‘सडकको आवाज सम्बोधन गर्न जनमतसङ्ग्रहको आवश्यकता छ’

‘सडकको आवाज सम्बोधन गर्न जनमतसङ्ग्रहको आवश्यकता छ’


सीता सापकोटा

विगत १५ वर्षदेखि बेल्जियमको लुभेन शहरमा ब्यवसाय गरेर सपरिवार बसोबास गर्दै आउनुभएकी सीता सापकोटा युरोपमा बस्ने नेपालीहरूबीच अपरिचित नाम होइन । नेपालस्थित गृहजिल्ला चितवनमा रहँदा तरुण दल हुँदै नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा होमिनुभएकी सापकोटा विदेश बसाइको यतिका वर्षसम्म पनि उत्तिकै जोश, उत्साह, निर्भिकताका साथ प्रजातान्त्रिक अभियानमा प्रतिबद्ध रहनुभएको छ । नेपाली काङ्ग्रेसको महासमिति सदस्यसमेत रहनुभएकी सापकोटा बेल्जियमस्थित नेपाली काङ्ग्रेसको प्रवास संगठन जनसम्पर्क समितिका सभापति पनि हुनुहुन्छ । प्रवासमा सक्रिय यस सङ्गठनलाई विवादमा पार्ने चेष्टा बेला-बेला हुँदै आएको छ । कसको स्वार्थले यस्तो भइरहेको छ भन्ने चासोलगायतका सवालमा सशक्त नारी व्यक्तित्व सीता सापकोटासँग घटना र विचारका युरोपस्थित प्रतिनिधि सागर सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

० नेपालमै पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित हुँदाहुँदै पनि तपाईं युरोप आउनुको कारण के हुन सक्छ ?
– युरोप आउनु मेरो इच्छा भन्दा पनि परिस्थिति बन्यो । मेरो श्रीमान् यहाँ रहनुभएको कारण नेपाल छोड्नुपर्ने स्थिति आयो । शुरुमा त केही समयमा फर्कौंला भन्ने सोचियो, तर बच्चा जन्मिएपछि तिनको लालनपालन भन्दाभन्दै आज यति समय बित्यो । मेरो भौतिक शारीर यहाँ भए पनि मन–मस्तिष्क नेपालमा नै छ ।

० युरोप बसाइका क्रममा तपाईंले सिकेको र तमाम नेपालीले सिकुन् भन्ने चाहना राखेको खास कुरा के हुन सक्छ ?
– युरोप दोश्रो विश्वले थिल्थिलो बनेको थियो । युद्धपश्चात् यहाँ बनेका सरकार र जनता मिलेर देशको विकास–निर्माणमा लागे । आज युरोप कहाँ छ, जगजाहेर नै छ । यो विषयलार्ई हर नेपालीले अध्ययन, मनन गरुन्, सिकेर अनुशरण गरुन् भन्ने लाग्छ । मिलेर गरे नसकिने के रहेछ र भन्ने शिक्षा युरोपले सिकाएको छ ।

० युरोपियन राजनीतिक संस्कार र नेपाली राजनीतिक संस्कारमा के फरक पाउनुभएको छ ?
– यहाँ बफादारिता, उत्तरदायीपन, इमान्दारिता छ । साथै यहाँ नेता बन्न स्कुल तथा विश्वविद्यालयमा सोहीअनुरुपको ज्ञान हासिल गरेपछि मात्र राजनीतिमा आउँदछन् भने नेपालमा अधिक राजनीतिमा आउनेहरू सडकमा ढुङ्गा हानेर, टायर बालेर, प्रहरीसँग धक्कामुक्की गरेर आएका देखिन्छन् । यसो भनेर सबैलाई एकै घानमा हाल्न त म चाहन्न, तथापि अधिकतर यस्तै छन् । युरोपमा राज्य अभिभावकको भूमिकामा रहेको हुन्छ भने नेपालमा राज्य शासक बनेर प्रस्तुत हुन्छ । नेपालका राजनीतिकर्मीहरू नेपाललाई स्विजरल्याण्ड बनाउँछौँ भन्छन् । युरोप–अमेरिका घुमेर नै त्यस्तो भनेका होलान् । तर जब उहाँहरू नेपाल फर्किनुहुन्छ, देखेको–बुझेको कुरालार्ई ब्यवहारमा उतार्ने कोशिस गर्नुहुन्न । एक किसिमले भन्नुपर्दा नेपालका नेताहरू राष्ट्रवादी नभई व्यक्तिवादी हुनुहुन्छ ।

