तेक्वान्दो अब तानाशाही पाराले चल्दैन : जोशी

तेक्वान्दो अब तानाशाही पाराले चल्दैन : जोशी


युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजिकरण समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला (ज्वाला)ले ७ दिनको समयसीमा दिएर विवादित सङ्घहरूलाई पत्राचार गरेपछि अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । ज्वालाले सर्वप्रथम सहमति गरेर एकै ठाउँमा ल्याउँछु, मिल्ने भए मिलाउँछु, नमिल्ने भए ऐनबमोजिम नयाँ संरचना निर्माण गरेर जान्छु भनेपछि ती विवादित सङ्घमा नयाँ चेहराको आगमन हुने प्रवल सम्भावना बढेको छ ।

संयोजकको यस्तो कथनसँगै विवादित सङ्घमध्यको एक नेपाल तेक्वान्दो सङ्घमा प्रदीप जोशी (टेकराज)को चर्चा चलेको छ । विगतमा तेक्वान्दो सङ्घको उपाध्यक्षको जिम्मेवारीसमेत निभाइसकेका जोशीको चर्चा तेक्वान्दोमा चलेपछि अहिले तेक्वान्दो खेलाडी तथा पदाधिकारीहरूमा नौलो रक्तसञ्चार भएको बुझिएको छ । स्वच्छ छवीका जोशीको आगमनले तेक्वान्दो विवाद सदाको लागि समाप्त हुने यतिबेला विश्वास गरिन थालेको छ । जोशी नेपाल तेक्वान्दो सङ्घका संस्थापक सदस्य, विश्वविद्यालय खेलकुद सङ्घका अध्यक्ष, वर्ल्ड युनिभर्सिटी तेक्वान्दोका उपाध्यक्ष, खेलविज्ञ तथा नेका महासमितिका सदस्य हुन् । तेक्वान्दो सङ्घको अध्यक्षमा जोशीको चर्चा चलेपछि उनीसँग गरिएको संक्षिप्त कुराकानी :

० राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ अनुसार एक खेलको लागि एउटा मात्रै खेल सङ्घ गठन हुनुपर्ने व्यवस्था छ । नेपालमा अहिले दुईवटा तेक्वान्दो सङ्घ अस्तित्वमा छन्, अबको समाधानको उपाय के हो ?
– सर्वप्रथम खेलकुद ऐनमा जुन कुरा व्यवस्था गरिएको छ त्यसैलाई अनुशरण गर्ने हो । ऐनअनुसार यतिबेला दुवै तेक्वान्दो सङ्घ खारेज भैसकेका छन् । त्यसैले खेलकुद मन्त्रालयले अहिले विवाद समाधानको लागि समिति पनि गठन गरेको छ । उक्त समितिले विवाद मिलाउन विवादित सङ्घमा पत्राचार गरिसकेको छ । यस्तो अब स्थामा अब उनीहरू कसरी प्रस्तुत हुन्छन् त्यो महत्वपूर्ण कुरा हो ।

० दुवै तेक्वान्दो सङ्घ मिलेर आउने सम्भावना कत्तिको देख्नुहुन्छ, नमिल्दाको विकल्प के हुन सक्छ ?
– मिलेर जानुको भन्दा अर्को विकल्प नै म देख्दिनँ । अब तेक्वान्दो पहिलेजस्तो तानाशाही पाराले चल्दैन । यदि कसैले यस्तो सोच बनाएको छ भने त्यो दिवास्वप्न मात्रै हो । त्यसैले अरुको अस्तित्वलाई पनि स्वीकार गर्दै मिलेर अगाडि बढ्नुपर्छ । किनकि ऐनमा यो कुरा प्रस्ट रूपमा उल्लेखित छ । त्यसैले सर्वप्रथम कसरी मिलेर जान सकिन्छ त्यो वातावरण तयार पार्ने हो, मिल्न सकेन भने समितिले जे निर्णय गर्छ र निर्देशन दिन्छ त्यसैअनुरुप अगाडि बढ्ने हो ।

