९ माघ २०७७, शुक्रबार

सक्कली देशका नक्कली जनता !?

  प्रकाशित मिति
२२ पुष २०७७, बुधबार ०५:३६


  • देवप्रकाश त्रिपाठी

क्रान्तिकारिता र एकदलीय राजनीतिक व्यवस्थाको प्रतिनिधिमुलुक चीन आफ्ना प्रथम बादशाह यीङ चेङलाई अत्यन्त सम्मानका साथ स्मरण गर्दछ, किनभने चीनको स्थापना ती बादशाहले गरेका हुन् भन्ने विश्वास चिनियाँहरूमा छ । विचार र राजनीतिका आधारमा हेरिएको भए कम्युनिष्ट क्रान्तिकारी चीनले यीङ चेङलाई सामन्त विशेषण लगाएर अपमान गर्नुपर्थ्यो या सधैंका निम्ति बिर्सनुपर्ने थियो । भियतनाम एकीकरणको जस (यश) हो चि मिन्हलाई दिइन्छ र, उनी हरेक भियतनामीका निम्ति सधैंका लागि स्मरणीय बनेका छन् । पश्चिमी जगतका गरिवाल्डी, माजिनी, कोभर, नेपोलियन, बिस्मार्क अविष्मरणीय र सम्मानित बन्नुको एक मात्र कारण राष्ट्रवाद र राष्ट्रिय एकीकरणमा उनीहरूले पुर्‍याएको योगदान नै हो । दक्षिण अफ्रिकी राष्ट्रवादका निम्ति लडेका पल क्रुगरलाई त्यहाँका मानिस नेल्सन मण्डेलालाई जत्तिकै सम्मान गर्छन् ।

विश्व इतिहासमा सबैभन्दा क्रुर तथा नरभक्षी ठानिने चङ्गेज खाँलाई मङ्गोलियाले करिब एक हजार वर्षसम्म घृणा र अपमानको भाला बर्साएपछि डेढ दशकयता राष्ट्रिय विभूतिका रूपमा सम्मान दिँदै आएको छ । साना-साना अनेकौँ कबिलामा रहेको मङ्गोलियाको एकीकरण चङ्गेजको चरम महत्वाकाङ्क्षा र क्रुरताको परिणाम हो । उनी अनेकौँ कबिलाहरूलाई आफ्नो काबुमा लिएर सबैको सर्वेसर्वा हुन चाहन्थे । त्यस क्रममा विपक्षी सैन्य अधिकारीलाई जीवित पक्रिएर कराइमा पानी राखी उमाल्ने र लडाइँमा जाँदा बाटोमा पर्ने गाउँघरका बालबालिकाहरूलाई जिउँदै भालामा उनेर प्रदर्शन गर्दै हिँड्ने जस्ता हिंस्रक कार्य चङ्गेजकै आदेशमा हुन्थ्यो । उनले प्रदर्शन गरेका हिंसात्मक एवम् क्रुरतम व्यवहारलाई मङ्गोलियाली जनताले हजार वर्षसम्म माफीयोग्य ठानेनन् । तर अहिले चङ्गेज त्यहाँ राष्ट्रिय बिभूति बनाइएका छन् र, विश्व मानचित्रमा मङ्गोलिया नामक देश अङ्कित हुनुमा शत प्रतिशत उनकै योगदान भएको स्मरण गर्दै उनको सम्मान गर्ने गरिन्छ ।

