बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा



नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन् ।

यसअघि सन्दीपले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए । दशौँ संस्करणको बिग बास लिग बिहीबार (१० डिसेम्बर)देखि शुरु भएको छ । बिहीबार सम्पन्न पहिलो खेलमा लामिछानेआबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले जानकारी दिए । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका थिए । ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए ।

सिपिएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिय (आइपिएल)मा सहभागी भए भने दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आइपिएलमा कुनै पनि खेल खेल्ने अवसर पाएनन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका र हाल उनी कोरोनाबाट मुक्त अवस्थामा रहेका जनाइएको छ ।