० नेपाली नेताहरूले विदेश घुमेर देखे–जानेका कुराहरू नेपालमा लागु गर्ने कोशिस गरेका कत्तिको अनुभूति गर्नुभएको छ तपाईंले ?
– इतिहासलार्ई इन्कार गर्न सक्दैनौँ हामी । मेरो बुझाइमा विदेशमा देखेको राम्रा विषयलार्ई आफ्नो राष्ट्रको हितको सवालमा प्रयोग गरेको राणा प्रधानमन्त्री जंगबहादुरले हो । जंगबहादुरले युरोपमा देखेर बनाइदिएका संरचनालार्ई नेपालले सयौँ वर्षदेखि प्रयोग गरेको छ । अर्का दूरदर्शी नेतामा बिपी कोइरालाको नाम लिन चाहन्छु जसले नेपाललाई फरक ढङ्गबाट अगाडि लैजान चाहनुभयो, तर विडम्बनावश उहाँले ठूलो मूल्य चुकाउनु प¥यो । अहिलेका नेतामा डा. रामशरण महतलगायत हुनुहुन्छ जसले विदेशका राम्रा विषयलार्ई नेपालको पक्षमा लगाउने प्रयत्न गर्नुभएको छ । आम रूपमा भन्नुपर्दाचाहिँ नेपालका नेताहरूले विदेशको समृद्धि हेरे मात्रै, नेपालमा लागु गर्ने प्रयत्न गरेनन् । यो तितो यथार्थ हो ।

० तपाईं एक प्रस्ट वक्ता हुनुहुन्छ, कतिपय फोरममा नेपाली काङ्ग्रेसले यतिबेला अङ्गीकार गरेको सिद्धान्त काङ्ग्रेसको मौलिक सिद्धान्त होइन भन्ने सुस्पष्ट धारणा व्यक्त गर्ने तपाईं काङ्ग्रेस पार्टीमै अहिलेसम्म कसरी अटाउनुभएको छ ?
– हेर्नुहोस्, पार्टीले कतिपय अवस्थामा गलत बाटो लियो भन्दैमा पार्टी छोडिहाल्ने भन्ने कुरा सहज हुँदैन । त्यस्तो अवस्थामा एक इमानदार कार्यकर्ताको कर्तव्य पार्टीभित्रै बहस गर्ने, उचित सुझाव दिने हुन सक्छ । पार्टीभित्र नै सङ्घर्ष गर्नुपर्छ र पार्टीलार्ई सही मार्गमा लैजान सहयोग गर्नुपर्छ भन्ने ठान्दछु म । हामीजस्ता प्रजातन्त्रमा विश्वास राख्ने कार्यकर्ताका लागि काङ्ग्रेसको विकल्प पनि त छैन ! यो छोडेर जाने ठाउँ कहाँ छ र मेरो ?

० प्रजातन्त्र प्राप्तिको यतिका वर्ष बितिसक्दा पनि नेपालको राजनीति असन्तुलित बनिरहनुमा दोष कसको देख्नुहुन्छ ?
– दोषी पक्ष अनेक होलान्, तर मैले झट्ट भन्नुपर्दा दोषी त हामी नेपाली जनता नै हौँ । निर्णय गर्ने अधिकार त जनतामा छ नि । त्यसलाई राजनीतिक पार्टीले गलत प्रयोग गरेका छन् जस्तो लाग्छ । म आफैं पनि यसमा दोषी हुन सक्छु । हामीले आफ्नो पार्टी मात्र देख्ने चस्मा लगायौँ, त्यो चस्माबाट हेर्दा देश देखेनौँ । जनताले नै नेताको छनोट गर्ने हो । यदि छनोट सही भइदिए त देशले पनि सही दिशा लिन्थ्यो होला । त्यसैले पहिलो दोषी जनता नै हुन् भन्नुपरेको हो । तर, अन्य कारणहरू पनि छन् जसले नेपालको राजनीति स्थिर हुन दिइरहेको छैन ।

