मिस नेपाल-२०२० को उपाधि नम्रतालाई

मिस नेपाल-२०२० को उपाधि नम्रतालाई



मिस नेपाल-२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले शनिबार काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया नम्रताले ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ताज पहिऱ्याइन् । कल्पना गर्नुहोस् तपाईं सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईं नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत उपहार पाएकी छन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ढ प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् ।

प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले हासिल गरेकी छन् । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार प्राप्त गरेका छन् ।

यस्तै, प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । आज गरिएको प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुन सकेको थिएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको उनले जानकारी दिए । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।

तस्बिर रासस