नेपाली काङ्ग्रेसका केही ‘भऱ्याङ’हरू

नेपाली काङ्ग्रेसका केही ‘भऱ्याङ’हरू


(२० वर्षअघिको घटना र विचार)
  • हरि मञ्जुश्री

कसैको नियति नै भऱ्याङ बन्ने हुन्छ या कसैलाई कसैले भऱ्याङ बनाउँछ, यसको उत्तर खोज्ने हो भने लामो लेख तयार होला । मेरो उद्देश्य यसको उत्तर खोज्ने होइन । म अहिले त्यस्ता केही व्यक्तिहरूको नाम सम्झने क्रममा छु जो प्रजातन्त्रसेनानी हुन्, नेपाली काङ्ग्रेसका इमानदार सिपाही हुन्, नेपाली काङ्ग्रेसप्रति जसको अगाध आस्था र विश्वास छ, नेपाली काङ्ग्रेसको आह्वान स्वीकारेर जसले शिरमा कात्रो बाँधेर आन्दोलनमा होमिएका थिए तर जो अहिले नेपाली काङ्ग्रेसको नेतृत्वपङ्क्तिको भऱ्याङका केही खुड्किलाहरू बनेका छन् । खुड्किला बनेका छन् भन्नु भन्दा पनि उनीहरूलाई खुड्किलाको रूपमा प्रयोग गरिएको छ भन्नु वेश होला ।

अघिल्लो अङ्कमा मैले पद र सम्मानको प्रसङ्ग कोट्याएको थिएँ । काङ्ग्रेसका पुराना व्यक्तित्वलाई पद दिनु आवश्यक छैन तर सम्मानचाहिँ दिनुपर्छ भन्ने आग्रह त्यसमा मैले गरेको थिएँ । धेरै साथीहरूले मेरो विचारको स्वागत गरी मलाई प्रतिक्रियाहरू पनि दिनुभयो । वास्तवमा नेपाली काङ्ग्रेसलाई जन–जनमा भिजाउनको निम्ति घोषणापत्र र नीति निर्माण मात्र पर्याप्त हुँदैन, त्यसलाई कार्यरूपमा उतार्नु पनि पर्छ । पुरानालाई मात्रै पद दिइरहने हो भने नयाँमा जोश उत्पन्न नहुने र नयाँलाई मात्रै मौका दिइरहने हो भने पुरानामा जाँगर उत्पन्न नहुने भएकोले नेपाली काङ्ग्रेसले पुरानालाई सम्मान दिई उनीहरूबाट सल्लाह लिई नयाँबाट कार्यक्रम अघि बढाउनुपर्छ भन्ने धारणा मैले अघि सारेको हुँ ।

वर्तमानमा पुराना प्रजातन्त्रसेनानीहरू काङ्ग्रेसलाई सत्तामा पुऱ्याउने भऱ्याङका रूपमा मात्रै प्रयोग भएजस्तो देखिएको छ । खोलो तऱ्यो लौरो बिर्स्यो भन्ने उखान चरितार्थ हुँदैछ नेपाली काङ्ग्रेसभित्र । असम्मान, उपेक्षा र तिरस्कारका शिकार बनेका थुप्रै व्यक्तित्वहरू नेपाली काङ्ग्रेसभित्र छन् । कोही अझै जीवित छन्, कसैको निधन भइसकेको छ । जसको निधन भइसकेको छ उनीहरू पनि सम्मानका हकदार हुन् । जो जीवित छन् उनीहरूलाई पनि भऱ्याङका खुड्किलाको रूपमा मात्रै हेरिनुहुँदैन ।