० तपाईंको नाम अहिले तेक्वान्दो सङ्घको अध्यक्षको रूपमा चर्चामा छ, के भन्नुहुन्छ ?
– म नेपाल तेक्वान्दो सङ्घको संस्थापक सदस्यमध्यको एक हुँ, मेरो नाम अध्यक्षमा जोडेर आउनु कुनै नौलो कुरा होइन । यहाँ तेक्वान्दोसँग साइनो नै नभएका व्यक्तिले हालिमुहाली गरिरहेका छन्, जसको कुनै पनि कोणबाट मसँग तुलना हुन सक्तैन । देश, काल, परिस्थितिअनुसार मेरो नामको चर्चा हुनुस्वभाविकै ठानेको छु ।

० तेक्वान्दो विवादको कुरो मिलिसक्यो भन्छन्, तपाईंलाई यो कुरोको जानकारी छ ?
– तपाईंले सुन्नुभएको खबर सही हो, यतिबेला तेक्वान्दो सङ्घका एकजनाबाहेक सबै पदाधिकारी सकारात्मक छन् । उनीहरू तेक्वान्दो समग्र विकास र विस्तारको लागि त्याग गर्न तयार छन् । तर एउटा व्यक्ति जसले अहिले पनि मिलेर जाने कुरामा हलो अड्काइरहेको छ । जसले गर्दा तेक्वान्दो विवाद हल हुन सकेको छैन । यसलाई मैले वर्षौंदेखि रजाइँ गर्दै आएको ठाउँमा अरु कसैले धावा बोलेपछि कस्तो सन्त्रासको स्थिति हुन्छ त्यसरी हेरेको छु, र यो तेक्वान्दोको लागि हितकर छैन । संस्थालाई व्यक्तिविशेषले नभइ नियमसंगत संस्थागत र रूपमा चलाउनु पर्छ भन्ने मेरो मान्यता हो ।

० एकजनाले नमान्दा के हुन्छ त ? त्यसलाई पाखा लगाएर अगाडि बढ्न सक्ने अबस्था छैन ?
– किन नहुनु ? अब ब्यक्तिले होइन, ऐनले पाखा लगाउँछ । तेक्वान्दोमा अब कुनै विवाद गर्न आवश्यक छैन, सबै ऐन अनुसार हुन्छ । त्यसपछि २१औँ शताब्दीको नयाँ सोच, नयाँ विचार र नयाँ भिजन भएको तेक्वान्दो हाँक्न सक्ने नयाँ पुस्ता आउँछ । त्यसले दशकौँदेखि तेक्वान्दोमा जरा गाड्दै आएका एकाधिकारवादी, सामन्ती सोच र संस्कार भएकालाई पाखा लगाउँदै खेल सङ्घलाई गतिशील बनाउनेछ ।

० यदि तपाई भविष्यमा तेक्वान्दो सङ्घको अध्यक्ष हुनुभयो भने सर्वप्रथम कुन कार्यलाई प्राथमिकता राख्ने योजना बनाउनुभएको छ ?
– सर्वप्रथम म तेक्वान्दोको शुद्धिकरण गर्ने प्रयासमा लाग्नेछु । त्यसको लागि सुनपानी छर्किनेदेखि तेक्वान्दोको विकाससँग जोडिएका सबै कुरालाई प्राथमिकतामा राख्नेछु । त्यसपछि विगतमा तेक्वान्दोमा आर्थिक क्रियाकलापअन्तर्गत भएका भ्रष्ट्राचारको छानविन गर्नेछु । सङ्घमा कब्जा जमाएर बसेका र अपारदर्शिता अपनाएका सबै कुरालाई बाहिर ल्याउने छु । साथै खेलकुदको साधन–स्रोत प्रयोग गर्ने, विकासको नाममा केही नगर्नेहरूको फेहरिस्त सार्वजनिक गर्नेछु ।