प्रचण्ड-अभिव्यक्तिले बढाएको चिन्ता !

प्रचण्ड-अभिव्यक्तिले बढाएको चिन्ता !



बिग्रहको भुङ्ग्रोमा परेको दल नेकपाको ‘दाहाल-नेपाल समूह’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पछिल्ला दिनमा दिइएका सार्वजनिक अभिव्यक्तिले देशमा प्रजातन्त्र, शान्ति र राजनीतिक स्थायित्व चाहने तप्कालाई गम्भीर चिन्तामा पारेको छ । शान्ति खल्बल्याउने, अस्थिरता र अराजकता बढाएर मुलुकलाई पुनः अर्को द्वन्द्वमा धकेल्ननिम्ति उत्प्रेरित गर्ने अभीष्टमिश्रित अभिव्यक्ति दाहालले निर्धक्क दिन थालेबाट शान्तिकामी जनतामा छटपटि बढाएको हो ।

जगजाहेर नै छ कि पार्टी विभाजनको पीडामा रन्थनिएका नेकपाका दुवै समूहका शीर्ष भनिएका नेताहरूको बोली यतिबेला एकर्काविरुद्ध गोलीसमान प्रहार हुँदै आएको छ । दुवै खेमाका शीर्ष दुई पात्र केपी शर्मा ओली र पुष्पकमल दाहालको अभिव्यक्तिप्रति सिङ्गै देशको ध्यान खिचिएको छ ।

केपी ओली त ‘स्वादिलो’ भाषणका निम्ति कहलिएकै पात्र पनि हुन् । विभिन्न तथ्य-तर्कमा तुक्का मिसाएर आफ्ना कुरा पस्किन समकालिक नेपाली नेतामा केपी अग्रस्थानमा रहेका छन् भन्दा अतिरञ्जना नठहरिएला । कतिपय सन्दर्भमा उनका बोली अलिक सस्तो तहमा उत्रिएको प्रतीत हुन्छ र, आलोचकहरूले उछित्तो काड्ने प्रयत्न गरेका पनि पाइन्छन् । तथापि, ओलीको भाषणका कारण देश र जनताको अहित नै पुगेको उदाहरणचाहिँ अहिलेसम्म फेला परेको छैन । बरु ओलीको बोली, शब्द चयन र मौलिक शैलीको प्रस्तुतिले श्रोतालाई सूचना वा ज्ञानका अलावा मनोरञ्जन नै प्रदान गर्दछ । अपितु, प्रधानमन्त्रीको ओहदामा रहेका व्यक्तिले जहाँ-जतिबेला मौका मिल्यो हास्यरस घोलेर अभिव्यक्ति दिन पदीय मर्यादाले सुहाउने कुराचाहिँ होइन । विकास-निर्माणका विषय हुन् या विपक्षी-विरोधिप्रति लक्षित सन्दर्भ नै किन नहुन्- अभिव्यक्तिमा ओहदाअनुसारको मर्यादा कायम भएकै शोभनीय हुन्छ । यद्यपि, विरोधिलाई बिझाउने बोलीका बाबजुद केपी ओलीका भाषण देश र जनताको पक्षमै रहने गरेकाले थप टिप्पणी गरिरहनु आवश्यक छैन ।

तर, देशका प्रधानमन्त्री एवम् सत्तारुढ दलका अध्यक्ष रहेका पात्रलाई समेत कुनै जनावरको कोटीमा तुलना गर्दै मान्छे नै गन्न छोडेको सन्देश प्रष्टै प्रवाहित हुने ढङ्गबाट सार्वजनिक अभिव्यक्ति दिन थालेका दाहाल-नेपाल खेमाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका बोली देशकै लागि घातक सिद्ध हुने शैलीमा प्रकट हुन थालेका छन्, जो नेपालीजनका लागि गम्भीर चिन्ताको विषय हो ।

‘आन्दोलनको आँधी-बेहरी ल्याउने’ बाट शुरु हुँदै ‘मेरो टाउको चिलाएजस्तो छ, लाठी खान तयार छु, विद्यार्थी र युवाहरू पनि अब सारा शक्ति लगाएर उत्रनुहोस्’ देखि ‘साकाहारी चालले भएन, अब मांसाहारी आन्दोलनकै खाँचो पर्‍यो’ भन्ने तहसम्म दाहाल उत्रिएका छन् । ‘संसद् विघटनको विषयमा जनताको अदालतले फैसला सुनाउनुपर्ने बेला आएको छ, जनअदालतले फैसला दिएपछि मात्र सर्वोच्च अदालत र निर्वाचन आयोगललाई आफ्नो फैसला सुनाउन सजिलो पर्ला !’ यस्ता अभिव्यक्ति हिंसात्मक विद्रोहको समयमा प्रयोग गरिएभन्दा कमका होइनन्, प्रकारान्तरले बरु झन् चर्का र रहश्यमयी छन् । आन्दोलनको आँधी-बेहरीले नपुगे आमहडताल गरेर मुलुक अस्तव्यस्त तुल्याउनसमेत दाहालले खुल्ला आह्वान गरेका छन् । यस्ता विक्षिप्त बोलीले दाहाल नै यो देशको अस्थिरताका निम्ति प्रमुख जिम्मेवार पात्र त होइनन् भन्ने आशङ्कालाई थप मुखरित तुल्याइदिएको छ ।

देशमा पछिल्लो साढे तीन दशक अवधिबीच अनेक आकार-प्रकारका आन्दोलनहरू भए । प्रचण्डकै अगुवाइमा दशवर्षे कथित ‘जनयुद्ध’ भयो । सत्र हजार मानिस मारिए, हजारौँको अङ्गभङ्ग गरियो, लाखौँ विस्थापित तुल्याइए, सामाजिक विद्वेष फैलाइयो, जातियताको आगो झोसेर नेपाली-नेपालीबीच काटमारको अवस्था निम्त्याइयो, देशलाई विखण्डनको भासमा जाकियो । यी सबै दुष्कार्य जनतालाई शान्ति, स्थिरता, विकास र समृद्धि प्रदान गर्ने नाममै गरिए । तर आजसम्म आइपुग्दा देशमा विकराल परिस्थिति निम्तिएको छ । समृद्धि र सुखको सपना नेपालीका आँखाबाट त्यसै-त्यसै बिलिन हुँदैछन् ।

यस्तोमा पाँच हजार मानिसको हत्याको जिम्मेवारी लिने कबुल गरेका पात्र पुनः आन्दोलनको आँधी-बेहरी ल्याउने, मांसाहारी चाल चल्ने जस्ता खुङ्खार अभिव्यक्ति दिएर कार्यकर्ता उक्साउँदै छन् ! हडताल र बन्दको बाटो अँगालेर देशका संरचना र जनताको मनमा डढेलो लगाउने युक्ति सुझाउँदै छन् !! अब पनि अराजकता, हिंसा र ध्वंशकै कुरा गरेर नेपाल कहाँ पुग्ला ? कतिपय केपीहरूका प्रति प्रचण्डहरूको हृदयमा रिस, डाह, इर्ष्या र बदलाको आगो बल्न सक्छ, तर कसैप्रति कसैको मनमा उठेको प्रतिशोधको ज्वालामा देश र जनता नै बली चढ्नुपर्ने ? यो त मनासिव नठहरिएला कि पुष्पकमल दाहालज्यू ?