० नेपालमा त राजनीतिक विकृतिले जरो गाडेको छ, यस्तोमा युरोपका सम्पन्न मुलुकमा बसेर दलका भातृ–सङ्गठनको माध्यमबाट राजनीति गरिरहेकालार्ई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
– म एक पार्टीको जिम्मेवार कार्यकर्ता हुँ । त्यसैमा पार्टीको विधानअन्तर्गत बनेको जनसम्पर्क समितिको निर्वाचित सभापति हुँ । यो अर्थबाट हेर्दा सायद मैले पनि कालोलार्ई कालो नभनेर सेतो भने कि ? यसलार्ई मैले पनि मुल्याङ्कन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । बेल्जियममै हेरौँ, नेपालभन्दा तीन गुणा सानो मुलुक, त्यसमाथि ५, ६ हजारको सङ्ख्यामा रहेका नेपालीहरूबीच पनि विभिन्न नाम बाट ६०-७० वटा भातृसङ्गठनका साथै हरेक विचार समूह, जातजातिका अलग-अलग सङ्गठन छन् । यी सङ्गठनका आ-आफ्नै अनेक स्वार्थ हुन्छन् र यिनै स्वार्थका कारण हामी सम्पन्न मुलुकमा रहेर पनि गर्नुपर्ने गरिरहेका छैनौँ कि ? सबै संगठन वा भातृसंगठनलार्ई दोष थुपार्न म आवश्यक ठान्दिनँ तर हामीले विचार गर्ने विषय यो पनि हो कि भन्ने मलार्ई लाग्ने गर्दछ ।

० नेपाली जनसम्पर्क समिति बेल्जियममा तपाइलार्ईं असफल बनाउन केही व्यक्तिहरू लागिपरेका छन् भन्ने सुनिँदै/बुझिँदै आएको छ, यसको कारण खास के होला ?
– यहाँ जे भइरहेको छ त्यो सब परिचालित गुटको कारण हो । सामाजिक संजालमा मेरो तथा जनसम्पर्क समितिका विषयमा भ्रम छरिरहनेहरू मसँग प्रतिष्पर्धा वा फेस टु फेस गर्न सक्दैनन् । जब उनीहरूले केही गर्न सक्दैनन् तब मिडियारूपी खेताला प्रयोग गर्दछन् । सायद तपाईंले देख्नुभयो होला अष्ट्रियामा बसेर ब्लग चलाउने एक व्यक्तिले मेरो बारेमा नभएको कुरा कसरी लेखे । जे होस्, म आफ्नो कर्म र उद्देश्यप्रति स्पष्ट छु र इमानका साथ कर्म गरिरहेको छु भने व्यक्तिगत रूपमा मलार्ई कसैले असफल बनाउन सक्दैन भन्नेमा दृढ छु ।

० यतिबेला सामाजिक संजालमा चर्चा र विवादको विषय बनिरहेको ‘जनसम्पर्क समिति युरोप’ खास के हो ? किन तपाईं यसको विषयमा बोलिरहनुहुन्छ ?
– यसमा म मात्र कहाँ बोलेको हुँ र ? कार्यसमितिका पूर्वसभापतिहरूका साथै सिङ्गै कार्यसमिति र युरोपस्थित जनसम्पर्क समितिका साथीहरू पनि बोलिरहनुभएको छ नि । मेरो भनाइ के हो भने पार्टीको विधानले नचिन्ने कुनै पनि व्यक्ति तथा संगठनलाई मैले चिन्नुपर्छ भन्ने छैन । गलतलार्ई गलत भन्नुपर्छ, यही मैले गरेको हुँ । हेर्नुहोस् न ! हिजो नेकाकै कुनै केन्द्रिय नेताले इमान्दार तथा पार्टीप्रति समर्पित आत्मिय दाइ दिल गुरुङलार्ई ‘युरोपमा समन्वय गर्नु’ भन्नुभएछ । त्यसैका आधारमा संगठन नै निर्माण गरेर विधानविपरीतका गतिविधि गरेको त हेर्न सकिँदैन नि । उहाँलार्ई काङ्ग्रेसप्रति समर्पित पुराना व्यक्ति भनेर पो त्यसो भनेको त, संगठन नै बनाएर हैकम गर त भनेको देखिँदैन । आदरणीय दिल दाइलार्ई यहाँ प्रयोग मात्र गरिएको छ । उहाँलार्ई यसबाट अलग भएर प्रयोग गर्नेहरूको पात्र नबन्नु भन्ने मेरो आग्रह हो ।

० जब जनसम्पर्क समिति युरोप अवैधानिक थियो भने केन्द्रिय कार्यालयका मुख्यसचिवले समितिका सभापतिलार्ई ‘सभापति’ नै भनेर पत्र किन काटे होलान् ?
– हेर्नुहोस्, यहाँ पार्टीको लेटरप्याडलार्ई केन्द्रिय कार्यालयका मुख्यसचिवले दुरुपयोग गरिरहनुभएको छ । यो सब हुनुमा उपसभापति विमलेन्द्र निधिको हात छ । निधिजी काङ्ग्रेस उपसभापति त हुनुहोला, तर उहाँ सङ्कीर्ण सोच राख्ने नितान्त सानो समूहको नेता हो । होइन भने उहाँजस्तो व्यक्तिले अवैधानिक काम किन गरिरहनुभएको छ ? गम्भीर प्रश्न यहाँ खडा भएको छ । यो विषयलाई नेपाली काङ्ग्रेसमा आवद्ध तथा यसप्रति आस्था राख्ने सबै मित्रहरूले बुझ्नु जरुरी छ । यो विषयमा म प्रतिवाद गरिरहने छु ।

