१४ फाल्गुन २०७७, शुक्रबार

अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेमको प्रशारण शुरु हुँदै

  प्रकाशित मिति
२ माघ २०७७, शुक्रबार ०२:३७


गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आज (माघ २, जनवरी १५ शुक्रबार)देखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिङ रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे हुनेछ ।

विश्वभरका सैयौँ प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा अयोजक पक्षले गरेको छ । कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहेका छन् । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् । रोचक त के छ भने जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै छन् ।

एमएनटीभी अष्ट्रेलियाका ब्रान्ड एवं मार्केटिङ म्यानेजर रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिए । निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकहरुको प्रतिक्रियालाई ३० प्रतिशतका आधारमा निर्णय गरिने झाले बताए ।

निर्णायकमध्ये एक वरिष्ठ गायक दिप श्रेष्ठले आफ्नै मौलिकताका कारण हल अफ फेम दर्शकहरुको मन जित्न सफल हुने भन्दै देश बाहिर रहेका प्रतिभाहरुले कार्यक्रमबाट विशेष प्रोत्साहन प्राप्त गर्ने जानकारी दिए । उनले भने, ‘हुन तः संगीतको सिमाना हुँदैन भनिन्छ, नेपालभन्दा बाहिर रहेका नेपालीहरुको प्रतिभा सम्मानमा यो एउटा कोशेढुंगा बन्नेछ ।’

बताइएअनुसार हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन । विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन् ।

कार्यक्रमको निर्माणमा विश्वस्तरको गायन प्रतिस्पर्धाहरुमा आफ्नो कला देखाइसकेका निर्देशक लक्ष्मण पौडेलले दर्शकहरुलाई नयाँ स्वाद दिन सफल हुने विश्वास व्यक्त गरेका छन् । हल अफ फेमको टाईटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण, अन्तर्राष्ट्रिय प्रवर्द्धन लगायत समावेश छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । २४ घण्टाको अवधिमा भारतमा

सिबी अधिकारी, काठमाडौँं नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुऱ्याउने थोरै

भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका