‘सूर्य इन्टरनेशनल अवार्ड’ आयोजना न्युयोर्कमा गर्ने तयारी

‘सूर्य इन्टरनेशनल अवार्ड’ आयोजना न्युयोर्कमा गर्ने तयारी


  • राजन घिमिरे

प्रवासमा हुने कलाकार सम्मान र फिल्म अवार्डमा विशिष्ट पहिचान बनाउन सफल ‘सूर्य इन्टरनेशनल अवार्ड’ले अब यात्रामा छलाङ मार्ने भएको छ ।

जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न गरिसकेपछि उक्त आयोजक संस्था तेस्रो संस्करणको तयारीमा जुटेको हो । सुर्य कर्पोरेशनका प्रबन्ध निर्देशक वाशुदेव लामिछानेले तेस्रो संस्करण अझै भव्य हुने जनाएका छन् ।

अवार्ड आयोजनाकै सिलसिलामा लामिछाने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । अवार्ड आयोजनाबारे थप जानकारी दिँदै उनले भनेका छन्– ‘काठमाडुमा एक कार्यक्रमका बीच कार्यक्रमको एनाउन्समेन्ट गर्नेछौँ । टप ३ लाई सर्टिफिकेट वितरण कार्यक्रम अर्थात् नोमिनेसन सेरेमोनी जापानको टोकियोमा हुनेछ भने अवार्ड समारोह अमेरिकाको न्युयोर्कमा गर्ने छौँ ।’

कर्पोरेसनले सन् २०१५ देखि ‘साकुरा नाइट’ नामक स्वदेश तथा विदेशमा युजिकल इभेन्ट गर्दै आइरहेको छ । कार्यक्रमबाट भएको मुनाफाको केही अंश समाजसेवामा लगाउँदै आएको कर्पोरेसनले विशेषगरी जापान तथा नेपालमा कार्यक्रम गर्ने गरेको छ ।

सुर्य कर्पोरेसनले विदेशमा नेपाली चलचित्र पनि प्रदर्शन गर्दै आइरहेको छ । नेपालको निकै चलेको ब्यानर ‘छक्का पन्जा’ टिमको जापान राइट्स पनि यसै कर्पोरेसनले खरिद गरेको थियो । कम्पनीले केही समयअघि भुवन केसी र अनमोल केसीसँग काजल फिल्म्स्को अब बन्ने चलचित्रको विश्वभरको लागि इन्टरनेसनल राइट्स लिइसकेको छ ।

विदेशमा नेपाली चलचित्र प्रदर्शन गर्दै आएका लामिछानेले सन् २०१८ बाट सुरुवात गरेको यस अवार्डलाई डायस्पोरामा हुने ठुलो अवार्डमध्येको एक मानिन्छ । सँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्‍याउँदै आइरहेको सूर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली नेपाली चलचित्र क्षेत्रलाई समेत यसले थोरै भए पनि टेवा दिने विश्वास लिएका छन् ।

गत वर्ष भएको अवार्डको दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको थियो । जहाँ नेपाली कलाजगतलाई प्रतिनिधित्व गर्ने नामहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसीदेखि पछिल्लो पुस्ताका कलाकारहरू अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको उपस्थिति रहेको थियो । अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिएको थियो ।

वर्ष २०१८ देखि सूर्य कर्पोरेशनले शुरु गरेको ‘सुर्य इन्टरनेशनल अवार्ड’ मा कलाकारहरू, सांगीतिक क्षेत्रका विशिष्ट ब्यक्तित्वहरू, राष्ट्रिय पत्रकारहरुका साथै स्थानीय दिग्गज ब्यक्तित्वहरूको विशेष सम्मानका साथ सम्मानपत्र र मायाको चिनो प्रदान गर्न समुन्द्रबीच पानीजहाजभित्र राखिएको विशेष ‘क्रुज पार्टी’ सम्पन्न भएको थियो ।

गत वर्ष जस्तै यो वर्ष पनि नेपालको सरकारी निकायहरू र सरोकारवालाहरूसँगको सहकार्य हुने बुझिएको अवार्डले कोरोनाको कहरले थला परेको यो अवस्थामा यस किसिमको घोषणाले कला र संस्कृतिको क्षेत्रमा आबद्ध सम्पुर्ण मनहरू कार्यक्रमलाई लिएर उत्साहित भएका छन् । चलचित्र र संगीत क्षेत्र समेटिने यस अवार्डको सम्पुर्ण जानकारी छिट्टै सार्वजनिक गरिने बताइएको छ ।