० यस समितिको लागि नेपाली काङ्ग्रेसको विधान नै सच्याउन पर्छ भन्ने लाग्दैन ?
– यदि पार्टीलार्ई लाग्यो भने सकिन्छ, तर आवश्यकताका आधारमा हुनुपर्छ । यदि सम्पुर्ण युरोपका जनसम्पर्क समिति चाहन्छन् भने युरो–काङ्ग्रेस बन्न सक्छ, तर युरो–काङ्ग्रेस पनि दुई वटा छन्, एक– दिल गुरुङको नेतृत्व भनिएको तर भित्री खेल गंगाधर गौतमजीले खेलिरहनुभएको यो समितिमा देखिएका भनेका उहाँहरू दुई जना मात्र हुनुहुन्छ । अहिले आएर ४-५ जना भएको देखिएको छ भने अर्को शेखर कँडेल नेतृत्वको समितिमा समग्र युरोपमा रहेका काङ्ग्रेसमा सक्रिय व्यक्तिहरू आवद्ध छन् । दुवै समितिका साथीहरूबीच छलफल हुनुपर्‍यो, आवश्यकता छ या छैन हेर्नुप¥यो । त्यसपछि केन्द्रिय समितिलार्ई आग्रह गर्नुपर्‍यो र त्यसमार्फत महासमितिमा गएर विधानमा उल्लेख हुनपर्‍यो भन्ने मेरो धारणा हो ।

० हरेक फोरममा तपाईं यसरी नै प्रष्टसँग आफ्ना बिमति राखिरहनुभएको छ, पार्टी–नेतृत्वको डर लाग्दैन यसरी बोल्न ?
– डर किन ? एउटा प्रजातान्त्रिक पार्टीको इमानदार कार्यकर्ताले विकृतिविरुद्ध बोल्न डराउनु पनि हुँदैन । मैले कसको के खाइदिएको छु, कसको के बिगारिदिएको छु र ! मलाई कसैको डर छैन र आफूलार्ई कमजोर पनि सोच्दिनँ ।

० कुनै समय तपाईंले बेलायतमा बसेर पत्रकारिता गर्ने एक जनालार्ई त ‘भेटेको खण्डमा झापड नै हान्छु’ भन्ने आशयले संजालमा लेख्नुभयो, यसरी आक्रोशित हुनुपर्ने कारण के थियो, बताउन मिल्ला ?
– ज्यादति सहने र त्यसको प्रतिवाद गर्ने अन्तिम सीमा जब भत्किन्छ तब त झापड नै विकल्प रहन्छ नि, होइन र ? तर यो अर्थ नलगाउँ कि हिंसामा उत्रिएरै मात्र समस्याको समाधान हुन्छ ! कसैप्रति शारीरिक आक्रमणमै उत्रनु उचित होइन भन्नेमा म सचेत छु । तथापि, पत्रकारिताको पनि आफ्नो सिद्धान्त, मान्यता र मर्यादा हुन्छ होला नि, कि हुँदैन ? जब सञ्चारकर्मी आफ्नो व्यवसायिक धर्मबाट बिचलित बनेर ब्ल्याकमेलिङ गर्न थाल्छ, त्यसलार्ई के भन्ने ? जब कुनै पत्रकार भनिने व्यक्ति अरुले कान फुकेर लेख्ने र आफ्नो पेसागत मर्यादामा रहँदैन भने त्यस्तालार्ई मैले ‘पत्रुकार’ भन्ने गर्दछु । बेलायतवासी ती व्यक्ति मेरो नजरमा त्यही हुन् र, सुध्रँदैनन् भने मेरानिम्ति ‘पत्रुकार’ नै रहनेछन् ।

० युरोपमा भन्छन्– ‘जनसम्पर्क समिति बेल्जियम’ भनेको सीता सापकोटा हो र, सीता सापकोटा भनेकै जनसम्पर्क समिति बेल्जियम हो । कार्यसमितिका अरु साथीहरू बोल्नुपर्ने विषयमा पनि किन मौन रहन्छन् ?
– हैन, त्यस्तो देखिएको हुन सक्छ तर यथार्थ त्यसो होइन । हो, म निर्वाचित सभापति हुँ, सो कारण जनसम्पर्क समितिको नेतृत्व सीताको हो भन्न न्याय हुन्छ । म प्रजातन्त्रको सिद्धान्तलार्ई सिरानी हालेर सुत्ने मान्छेबाट अधिनायकीपन प्रदर्शन हुन सक्दैन । म सम्वादमा सधैं खुला छु । यो अर्को गुटका मान्छेले मलार्ई लगाउने आरोप मात्र हो, सत्यता छैन ।

