‘ओसिए’को साधारणसभामा सहभागी हुन अध्यक्ष र महासचिव मस्कट प्रस्थान

‘ओसिए’को साधारणसभामा सहभागी हुन अध्यक्ष र महासचिव मस्कट प्रस्थान


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९औँ साधारणसभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरेका छन् ।

साधारणसभाका क्रममा आगामी सन् २०३० को एसियाली खेलकुदको आयोजना गर्ने शहर चयनका लागि मतदान हुनेछ । अध्यक्ष र महासचिव श्रेष्ठद्वयले उक्त मतदानमा भाग लिनेछन् ।

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१औँ एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदानअगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन तुर्की अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टाछुट्टै वार्ता पनि गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारणसभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुति दिनेछन् ।

त्यसमा ओसीसीको मूल्याङ्कन कमिटीले प्रतिवेदन पेश गर्नेछ । त्यसपछि चुनाव हुनेछ र लगत्तै त्यसमा विजयी शहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।

साधारणसभाका अवसरमा सान्यमा हुने छैटौँ बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौँ एसियाली इन्डोर तथा मार्सल आर्टस् खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९औँ एसियाली खेलकुदबारे पनि छलफल हुनेछ ।

त्यस्तै ओसीए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारणसभाका क्रममा पेश गरिने छ । कार्यक्रमले अब हुने साधारणसभाको मिति र स्थानबारे पनि निर्णय गर्ने बताइएको छ ।