पेरिस ओलम्पिकमा ‘ब्रेकिङ डान्स’लाई आधिकारिक मान्यता

पेरिस ओलम्पिकमा ‘ब्रेकिङ डान्स’लाई आधिकारिक मान्यता



सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिकमा ब्रेक डान्सिङ (ब्रेकिङ डान्स)लाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले आधिकारिक मान्यता प्रदान गरेको छ । युवा दर्शकहरूको आकर्षणलाई मध्यनजर गर्दै आइओसीले यस्तो निर्णय गरेको हो ।

ब्रेकिङ डान्सलाई ओलम्पिकमा सहभागिता गराउँदा ओलम्पिकको रौनक र लोकप्रियतासमेत बढ्ने आईओसीले विश्वास प्रकट गरेको छ ।
पेरिस ओलम्पिकमा ब्रेक डान्सिङ ‘ब्रेकिङ’ नामले चिनिने छ । यो नाम ७० को दशकमा संयुक्त राज्यमा उच्चारण गरिन्थ्यो । पेरिस ओलम्पिक आयोजकले दुई वर्षअगाडि ब्युनस आयर्समा आयोजित युवा खेलकुदमा ब्रेकिङ डान्सको प्रशिक्षण गरेको थियो । प्रशिक्षण सफल भएपछि पेरिस ओलम्पिकमा बे्रकिङको सहभागिताको लागि आयोजकले आइओसीसमक्ष प्रस्ताव गरेका थिए । पछि आइओसीको कार्यसमितिको बैठकले ब्रेकिङलाई मान्यता दिएको थियो ।

आधुनिक ओलम्पिक खेललाई सनसनी र रोमान्चकारी बनाउन आइओसीले आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ र सर्फिङ सहभागिता गराएको छ । यी तीन खेलको प्रतिस्पर्धा आगामी टोकियो ओलम्पिकमा हुनेछ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको माहामारीका कारण सन् २०२० मा जापानको टोकियो आयोजना हुने ओलम्पिक खेलकुद २०२१ म सारणी गरिएको छ । अब यो मितिमा जस्तोसुकै कोरोनाको महामारी भए पनि टोकियो ओलम्पिक तोकिएकै समयमै हुने आईओसीले जनाएको छ ।

आइओसीले पेरिस ओलम्पिकमा टोकियो ओलम्पिकको तुलनामा खेलहरूको सहभागिता समान रहने जनाए पनि पदक स्पर्धामा १० वटा कम हुने जनाएको छ । जसअनुसार भारोत्तोलनका चार समुह र बक्सिङका प्रतिस्पर्धामा कटौती गरिएको छ । अब पेरिस ओलम्पिकमा ३ सय २९ पदकको लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै पेरिस ओलम्पिकमा खेलाडीहरूको कोटामा पनि कटौती गरिएको छ । आइओसीका अनुसार अब पेरिस ओलम्पिकमा १० हजार ५ सय खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन्, जुन टोकियो ओलम्पिकमा सहभागी खेलाडीको सङ्ख्या भन्दा ६ सयले कम हो ।

त्यस्तै, प्रशासनिक अनियमिततासँग जुझिरहेको बक्सिङ र भारोत्तोलन खेलका विभिन्न तौल समुहहरूमा पेरिस ओलम्पिकमा आइओसीले सबैभन्दा बढी कटौति गरेको छ । जसअनुसार अब पेरिस ओलम्पिकमा बक्सिङ र भारोत्तोलनका खेलाडीहरूको न्युन उपस्थिति रहनेछ । डोपिङको इतिहास र यसमा सुधार गर्नुका साथै लागु गर्ने कुरामा भैरहेको ढिलासुस्तीका कारण आइओसीले यस्तो निर्णय गरेको हो ।

यदि डोपिङ सुधारका लागि लागु गर्ने नियममा आनकानी गरियो भने यी दुवै खेललाई पेरिस ओलम्पिकबाट हटाउन सकिने पनि आइओसीले जनाएको छ । त्यस्तै आउँदो ओलम्पिकहरूमा पुरुष र महिलाको सहभागिता समान बनाउने आफ्नो दीर्घकालीन योजना भएको आइओसीले जनाएको छ ।