० युरोप र खासगरी बेल्जियमको साङ्गठनिक समस्यालार्ई सुल्झाउन तपाईंसँग कस्ता उपाय छन् ?
– युरोपको विषयमा मैले माथि पनि भनिसकेँ कि यो आवश्यकताका आधारमा बन्ने समिति हुनुपर्छ र, यसलार्ई नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनले लिपिबद्ध गर्नुपर्छ । बेल्जियमको सवालमा केन्द्रबाट आधिकारिक परिपत्र आइसकेको छ । मलार्ई अधिवेशन तथा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । यो जिम्मेबारीलार्ई मैले निभाउनु छ र अर्को साथीलार्ई पद हस्तान्तरण गर्नु छ । जे गर्छ अधिवेशनले गर्नेछ । म अझै पनि तपाईंको यसै लोकप्रिय पत्रिकाबाट आह्वान गर्न चाहन्छु, आउनुहोस् छलफल गरौँ, असमझदारीहरूमा चर्चा गरौँ र एक बाटो निकालौँ ।

० सत्ताधारी दलभित्रको गुटगत झगडाका कारण नेपालमा यतिबेला उत्पन्न राजनीतिक सङ्कटबीच नेपाली काङ्ग्रेस सडकमा उत्रनुलार्ई के भन्नुहुन्छ ?
– यसलाई बस्तुगत आवश्यकता नै भन्नुपर्ला । यस विषयमा मेरा आफ्नै मान्यता छन्, यसबारे अहिले यत्ति मात्र भनौँ ।

० प्रधानमन्त्री केपी ओलीले संसद भङ्ग गरेर काङ्ग्रेसको लागि त जनताबाट ताजा जनादेश लिने बाटो सहज बनाइदिएका हैनन् र ?
– अहिले काङ्ग्रेसका लागि सहज हुन सक्ला, तर हामीले हेर्ने भनेको यसबाट पुग्न सक्ने क्षतिलार्ई हो । सर्वोच्च अदालतले संसद भङ्ग गर्ने प्रमको सिफारिस वैधानिक हो भन्यो भने स्वीकार गरेर निर्वाचनमा त जानैपर्छ । तर, जे–जे भइरहेको छ यसले सिस्टममा दीर्घकालिन असरचाहिँ गर्छ नै !

० वर्तमान परिवेशका आधारमाभ भन्नुपर्दा नेपाली काङ्ग्रेसको भविष्य अब कस्तो होला ?
– राम्रो गरे उज्ज्वल नत्र वर्तमान नेकपाको जे छ त्यस्तै हुन्छ । यसलार्ई रोक्न त सकिँदैन नि । प्रजातन्त्रमा बलिया भनेका जनता न हुन् । यो बुझेर पनि काङ्ग्रेसले समेत आफ्नो बाटो बिरायो भने देश एक अन्धकार युगमा प्रवेश गर्छ भन्ने लाग्छ मलाई ।

० अनि काङ्ग्रेसले अपनाइरहेको सिद्धान्त नि ?
– सिद्धान्तका विषयमा चाहिँ पक्कै बहस गर्न सकिन्छ । आखिर काङ्ग्रेसले मानेको मूल सिद्धान्त त प्रजातन्त्र हो नि । त्यसको प्रतिकुल व्यवहार गरेर अघि बढ्न मिल्दैन, बढ्नै सकिँदैन ।

० सङ्घीयता र धर्मनिरपेक्षता पनि काङ्ग्रेसको सिद्धान्तसँग मेल खाने एजेण्डा त थिएनन्, होइन र ?
– यस विषयमा जनमत बुझ्नुपथ्र्यो । अधिक जनसङ्ख्या हिन्दु भएको र हिन्दु धर्मले कसैको केही नबिगारिरहेको अवस्थामा अचानक जनताको इच्छाबेगर जबर्जस्ती लाद्न हुँदैनथ्यो भन्ने मेरो धारणा छ । आज सडकमा जे-जति आवाज उठिरहेका छन्, यसलाई साम्य पार्न जनताको इच्छा सम्बोधन गरिनुपर्छ र, त्यो सम्बोधन भनेको जनमतसङ्ग्रह नै हो ।