रामप्रसाद राई, नारदमुनि थुलुङ, दिवानसिंह राई, मुक्तिप्रसाद चापागाईं, सेमन्तराज अधिकारी आदि नाउँहरू नेपाली काङ्ग्रेसले कहिल्यै बिर्सन मिल्दैन । नेपाली काङ्ग्रेसको आह्वानमा भएको राणाशासनविरोधी आन्दोलनमा यिनीहरूको योगदान के–कति रह्यो, त्यसको खोजतलास हुनुपर्छ र इतिहासमा यिनीहरूको नाउँ लेखिनुपर्छ । भोजपुर जिल्लाका यी प्रजातन्त्रसेनानीहरू नेपाली काङ्ग्रेसको भऱ्याङका खुड्किला हुनको निम्ति प्रजातन्त्रवादी आन्दोलनमा होमिएका थिएनन् । दिवानसिंह राईले त्यत्तिको लागि शहीद हुनुपरेको होइन । रामप्रसाद राई त्यत्तिकै बन्दुक समातेर विद्रोहमा उत्रेका थिएनन् । २००६/०७ सालको ब्राह्मण समाजमा क्रान्तिकारीको रूपमा त्यत्तिकै देखापरेका थिएनन् मुक्तिप्रसाद चापागाईं र सेमन्तराज अधिकारी । नारदमुनि थुलुङको योगदान पनि कम छैन । चुनावको लागि हानाथाप गरिरहेका नेता तथा कार्यकर्ताहरूले आफ्नो हृदयमा उनीहरूको तस्वीर राखिदिए पार्टीप्रति इमानदारी र जनताप्रति जिम्मेदारी बढेर नै जान्थ्यो, घटेर जाँदैनथ्यो ।

काभ्रे जिल्लाका हर्षलाल बादे श्रेष्ठको नाउँ लिऔँ या धनदास बादे श्रेष्ठको, अथवा सप्तलाल ताम्राकारको नै नाउँ लिऔँ, हाम्रै आँखाअगाडि प्रजातन्त्रसेनानीहरू छन् भन्ने कुराले हामीमा गौरवको अनुभूति हुनुपर्ने हो । २००७ सालको क्रान्तिका निम्ति कलकत्ताबाट हतियार ल्याई काठमाडौं भित्र्याउने काममा हर्षलाल र धनदासको कति योगदान थियो, हामीले इतिहास कोट्याउने कि नकोट्याउने ? २००७ सालपछि अनवरत रूपमा काभ्रे काङ्ग्रेसको संगठन मजबुत बनाउन लागिपरेका सप्तलाल ताम्राकारलाई हामीले सम्झने कि नसम्झने ?

खोटाङ जिल्लालाई हेरौँ । बलबहादुर रुम्दालीलाई कुनै पनि प्रजातन्त्रवादीले बिर्सन मिल्दैन । तुलसीप्रसाद रेग्मी र डिल्लीकुमार राईले नेपाली काङ्ग्रेसको निम्ति जीवनभर कति काम गरे, त्यसको पनि लेखाजोखा हुनुपर्छ । गोरखा परिषद्बाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका लक्ष्मीप्रसाद रेग्मी होऊन् अथवा हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका वृषबहादुर राई होऊन्, अथवा निधन भइसकेका कम्पसेर राई नै होऊन्, उनीहरूको योगदानको अवमूल्यन हुनु या मूल्याङ्कन नहुनु अत्यन्त दुःखदायी हुन जान्छ ।

कालिमाटीमा तमाखु पसल राखेका जनकमान नकर्मीको नाउँ अचेलका कैयौँ काङ्ग्रेसी कार्यकर्ताहरूले सुनेका छैनन् । कलकत्ताबाट काठमाडौं ल्याइएको हतियार उनैको घरमा राखिएको थियो र उनकी श्रीमतीलाई समेत राणाका सिपाहीहरूले पक्रिएका थिए भन्ने कुराको जानकारी ज्यादै कम काङ्ग्रेसीहरूलाई थाहा होला । विष्णु वैद्यको नाउँ काठमाडौं काङ्ग्रेसकै मान्छेलाई थाहा नहुन सक्छ । कृष्णप्रसाद चालिसे पनि रविन्द्रलाल श्रेष्ठको सेपमा परेका छन् । यस्ता नामहरू काठमाडौं जिल्लाभित्रैबाट पनि थुप्रै दिन सकिन्छ ।

