सहकार्य गर्दै चुनौती चिर्ने खेलकुदमन्त्रीको दाबी

सहकार्य गर्दै चुनौती चिर्ने खेलकुदमन्त्रीको दाबी



नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने दाबी गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा मंगलबार आयोजित स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री तामाङले सो बताएका हुन् ।

‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरूसँग सहकार्य गर्दै पन्छ्याउने छु । समयस्याका बारेमा चाँडै नै छलफल गर्छु’- राखेपका अध्यक्षसमेत रहेका मन्त्री तामाङले भने ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे भने खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३औँ दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए ।

त्यस्तै सदस्यसचिव सिलवालले नयाँ ऐनअनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नुपर्ने आवश्यकता औल्याउँदै चालु आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा वृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङसमक्ष आग्रह गरे ।

सदस्यसचिव सिलवालले कोभिड-१९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको बताए ।

कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षणसमेत गरेका थिए ।