विश्वमा नेपाल मात्र एउटा यस्तो देश बनेको छ, जहाँ राष्ट्रनिर्माताको अपमान र तिरष्कार हुने गर्दछ, तिरष्कार गर्नेहरूचाहिँ सम्मानित भइरहेका छन् । कास्की र गोर्खातिर जन्मिएर आफ्नो चरम महत्वकाङ्क्षा र विदेशीको इच्छा पूरा गर्न हिंसा र षड्यन्त्रको सहारा लिने दुई उरण्ठेउला केटाहरूले तुच्छ सत्ताप्राप्तिका निमित्त करिव सत्र हजार निर्दोष नागरिकको ज्यान लिए, लाखौँ नागरिकलाई घरबारविहीन सुकुम्बासी र शरणार्थी बनाए, देशको पचासौँ खर्ब क्षति पुर्‍याए, खर्बौंबराबरका संरचना नष्ट गरे, मुलुकलाई पचासौँ वर्ष पछाडि धकेले र सामाजिक सद्भाव एवम् राष्ट्रिय एकतासमेत ध्वस्त पारे । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकीकृत र अखण्ड नेपाल निर्माणका क्रममा जे-जति क्षति भएको छ, दुई विभिषणहरूले सत्ताप्राप्तिका निम्ति गरेको उपद्रवमा त्यसको लाखौँ गुणा बढी क्षति पुगेको छ । सत्ताका निम्ति भएका उपद्रवसँग राष्ट्र एकीकरणका घटनासँग तुलना मात्र गर्दा पनि पृथ्वीनारायण शाह र एकीकरण कार्यसमेतको चरम अवमूल्यन हुन सक्दछ । तथापि राष्ट्रिय एकता र एकीकरणको घटनालाई निन्दा र घृणा गर्दै सत्ता राजनीतिमा तैरन आइपुगेकाहरूले जनतालाई भ्रमित तुल्याउने कार्य जारी राखेकाले यहाँ कतिपय घटना सन्दर्भ उद्धरण गर्नु परेको हो ।

वास्तवमा पृथ्वीनारायणले ठूलो देशको राजा बन्ने नियत र उद्देश्यका साथ एकीकरण अभियान चलाएका थिएनन् । भारतीय राज्यहरूमा क्रमशः ब्रिटिष साम्राज्यको दखल हुँदै गएपछि पृथ्वीनारायण शाहमा इसाइहरूबाट सनातनी सभ्यता र इतिहास रक्षाको दायित्वबोध भएर नै एकीकरण अभियानले आकार लिएको ऐतिहासिक तथ्यहरूले देखाउँछ ।

नेपाल एकीकरणको अगुवाइ गर्ने अवसर बाइसी-चौबिसे सबै राजा-रजौटाहरूलाई थियो । उपत्यकाका मल्ल राजाहरूले नै देश एकीकरणको अभियान चलाएको भए यतिबेला हामी तिनको मुक्तकण्ठले प्रशंसा गरिरहेका हुने थियौँ । पाल्पा, मकवानपुर र विजयपुरका सेन राजाहरूले नै एकीकरण गरिदिएका भए पनि त्यसलाई कुनै नेपालीले अस्विकार गर्ने थिएनन् । गोरखाका राजा पृथ्वीनारायण शाहबाट ठूलो देशको राजा बन्ने महत्वाकाङ्क्षाकै कारण देश एकीकरण गरिएको हुन्थ्यो भने पनि एकीकृत देशप्रति असहमति जनाइरहनु पर्ने आवश्यकता थिएन । वास्तवमा पृथ्वीले ठूलो देशको राजा बन्ने नियत र उद्देश्यका साथ एकीकरण अभियान चलाएका थिएनन् । भारतीय राज्यहरूमा क्रमशः ब्रिटिष साम्राज्यको दखल हुँदै गएपछि पृथ्वीनारायण शाहमा इसाइहरूबाट सनातनी सभ्यता र इतिहास रक्षाको दायित्वबोध भएर नै एकीकरण अभियानले आकार लिएको ऐतिहासिक तथ्यहरूले देखाउँछ ।