हालसालैको एक दिन एकजना काङ्ग्रेसी मित्रसँग मैले दिलमान सिंह र पूर्ण खवासको नाउँ लिएँ । उनले अचम्म माने । किनभने प्रजातन्त्रको लागि भएको लडाइँमा दिलमान सिंहको योगदानको विषय उनलाई थाहै रहेनछ । नेपाली काङ्ग्रेसभित्रको स्थिति अहिले यस्तो छ । सम्झँदा पनि दिक्क लाग्छ ।

एकपटक त्याग–तपस्या गरेका व्यक्तिहरूलाई आजीवन पद दिनुपर्छ भन्ने होइन । कुरा यति मात्र हो, त्यागी व्यक्तित्वलाई केवल सत्तामा चढ्ने भऱ्याङका खुड्किला मात्रै नबनाई उनीहरूको सम्मान पनि गर्न जान्नुपर्छ । त्यागको बदलामा उम्मेदवारीको या पदको मात्रै दाबी गर्नु जति गलत हो त्यति नै गलत त्यागको मूल्याङ्कन नगर्नु पनि हो । पार्टी नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र कार्यकर्तापङ्क्ति पनि यसतर्फ संवेदनशील हुनुपर्छ भन्ने मलाई लाग्छ ।

पाँचथरका देवान दोर्जे थिङ, मच्छेन्द्रबहादुर केरुङ, नारायण आङ्देम्बे, देवीप्रसाद पाठक, चितानन्द खतिवडा, नित्यराज रेग्मी, भूमिनन्द मैनाली, लक्ष्मी खत्री, नरप्रसाद अधिकारी, शिवकुमार न्यौपाने, बलराम खरेल, ताप्लेजुङका श्रीप्रसाद पराजुली, प्रेमप्रसाद पराजुली, पूर्णकुमार श्रेष्ठ, इलामका केबी भट्टराई, श्यामविक्रम पराजुली, चतुरमान राई, धनकुटाका डबल सेन आदिको नाउँ नेपाली काङ्ग्रेसले ससम्मान लिन सक्नुपर्छ । नेपाली काङ्ग्रेसलाई आजको यो स्थितिमा ल्याइपुऱ्याउन यिनीहरूले गरेको साहसिक कार्यलाई कम आँकलन गर्न कदापि मिल्दैन । पूर्णानन्द शर्मा, तेजप्रकाश रिजाल, गणेशप्रसाद रिजाल आदिलाई पनि ओझेलमा पार्नु अनुपयुक्त छ ।

आमनिर्वाचन वैशाखमा हुँदैछ र नेपाली काङ्ग्रेसले पूर्णबहुमत ल्याउने सोच बनाएको छ । यो सोच तब मात्र पूरा हुन्छ जब पार्टीका निम्ति तपस्या गर्नेहरूको चित्त प्रफुल्ल बनेर उनीहरू पार्टीका उम्मेदवारहरूलाई सघाउँछन् । यस्तो वातावरणको सिर्जना गराउन त्यागी तपस्वीहरूलाई पार्टीले सम्मान दिन सक्नुपर्छ । सम्मान प्रकट गर्ने पनि अनेक तरिकाहरू हुन्छन् । कोही सल्लाह मागिदिँदा खुशी हुन्छन्, कोही इतिहासमा नाम उल्लेख गरिदिँदा, कोही भाषण गर्न बोलाउँदा नै खुशी हुन्छन् भने कोही सम्मानपत्र दिँदा, कोही प्रशंसा गर्दा खुशी हुन्छन्, कोही अभिनन्दन गर्दा । आखिर त्यसरी सम्मान गर्दा पार्टीलाई जब नाफा नै हुन्छ भने घाटा किन सहिरहने त्यति नगरेर ?

(घटना र विचार साप्ताहिक, २०५५ फागुन ५ गते बुधबार)