काङ्ग्रेसमा ब्यापक रुपान्तरण, परिवर्तन र पुस्तान्तरणको जरुरी छ

काङ्ग्रेसमा ब्यापक रुपान्तरण, परिवर्तन र पुस्तान्तरणको जरुरी छ


  • मेदनी सिटौला (युवा नेता, नेपाली काङ्ग्रेस)

ने.वि.सङ्घ नेपाल ल क्याम्पसका इकाई अध्यक्ष, ने.वि. सङ्घका पूर्व केन्द्रिय उपाध्यक्ष हुँदै नेपाल तरुण दलको केन्द्रिय सदस्य तथा विधान मस्यौदा समितिका संयोजकको जिम्मेवारी कुशलतापूर्वक बहन गरिसकेका नेपाली काङ्ग्रेस महासमिति सदस्य मेदनी सिटौलासँग वर्तमान राजनीतिक परिवेशमा केन्द्रित रही गरिएको कुराकानी :

० तपाईं कानुनको विद्यार्थीसमेत रहेको हैसियतले संसद् विघटनलगायत मुलुकको वर्तमान राजनीतिक अवस्थाका बारेमा कस्तो धारणा राख्नुहुन्छ ?
– संसद् विघटनको कदम सरासर असंवैधानिक र अलोकतान्त्रिक छ । प्रधानमन्त्रीको काममा संसद् कहाँनेर बाधक बन्यो ? दलभित्रको किचलो संविधानले सुन्दैन र देख्दैन पनि । यो संविधान असल मनसायले कार्यान्वयन हुन्छ भन्ने जनअपेक्षाको विपरीत जनताले स्थायित्व र समृद्धिको जगमा दिएको मतमाथि पनि कठोर प्रहारको रूपमा मैले लिएको छु । त्यसैले वर्तमान राजनीतिक स्थिति अन्योल र अनिश्चयको भूमरीमा फस्ने दिशातर्फ उन्मुख देखिन्छ ।

० निर्वाचन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– एउटा प्रजातन्त्रवादी र नेपाली काङ्ग्रेसको कार्यकर्ताका हैसियतले निर्वाचनलाई त स्वागत नै गर्नुपर्ने हो, तर यो सरकारले निर्वाचन गर्न चुनावको घोषणा गरेकै होइन भन्ने लाग्छ । सरकारले आफ्नो असफलता ढाकछोप गर्न विषयान्तर मात्र गरेको हो ।

० सरकारले चुनाव गर्न प्रतिबद्ध रहेको भन्दाभन्दै यति साह्रो अविश्वास किन ?
– यो सरकारलाई चुनाव होइन काम गर्ने कुरामा प्रमुख प्रतिपक्षी दल र यो संसद् कहाँनेर बाधक थियो र ? ओम्नी ग्रुपमार्फत भ्रष्टाचार गरेकै थिए । यती समुहमार्फत ठुल्ठुला परियोजनाहरूमा अनियमितता भएको कुरालाई पनि जनताले सहेकै थिए । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्तहरूलाई दण्डित गर्नुको साटो पुरस्कृत गर्दा पनि मानिदिएकै थिए । वाइड बडी, न्यारो बडी, बुढीगण्डकी लगायत अनेकौँ काण्डहरू गर्ने छुट यो सरकारले पाएकै थियो । आफ्ना आसेपासेहरूलाई मुलुकका राम्रा–राम्रा ठाउँमा भर्तीकेन्द्रको रूपमा परिणत गर्न पनि कसैले रोकेकै थिएन । त्यसैले हामी भन्छौँ यो चुनाव केका लागि ? कुन प्रयोजनका लागि ? कुन उद्देश्य पूर्ति गर्नका लागि ? यसमा हामीलाई गम्भीर आशंका पैदा भएकै हो । प्रधानमन्त्री ओली र कम्युनिष्टहरू चुनावका नाममा कतै यो प्रणाली र संविधान नष्ट गरी निरंकुशता लाद्नेतर्फ उन्मुख त होइनन् ? आम जनमानसमा यो सन्देह उब्जिएको छ ।

० तपाईंको पार्टी नेपाली काङ्ग्रेस पनि निर्वाचन कि संसद पुनःसथापना भन्नेमा विभाजित देखिन्छ नि ?
– नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकाले विभिन्न मतहरू प्रकट हुनु स्वभाविक हो । तर सुन्दा लोकप्रिय लाग्ने निर्वाचनका नाममा यो जनताको ठुलो त्याग तपस्या बलिदान र लामो यत्नपछि जनता आफैले आफ्ना लागि लेखेको यो संविधान प्रणाली र विधिको शासनको अन्त्य रोक्ने कुरा निर्वाचन भन्दा हाम्रो प्रमुख कर्तब्य र दायित्व हो । त्यसैले यो असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश कदम सच्याउन संसद् पुनसर््थापना एक मात्र काङ्ग्रेसको मूल मुद्धा हो । यसमा काङ्ग्रेसभित्र कुनै फरक मत छैन र रहँदैन पनि ।

० फागुनमा हुने भनिएको नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन हुने सभावना कत्तिको देख्नुहुन्छ ?
– फागुनमा महाधिवेशन हुने भन्दा नहुने यसकारण निश्चित छ कि महाधिवेशन सम्पन्न गर्नका लागि पहिलो काम कृयाशील सदस्यता वितरण छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्य नै भइनसकेकोले महाधिवेशनको मिति पर सर्ने निश्चित छ । नेतृत्वलाई मेरो आग्रह छ कि समयमै महाधिवेशन सम्पन्न गर्ने कुरामा नेतृत्व गम्भीर बनोस् र संविधानले दिएको समय–सीमाभित्र महाधिवेशन सम्पन्न होस् ।

० अबको महाधिवेशनमा केही तात्विक अन्तर आउने सम्भावना देख्नुभएको छ ?
– मुलुकको वर्तमान राजनीतिक स्थिति र काङ्ग्रेसको वर्तमान अवस्थाले काङ्ग्रेसभित्र तात्विक मात्र होइन ब्यापक परिवर्तन, रुपान्तरण र पुस्तान्तरणको जरुरी छ । यो महाधिवेशन विगतको ब्यापक समीक्षा गर्दै समयसापेक्ष र युगसुहाउँदो नेतृत्व खोज्न सक्षम हुनुपर्छ, नत्र काङ्ग्रेस असान्दर्भिक भएर जाने खतरा छ ।

० महाधिवेशनमा तपाईंको पनि केही आकाङ्क्षा छ कि ?
– आकाङ्क्षाविहीन मनुष्य त कमै होलान् । करिव दुई दर्जन मेरा सहकर्मी समकक्षी साथीहरू पदाधिकारीकै दाबी गर्ने स्थितिमा पुगी सकेपछि तपाईं नै भन्नुस् अब मैले आकाङ्क्षा राख्ने कि नराख्ने ?

प्रस्तुति : श्यामकृष्ण लम्साल, दमक (झापा)