बाइसी र चौबिसे राजा र राज्यहरूबीच यदाकदा तनाव या मनमुटावको स्थिति पैदा भए पनि यहाँ भाषा, जाति, धर्म र संस्कृतिका नाममा युरोपमा झैँ परस्पर द्वन्द्व थिएन । त्यसताक युरोप जाति, भाषा र धर्मका नाममा भएका दीर्घकालिन युद्धबाट मूक्त भइ विभिन्न राज्यहरू व्यवस्थित हुने क्रममा थिए । ठीक त्यति नै बेला पृथ्वीनारायणचाहिँ सबै प्रकारका जातीय, भाषिक र सांस्कृतिक समुदायलाई एकत्रित गरेर एउटा साझा देश स्थापना गर्ने गृहकार्यमा जुटेका थिए । युरोप र नेपालको ऐतिहासिक अन्तर पनि यहिँनेर छ । उनीहरू जाति, धर्म, संस्कृति र भाषाका नाममा लडेर फरक-फरक देशका रूपमा अस्तित्वमा आए । तर यहाँ सबै थरीका निम्ति सबै मिलेर एउटा शक्तिशाली देश स्थापना गर्ने परिकल्पना भयो र पृथ्वीनारायणले त्यसको अगुवाइ गरे । दक्षिणको भारतीय राज्यहरूमा इसाइहरूको नियन्त्रण कायम हुँदै गएपछि पृथ्वीले घोषणा गरे- ‘असली हिन्दुस्थाना हामी बनाउँछौँ ।’ भारतीय मण्डल र संसारका बलशाली राज्यहरू समेत ब्रिटिष साम्राज्य (इसाइ)द्वारा वशीभूत हुनुपरेको त्यो समयमा एकीकृत राज्य निर्माण गर्ने र निर्मित राज्यलाई इसाइ साम्राज्यबाट रक्षा गर्ने दोहोरो दायित्व निर्वाह गर्नुपर्ने अवस्थामा पृथ्वीनारायण शाह थिए । सकेसम्म हिंसा नभइकन देश एकीकृत होस् भन्ने पृथ्वीको चाहना थियो । लडाइँ नै गर्नुपरे पनि कमभन्दा कम मानवीय क्षति होस् भन्ने उनी चाहन्थे । काठमाडौंको हनुमानढोका राजदरबारमा गद्दीनशीन भइसकेपछि भक्तपुरलाई काबुमा लिन आफ्ना भाइ सुरप्रताप शाह र बंशराज पाँडेको नेतृत्वमा सैन्य टोली खटाउँदै पृथ्वीले भनेका थिए- ‘हिंसा नगरिकन भक्तपुर नियन्त्रणमा लिनु ।’

राजाको निर्देशन बंशराजले पूरै पालन गरे, तर सुरप्रतापको हतारो र हेलचेक्र्‍याइँका कारण दरबारलाई नियन्त्रणमा लिने क्रममा केही मानिस मारिए । मान्छे मारिएकै कारण भक्तपुर आफ्नो नियन्त्रणमा आइसकेपछि पनि राजा पृथ्वीनारायण खुशी भएनन् । हिंसा गरेका कारण सुरप्रतापलाई उनले उपत्यकाबाट निष्काशन गरिदिए र, गोरखा गएर बस्न निर्देशन दिए । यस घटनाले पृथ्वीनारायण शाह हिमालदेखि तराइसम्म सबैलाई आफ्ना ठान्थे भन्ने सङ्केत गर्दछ । कीर्तिपुर नियन्त्रणमा लिने क्रममा भएको युद्धमा उनका प्रिय र कुसाग्र सेनापति कालु पाण्डेले शहादत प्राप्त गरे । पाण्डेको अवसानले पृथ्वीलाई गहिरो चोट पुर्‍याएको हो, तथापि कीर्तिपुर नियन्त्रणमा आइसकेपछि त्यहाँका जनता, धन सम्पत्ति र धर्म-संस्कृतिको रक्षा गर्न उनले विशेष तत्परता लिए । पराइराज शुरु भएको महसूस हुन उनले दिएनन् । तर कीर्तिपुरमा रहेका केपुचिन पादरीहरूले कीर्तिपुरेको नाक-कान काटिएको प्रचार गरी पृथ्वीनारायणको बदनाम गर्ने प्रयास गरे । अझै पनि कतिपय मानिस इसाइप्रायोजित उक्त हल्लाकै पछाडि कुदिरहेका छन् । इसाई पादरीले चलाएको हल्लालाई पुष्टि गर्न सन् १७९३ मा नेपाल आएका अर्का इसाइ कर्क प्योट्रिकले ‘नाकविहीन योद्धा’लाई आफूले देखेको भनी लेखेका छन् ।

