ठूलो उथलपुथल हुने देखिन्छ : ज्योतिषी ढकाल

ठूलो उथलपुथल हुने देखिन्छ : ज्योतिषी ढकाल



उनी अर्थात् ज्योतिषी शिवदत्त ढकाल त्यसदिन अचानक घटना र विचारको कार्यालयमा देखापरेका थिए । २०७१ सालको चैत्र २२ गते मध्यान्हको समय थियो । ज्योतिषी भेटेपछि जिज्ञाशा प्रकट हुनु स्वभाविक थियो, हामीले जिज्ञाशा राख्यौँ- ‘गुरु, अब नयाँ साल २०७२ यो मुलुकका लागि कस्तो रहनेछ ?’

ज्योतिषी ढकालले विष्मय भाव झल्काउँदै भनेका थिए- ‘वर्ष २०७२ को सालभरी नै खराब छ, तर वैशाख १ देखि असार मसान्तभित्र के हुन्छ के हुन्छ, बर्बाद हुने देखिन्छ । हज्जारौँ मानिस मर्नेछन्, देश तवाह हुन्छ, नयाँ साल त खत्तमै छ ।’

उनले यसो भनेको बीस दिनपछि २०७२ वैशाख १२ गते महाभूकम्प गएपछि थाहा भयो ढकालले के भनेका रहेछन् भन्ने । यसपटक तिनै ज्योतिषी ढकालसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० यतिबेला मुलुकको स्थिति कस्तो छ ग्रह गोचरीय (ज्योतिषीय) दृष्टिमा ?
– मंगल, राहु र केतुबाहेक सबै ग्रह अब एक ठाउँमा आइपुग्दैछन् । २८ माघमा एकै ठाउँमा हुन्छन् २९ गतेको केही समयसम्म । नेपालको वृश्चिक राशी उच्च, मंगल स्वामी हुन् । सेनापति (मंगल) एक्लो भएको छ, तर एक्लो भए पनि आफ्नो ठाउँमा छ । यो प्रारम्भिक समय हो, नेपाल कता जान्छ भन्ने माघ २८ पछिका घटनाले देखाउँछ । माघ ३० गते शुक्र अस्त हुने र फागुन २ गते बृहस्पति उदय हुन्छ, त्यसपछि केही राम्रो समय आउँछ । माघ २८ गते उत्पातको दिन हो, फागुन २ गतेसम्म रहन्छ र फागुन ३ गते पनि राम्रो छैन ।

० कस्तो प्रकारका अनिष्टहरू देखा पर्न सक्छन् ?
– शुभ ग्रहहरू विषाक्त र अमृत ग्रहहरू कमजोर भएका छन् । हातहतियार र अग्नीको प्रकोप कम भए पनि अन्य प्रकारका प्रकोप सम्भव छ । मानिसमा तनाव र द्वन्द्व बढ्छ, ठूला मानिसको मानसिकता बिग्रन पुग्छ । प्राकृतिक प्रकोप पनि हुन सक्छ ।

० राजनीतिमा पनि असर पर्ने हो कि सामाजिक र प्राकृतिक जीवनमा मात्र ?
– यो अहिलेको समयमा सानो घटनाले पनि विषाक्त रूप लिन सक्छ । सानो घटना भनेर उपेक्षा गर्न नहुने समय हो । २०५२ सालमा पनि यस्तै स्थिति हुँदा हिंसात्मक रूप लिएको थियो । यस्तो समयमा जन्मने मानिस राजग्रही पनि हुन्छन् र बिनासक पनि हुन सक्छन् । यो समय सामान्य होइन, राम्रो बाटो लिन सक्दा राम्रो परिणाम पनि आउन सक्थ्यो, तर राम्रोभन्दा नराम्रो हुने सम्भावना रहन्छ । रचनात्मक काममा नलाग्ने हो भने स्थिति खराब हुन्छ ।

० ठूलै उथलपुथल ? कहिले, कसरी र कस्तो प्रकारको उथलपुथल होला ?
– शनिश्चर न्यायको ग्रह हो, खराब घटना भए पनि, हानी नोक्सानी भए पनि राम्रो हुनेतिर जान्छ । वृहस्पति अगाडि र शनी पछाडि भएकोले अन्ततः उथलपुथलको परिणाम राम्रो हुनेछ । तर उथलपुथलचाहिँ हुनेछ ।

० प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रहस्थिति कस्तो देख्नुहुन्छ ?
– केपी ओलीको धन स्थानमा शनि भएको र वृहस्पतिले देखेको हुनाले प्रचुर धनवान हुने योग हो । खानपिन र रहनसहनका कारण उनको स्वास्थ्य कमजोर हुने हो । २०७७ को वैशाखबाट नै दिन खराब भएको हो । साढे सातको शनि दशामै उनी प्रधानमन्त्री भएका हुन्, तर प्रधानमन्त्री भए पनि अशान्ति, बेचैनी बढाउँछ । व्यक्तिगत रूपमा उनको समय अनुकुल होइन, अहिले ग्रहबल कमजोर छ ।

० कतिपय मानिस मुलुकमा राजसंस्था पुनर्वहाली हुने आशा गर्दैछन्, के त्यस्तो सम्भावना होला ?
– राजाका निम्ति समय अनुकुल नै हो । वृहस्पति उदाएको पन्ध्र दिनपछि (फागुन तेस्रो सातापछि) राजाको स्थिति के हुने भन्ने स्पष्ट हुनेछ ।

० अबको परिवर्तनपछि देशको गति र दिशा सकारात्मक होला कि नकारात्मक नै ?
– शुक्र यो सालभरी नै अस्त हो । यो साल राम्रो होइन, नयाँ साल (२०७८) पछि स्थिति क्रमशः अनुकुल हुँदै जानेछ । राज्यकारक ग्रह शुक्र वैशाखमा उदाएपछि देशले सुधारात्मक बाटो लिने सम्भावना छ ।

० देशको नेतृत्व (कार्यकारी प्रमुख) कस्तो प्रकारको होलान् ?
– नेपालको वृश्चिक राशी हो । यो बलवान् र पराक्रमी राशी भएकोले देशको नेतृत्व जसले लिए पनि देशै समाप्त हुने भन्ने हुँदैन । विद्वान् र सेवक स्वभावका न्यायिक मानिस नै देशको नेतृत्वमा आउने छन् ।

० सेनाको शासन शुरु हुन सक्छ पनि भनिँदैछ, के त्यस्तो अवस्था आउने देख्नुहुन्छ ?
– मंगल अहिले एक्लिएको छ । सेनाको भूमिका आगामी केही समयसम्म कमजोर छ । जेठ असारपछि सेनाको भूमिका बलियो भएर जानेछ । कुनै पनि ग्रहको साथ नपाएको हुँदा अहिले सेनाले एक्लिएको महसुस गरेको हुन्छ । दुविधा र निराशाको जस्तो, अलिक अनिर्णयको जस्तो अवस्थाबाट सेनाले आगामी केही समय गुज्रनुपर्ने हुन्छ ।