केल्मी र भलिबल संघबीच सहकार्य सम्झौता

केल्मी र भलिबल संघबीच सहकार्य सम्झौता



खेल सामाग्री उत्पादन संस्था केल्मी र नेपाल भलिबल संघबीच सहकार्य गर्नेगरि सम्झौता भएको छ । नेपालका लागि आधिकारिक विक्रेता केल्मी नेपालका तर्फबाट कन्ट्रि डाइरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदानप्रदान गरे ।

पहिलो पटक २ वर्षका लागि भएको सम्झौताबमोजिम केल्मीले पहिलो बर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २०, २० सेट ट्रयाकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र ट्रेनिङ्ग जर्सी प्रदान गर्ने छ ।

अब नेपाली भलिबल टोलीले स्पेनिस खेल सामाग्री उत्पादक संस्था केल्मेको आधिकारीक सामाग्रीलाई आफ्नो ब्राण्ड बनाउने छ ।

सम्झौता पश्चात बोल्दै डाइरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडि बढेको भन्दै पहिलो पटक २ वर्षको लागि सम्झौता भएको बताए ।

उनले नेपालमा फुटबलबाट सुरु भएको सहयोगको सिलसिला एपिएफ क्लब हुँदै भलिबलसम्म आइपुगेको बताए । उनले फुटबलमा केल्मीले गरेको सहयोगले अरु कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागु होस् भन्ने कामना रहेको बताए ।

न्यौपानेले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने बताए । उनले नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आई पुग्न समय लागेका कारण अहिलेकै मुल्यमा त्यसलाई उजागर गर्न नसकेको र सामान आए पश्चात उक्त कुरालाई उजागर गर्ने बताए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिबल संघ र केल्मीविच सम्झौता मुल्यमा नभई अमुल्य रहेको र त्यसका लागि पत्रकार प्रकाश तिमल्सिना र ओलम्पियन दीपक बिष्टको पहलकदमीलाई धन्यवाद दिए ।

महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिबलका लागि ब्रान्ड बन्न लागेको केल्मीलाई भलिबलको माध्यमले गाँउ–गाँउसम्म प्रचारप्रसार र मार्केटिङ गर्ने बताए ।