त्यसताक युरोप जाति, भाषा र धर्मका नाममा भएका दीर्घकालिन युद्धबाट मूक्त भइ विभिन्न राज्यहरू व्यवस्थित हुने क्रममा थिए । ठीक त्यति नै बेला पृथ्वीनारायणचाहिँ सबै प्रकारका जातीय, भाषिक र सांस्कृतिक समुदायलाई एकत्रित गरेर एउटा साझा देश स्थापना गर्ने गृहकार्यमा जुटेका थिए । युरोप र नेपालको ऐतिहासिक अन्तर पनि यहिँनेर छ । उनीहरू जाति, धर्म, संस्कृति र भाषाका नाममा लडेर फरक-फरक देशका रूपमा अस्तित्वमा आए । तर यहाँ सबै थरीका निम्ति सबै मिलेर एउटा शक्तिशाली देश स्थापना गर्ने परिकल्पना भयो र पृथ्वीनारायणले त्यसको अगुवाइ गरे ।

त्यसबेला नागरिकहरूको नाक-कान काटिएको देख्ने प्रत्यक्ष साक्षीका रूपमा केपुचिन पादरीहरूलाई ब्रिटिष लेखकहरूले आफ्ना पुस्तकमा उभ्याएका छन् । तथापि कर्क प्याट्रिकले नागरिक नभइ ‘योद्धाको नाक काटिएको’ लेखेका छन् । तीन-तीन पटक भएको भीषण युद्धमा सहभागी सबै योद्धाहरूको ज्यान सुरक्षित रहेको या कसैको कुनै पनि अङ्ग भङ्ग नभएको मान्न सकिँदैन । कसैले हात, गोडा, नाक, कान या आँखा गुमाएर पनि बाँचेका हुन सक्छन् । तर यही आधारमा सबै कीर्तिपुरबासीको नाक काटिएको ठहर गरिनु सर्बथा झुठ र निन्दनीय छ । बरु बृटिष अनुसन्धाता एवम् लेखकहरूले अक्षरानुवाद गरी भावानुवाद गर्न नसकेकोले पनि ‘नाक काटिएको’ भन्ने अनर्थको चर्चा जीवित रहेको हुन सक्ने देखिन्छ । नेपालीमा नाक काटियो भन्नुको सिधा अर्थ ‘इज्जत प्रतिष्ठा गयो’ भन्ने हुन्छ । गोरखालीहरूसँगको युद्धमा पराजयपछि त्यसबेलाको समाजले आफूलाई बहादुर ठान्ने कीर्तिपुरेको ‘नाक काटियो’ भन्नु स्वाभाविक थियो । कीर्तिपुरेको इज्जत गयो भन्ने अर्थको ‘नाक कटाइ’लाई ब्रिटिषले अनुवाद गर्दा नोज कट (nose cut) भनी लेखिदिएकोले अहिलेसम्म पनि भ्रम यथावत रहन पुगेको छ । तर सबै इसाइहरू यस प्रकारको कुप्रचारमा सामेल छैनन् । ब्रिटिष इतिहासकार जोन ह्वेल्पटनले यसबारेको आफ्नो लिखतमा पृथ्वीनारायण शाहलाई मन नपराउने केपुचिन पादरीहरूले बढाइचढाइ प्रचार गरेको ब्यहोरा उल्लेख गरेका छन् ।

२०६३ को राजनीतिक परिवर्तनमा ‘भ्याटिकन सिटीको संलग्नता’ रहेका कैयन तथ्यहरू सार्र्वजनिक भइसकेका छन् । हिंसात्मक युद्धका सरदारहरू त अहिले पनि ‘भ्याटिकनकै भाषा’ बोलिरहेकै छन् । २०६३ मा पृथ्वीनारायण शाहको शालिक ढालिनु कुनै उग्रवादीको क्षणिक आवेगको परिणाम मात्र थिएन । त्यो नेपाल एकीकरणको घटनाप्रति असहमतिको प्रतिक्रिया थियो, पृथ्वीनारायण शाहप्रति बदलाको भावनाबाट प्रेरित कार्य थियो । २०६३ पछि लादिएका कैयन देशविरोधी एजेण्डाहरूले पनि शालिक तोडफोडको घटना नियोजित भएको पुष्टि गर्दछ । पृथ्वीले ‘नेपाल सबै वर्ण र जातिको साझा फुलबारी भएको’ स्पष्ट गर्दै सबै नेपालीको एकता र सद्भावमा मात्र देश सुरक्षित रहने सन्देश दिएका थिए । २०६३ पछि जातिपिच्छे राज्य निर्माण गर्ने नारा दिइयो, बहुराष्ट्रिय राज्यका नाममा विभिषणहरू अझै सल्बलाउँदै छन् । पृथ्वीको शालिक ढालेर शुरु भएको ‘देश विभाजन गराउँदै विघटनसम्म पुर्‍याउने’ यात्रा रोकिएको छैन ।

