मनिषा कोइराला आई.एम.ई. लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

मनिषा कोइराला आई.एम.ई. लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर



आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा ख्यातिप्राप्त अभिनेतृ मनिषा कोइराला नियुक्त भएकी छिन् । यससँगै अब मनिषा आई.एम.ई. लाइफको जीवन बीमाको ब्राण्ड दूतको भुमिकामा रहने कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । अग्रणी एवम् जीवन्त सेलिब्रिटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने उक्त कम्पनीले जनाएको छ ।

सम्झौतामा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा मन्तव्य दिँदै अभिनेतृ एवम् सामाजिक कार्यकर्ता मनिषाले मानव जगतमा जीवन बीमाको महत्व निकै ठूलो रहेको भन्दै नेपाली जनतालाई आर्थिक सुरक्षा प्रदान गरी देशैभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पुर्‍याउने अवधारणा बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताइन् । कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् ।

यस्तै, कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका सिईओ कवि फुयाँलले मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा कम्पनीसम्बद्ध बसैमा थप उत्साह पैदा भएको बताए । मनिषाको प्रशंसा गर्दै उनले भने- ‘उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।’

मनिषा कोइरालामार्फत देशभरका जनतामा जीवनबीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुग्नेमा कम्पनी विश्वस्त रहेको उल्लेख गर्दै यही पुष २४ गतेदेखि लागु हुने गरी कोइरालासँगको सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले जानकारी दिए ।