‘नेपाल बन्द’ सफल पार्न एकाबिहानै ट्रकमा आगजनी

‘नेपाल बन्द’ सफल पार्न एकाबिहानै ट्रकमा आगजनी



कपिलवस्तु प्रतिनिधि

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा बिहानैबाट परेको छ । केन्द्रिय सचिवालय सदस्य कञ्चन, ब्यूरो सदस्य विवेक र विशाललाई गिरफ्तार गरिएकोप्रति विरोध जनाउँदै तुरुन्त रिहाइको मागका साथ प्रतिबन्धित नेकपाले ‘नेपाल बन्द’ आह्वान गरेको हो । ३, ५ र ७ माघमा देशब्यापी प्रदर्शन गरी हिजो मसाल जुलुश गरेको सो पार्टीले आज बन्द आह्वान गरेपछि देशभर यसको कतै आंशिक र कतै पूर्ण प्रभाव परेको पाइएको छ ।

शनिबार बिहानैबाट कपिलवस्तुमा बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत पनि त्यति छैन । फाट्टफुट्ट् मात्र मोटरसाइकल चलेका छन् । जिल्लाका चार नम्बर, तौलिहवा, कृष्णनग, चन्द्रौटा, गोरुसिंगे, शिवगढी लगयतका क्षेत्रमा बन्द गर्न विप्लवका नेता कार्यकर्ता लुकेर बसेका बताइएको छ ।

बन्द गर्न बसेका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा बिहानै एक ट्रकमाथि आगजनी गरेका छन् । आगजनीबाट ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यसपछि कपिलवस्तुमा यसको प्रभाव बढी देखिएको छ ।

काठमाडौं उपत्यका लगायतमा यसको प्रभाव त्यति नपरेको बुझिए पनि बाहिर भने प्रभाव परेको खबर छ । सुरक्षाको लागि विभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन भएका छन् । बन्द कानुनविपरीत भएकाले जसरी पनि सुरक्षा प्रदान गरिने भन्दै प्रहरीले निर्वाध रुपमा पसल, ब्यवसाय, शैक्षिक संस्था, उद्योगधन्दा खोल्न आग्रह गरेको छ ।