जनतालाई सेवा-सुविधा र अधिकार सुनिश्चित गर्न वडा (स्थानीय तह) बलियो भए हुन्छ, तर सार्वभौमिकताको विभाजन गर्नचाहिँ प्रदेश (राज्य)हरूकै उत्पत्ति गर्नुपर्ने हुन्छ । एकीकृत सार्वभौमिकताको अन्त्य देश विभाजन या विघटनको पहिलो पाइला हो, संविधानले राष्ट्र विघटनको लक्ष्यलाई संस्थागत गरेको छ । मौलिक धर्म, संस्कृति, संस्कार, परम्परा तथा मूल्य र मान्यता विस्थापित नभएसम्म राज्य कमजोर र देश राष्ट्रियताविहीन हुन सक्दैन । धर्मनिरपेक्षता केवल मौलिक संस्कृति र सभ्यता नास गरी अन्ततः नेपाल मेट्न क्रान्तिकारी आवरणमा रचिएको षडयन्त्र हो । अनेक जाति, भाषिक र सांस्कृतिक समुदायको साझा प्रयासमा खडा भएको देश जातीयताको भावना सुरक्षित राखेर चीर कालसम्म खडा हुन सक्दैन । जातीय आधारमै नेपालमा उत्पीडित भनेको शिल्पी समुदाय मात्र हो । यो समुदायलाई आर्थिक र शैक्षिक रूपमा माथि उठाउने दायित्व राज्य र सबै नेपालीको हो । जातीय आधारमा आरक्षणको व्यवस्था गरेर एकीकृत नेपाली राष्ट्रियताको अवधारणा असान्दर्भिक तुल्याउने चेष्टा गरिएको छ । पिछडिएका मानिस या समुदायको पहिचान गरी तिनको उत्थानका कार्यक्रम ल्याउनुपर्नेमा आरक्षणको आधार बनाइनु भनेको नेपालमा जातीय भावना जीवित राख्नु हो, जातीय समुदायबीच आशङ्का, अविश्वास र द्वेषको मनोविज्ञान मजबुत तुल्याउनु हो ।

बृटिष अनुसन्धाता एवम् लेखकहरूले अक्षरानुवाद गरी भावानुवाद गर्न नसकेकोले पनि ‘नाक काटिएको’ भन्ने अनर्थको चर्चा जीवित रहेको हुन सक्ने देखिन्छ । नेपालीमा नाक काटियो भन्नुको सिधा अर्थ ‘इज्जत प्रतिष्ठा गयो’ भन्ने हुन्छ । गोरखालीहरूसँगको युद्धमा पराजयपछि त्यसबेलाको समाजले आफूलाई बहादुर ठान्ने कीर्तिपुरेको ‘नाक काटियो’ भन्नु स्वाभाविक थियो । कीर्तिपुरेको इज्जत गयो भन्ने अर्थको ‘नाक कटाइ’लाई ब्रिटिषले अनुवाद गर्दा नोज कट (nose cut) भनी लेखिदिएकोले अहिलेसम्म पनि भ्रम यथावत रहन पुगेको छ ।

