भारत भ्रमणकै क्रममा प्रचण्डले बुझे आफ्नो औकात

भारत भ्रमणकै क्रममा प्रचण्डले बुझे आफ्नो औकात



‘बिरामी पत्नीको उपचार’ शीर्षकमा भारत पुगेर फर्किएका प्रचण्ड राजनीतिक परिणाम आफ्नो पक्षमा पार्न निकै सक्रिय भएका छन् । संसद् विघटनविरुद्ध भारत र युरोपेली मुलुकले नबोलिदिएकोमा सार्वजनिक चिन्ता प्रकट गर्दै प्रचण्ड गत साता भारत पुगेका थिए । मुम्बई र दिल्लीमा रहँदा प्रचण्डले त्यहाँका प्रभावशाली नेताहरूलाई भेट्ने प्रयास गरेको, तर उनलाई भेट्न कुनै पनि भारतीय नेताले नचाहेको बुझिएको छ ।

नेपाल मामिलामा चासो राख्ने भगतसिंह कोशियारीले समेत प्रचण्डसँग भेट्ने प्रस्तावलाई अस्विकार गरेका थिए । मुम्बईबाट काठमाडौं फर्किने क्रममा प्रचण्ड गत शुक्रबार (पुष २४ गते) दिल्ली आएर होटल आइटीसी मौर्यमा बसेका थिए । त्यहाँ प्रचण्डले गुप्तचरका केही उच्चाधिकारीहरूसँग भेट गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

धौलाकुवास्थित उक्त होटलमा गुप्तचर निकायको तेस्रो र दोस्रो तहका अधिकारीहरूले प्रचण्डलाई भेटेका थिए । प्रचण्डले भेटका क्रममा आफू भारतकै मित्रका रूपमा रहेर काम गर्न इच्छुक रहेको जानकारी गराउँदै केपी ओलीलाई विश्वास गर्न नसकिने स्पष्ट गरेको बताइन्छ । प्रचण्डले संसद् विघटनलाई भारतले सकारात्मक रूपमा लिन नहुने सुझाव पनि गुप्तचर अधिकारीहरूलाई दिएको मोर्य होटलसम्बद्ध सुत्रले जनाएको छ ।

प्रचण्डको भारत भ्रमण निजी भयो । तर निजी भ्रमणलाई फलदायी बनाउने प्रयास उनले गरेका थिए । आफूप्रति भारतीय उदासिनता देखेर प्रचण्ड आफैं पनि उदासिन बनेको बुझिएको छ । यस घटनापछि प्रचण्डले आफ्नो औकात बुझेको टिप्पणी दिल्लीस्थित नेपालीहरूमाझ भइरहेको छ ।