अध्यक्षविरुद्धको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार : महासचिव पौडेल

अध्यक्षविरुद्धको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार : महासचिव पौडेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताएका छन् ।

पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै उनले पार्टीका कार्यकारी अध्यक्षका रूपमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको जिकिर गरे । उनले भने–, ‘सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेकपामाथि कुनै बाहिरका व्यक्तिले नभएर पार्टी भित्रैबाट धारिलो हतियार प्रहार हँुदा फुटको अवस्थामा पार्टी पुगेको बताए ।

उनले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष दाहालले बैठकभित्र एउटा निर्णय गर्ने र बाहिर अर्कै कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको समेत खुलासा गरे । उनले भने– ‘प्रचण्डले बैठकमा पार्टी एकताको सहमति गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेकाले समस्या आएको हो ।’

पौडेलले वर्तमान सरकारले पार्टीभित्रबाट असयोग हँुदा पनि तीन वर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल गरेको स्वीकार गरे । उनले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य एवं ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले पार्टी एकताको मुख्य आधार सहमतिय पद्धतीलाई भत्काएर सहमति विपरीत समीकरण निर्माण गर्नुले नै एकताको आधार भत्किएको धारणा राखे । समृद्ध राष्ट्र निर्माणका लागि निर्वाचनको विकल्प नरहेको उनको धारणा थियो ।

यस्तै, पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएका आरोपसहितको अभियोग पत्र नै विभाजनको प्रमुख कारण रहेको जिकिर गरे । उनले भने- ‘आरोप पत्र फिर्ता गरेको भए पार्टी एकता बचाउन सकिन्थ्यो ।’

pict:rss