क्रान्तिकारी आवरणमा निर्मित वर्तमान संविधान देश विघटनको जग हो भन्नेमा दुविधा राख्नु पर्दैन । यो संविधानले पृथ्वीनारायण शाहद्वारा प्रतिपादित सबै सिद्धान्तहरू भत्काएको छ । स्वयम् पृथ्वीनारायणलाई संविधानले चिन्दैन, देशको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने वंशु गुरुङ, बिसे नगर्ची, कालु पाण्डे, श्रीकृष्ण पाठक, केहरसिंह बस्नेत, रामकृष्ण कुँवर, श्रीहर्ष पन्थ, वीरभद्र उपाध्याय, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर आदि कसैलाई स्मरण गर्दैन यो संविधान । तर कुन्नि क-कसलाई सत्तामा पुर्‍याउन हिंसात्मक क्रियाकलापमा सामेल भएका घाइते र बेपत्ता व्यक्तिहरूलाई भने यसले प्रस्तावनामा नै स्मरण गरेको छ । जुन देशका राजनीतिकर्मीहरू राष्ट्रनिर्माताप्रति वैरभाव राख्छन्, जुन देशको संविधानले देशको संस्थापकहरूलाई बिर्सन्छ, त्यस्तो मुलुकको अस्तित्व चीरकालमा रहने विश्वास गर्न सकिँदैन, हुँदैन । मार्क्स, लेनिन, स्तालिन, माओ र गान्धीका तस्बिरमा माल्यार्पण गर्न चर्को प्रतिष्पर्धा छ राजनीतिजीवीहरूको, तर आफूलाई देश दिने अनि आफ्नो विशिष्ट पहिचान दिने पृथ्वीनारायण शाहको स्मरण गर्न यिनलाई धक लाग्छ ! आफ्ना पितालाई वृद्धाश्रममा छोडेर आफू कसैको धर्मपुत्र बन्न खोज्ने र, त्यसो गर्न पाउँदा प्रशन्न हुने दरिद्र मानसिकताका मानिस अनि, पृथ्वीनारायण शाह र उनका दिब्योपदेशको उपेक्षा गर्दै परायासङ्गतमा रमाउने राजनीतिजीवीहरूको मात्र देश नेपाल होइन भने नेपालका पक्षमा जुरुक्क उठ्न विलम्ब भइसकेको छ ।

पृथ्वीनारायण शाह आफूले हारेर देशको विजय गराउने अविष्मरणीय राजा हुन् । देशका निम्ति उनी आफू हार्न चाहन्थे, त्यसैले मुलुकको नाम गोर्खा नराखेर नेपाल राखे । पछिल्लो मल्ल वङ्शका भक्तपुरको राजा स्थिति मल्लले अपनाएको चन्द्रसूर्य अङ्कित (वर्तमान राष्ट्रिय) झण्डालाई नै आफूले अवलम्बन गरे । सबैको सम्पत्ति, धार्मिक, सांस्कृतिक एवम् पारम्परिक व्यवहारको संरक्षण गर्ने नीति उनले लिए । इसाइबाहेक सबैप्रति पृथ्वीनारायणको व्यवहार सहिष्णु थियो । २४० वर्षपछि पृथ्वीनारायणसँग बदला लिन केपुचिन पादरीका शिष्यहरू सफल भए, हामी तिनका सफलतामा ताली बजाउँदै छौँ, रमाउँदै छौँ, र त्यसपछि आफू नेपाली भएको दाबी गर्न पनि छोड्दैनौँ ! यसरी हामी संसारकै ‘वीर’ जातिमा गनिएका छौँ, एक चिम्टी अवसर र एक थान पदको लालचका कारण सक्कली देशको नक्कली नेताका असली सेवक भूमिकामा सन्तुष्टि लिँदैछौँ ! त्यसैले हामी सक्कली देशको नक्कली नागरिक भएका छौँ । देशविरुद्धका हरेक गतिविधिलाई मौन समर्थन गरिरहेका छौँ । जय मातृभूमि !



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरूको तत्काल आवश्यकताको लागि नेपाललाई भारतमा उत्पादित १० लाख भाइल कोभिड-१९ भ्याक्सिन

श्रीलङ्काले पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्ना सबै सिमानालाई बिहीबारदेखि पूर्ण रूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला

सात जनाको राखेप कार्यसमिति तीन जनामै सीमित श्रीविक्रम भण्डारी ‘राष्ट्रिय खेलकुद विकास ऐन-२०७७’ लागु भएको आठ महिना बितिसक्दा पनि राष्ट्रिय

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री सूर्योत्तरायणे श्रीशाके १९४२ नेपाल सं. ११४१ शिशिर ऋतु प्रमादीनामक सम्वत्सर