्रल, सुरेशचन्द्र दास, बोधमाया यादव, मातृकाप्रसाल यादव, धर्मशिला चापागाई, इन्द्रकुमारी शर्मा, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुषाल, शशि श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अन्जना विशंखे, गंगाबहादुर तामाङ, देवप्रसाद गरुङ, देवेन्द्र पौडेल, यसोदा गुरुङ सुवेदी, हरिराज अधिकारी, अमृता थापा, चुडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोका, टेकबहादुर बस्नेत, रामेश्वर राय यादव, शक्ति बस्नेत, सत्या पहाडी, सुरेन्द्रकुमार कार्की, गिरिराजमणि पोख्रेल, बिना मगर, छक्कबहादुर लामा, राजबहादुर बुढा क्षेत्री, पार्वतकुमारी विशुन्खे, दुर्गाबहादुर रावत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पुर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तकुमार थारु, महेश्वर गहतराज, गजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, सरला यादव, पुष्पाकुमारी कर्ण, कृष्णलाल महर्जन, नरायणप्रसाद खतिवडा, कृष्णभक्त पोख्रेल, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, भेटमणि चौधरी, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपट रावल, निरादेवी जैरु, डा. दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डेय, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला, गंगा चौधरी सतगौवा, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र गोपाल बम र अग्नी प्रसाद सापकोटा गरी कुल ८८ जना देखिएका छन् ।

त्यसैगरी हालसम्म कुन समुहमा जाने भन्ने निधो नभई सकेकाहरूमा तुलसा थापा र लालबाबु पण्डित रहेका छन् भने एक जना सानु शिवाको निधन भैसकेको छ । यसरी हालसम्म नेकपाका कुल १ सय त्रिहत्तर प्रतिनिधि सभामा सांसद देखिन्छन् ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै कतिपय नेकपाका कतिपय सांसदहरूले अब गुट परिवर्तन गर्ने क्रम शुरू हुनेछ । दुवै पक्षले आफ्नोतिर सांसद तान्ने क्रम बढ्ने देखिन्छ । सांसद तानातान गर्दा आर्थिक चलखेल समेत हुने सम्भावना देखिन्छ भने संसदभित्र देखिने यस्तो फोहरी खेलबाट पुनः आम नागरिकमा दल र सरकारप्रति नकारात्मक भावना पैदा हुने निश्चित छ ।