सन पाउलोको नाम अब ‘म्याराडोना रङ्गशाला’

सन पाउलोको नाम अब ‘म्याराडोना रङ्गशाला’



इटालीको नेपोलीबाट लामो समय फुटबल खेलेका म्याराडोनाको सम्मानमा इटालीको चर्चित फुटबल क्लब नेपोलीले आफ्नो सन् पाउलो रङ्गशालाको नाम परिवर्तन गर्दै आधिकारिक रूपमै ‘डियगो अरमान्डो म्याराडोना’ राखेको छ ।

नेपल्सको सिटी काउन्सिलको गत साता बसेको बैठकले रङ्गशालाको नाम फेर्ने निर्णयलाई औचारिक रूपमा मान्यता दिएको थियो । नेपल्सका मेयर लुइगी डे मागिस्ट्रिसले प्रस्तुत गरेको प्रस्तावलाई काउन्सिलले स्वीकार गरेको हो । म्यारोडोनाले सात वर्ष नेपोली क्लबबाट ब्यावसायिक फुटबल खेल्दै १ सय १५ गोल गरेका थिए ।

नेपोली क्लबका अध्यक्ष एरेलो डे लुइरेन्टसले आफुले १७ वर्षअघि नै सन पाउलोको नाम परिवर्तन गरेर म्याराडोना राख्नुपर्ने भनेकोमा आज त्यसले औचारिकता रूपमा मान्यता पाउँदा निकै खुशी लागेको बताए ।

म्याराडोना नेपोलीमा अनुबन्ध हुँदा नेपाली इटाली सिरि ए लिगको पुछारमा रहेको थियो । म्याराडोनाको आगमनसँगै फड्को मारेको नेपोली केही वर्षमै लिग च्याम्पियन बनेको थियो । म्यारोडोनाले नेपोलीलाई लीग च्याम्पियन बनाउनुको साथै अन्य महत्वपूर्ण उपाधि दिलाएका थिए । म्यारोडोनाले सिरी ए उपाधिसँगै युइएफए कपका जितेर नेपोलीलाई विश्वकै चर्चित व्यवसायिक क्लबको रूपमा परिचित गराएका थिए ।

म्याराडोनाको गत साता हृदयघातबाट ६० वर्षको उमेरमा निधन भएको थियो । मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरेर घरमा आराम गरिरहेका म्याराडोनालाई हृदयघात भएको थियो ।