नेकपा अत्यन्त कठिन मोडमा रहेको महासचिव पौडेलको स्वीकारोक्ति

नेकपा अत्यन्त कठिन मोडमा रहेको महासचिव पौडेलको स्वीकारोक्ति



प्रधानमन्त्री र देउवाबीचको भेटमा सत्ता साझेदारीको नभई संवैधानिक नियुक्तिबारे छलफल भएको खुलासा

सत्तारुढ नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको स्वीकार गरेका छन् । कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको उनको भनाई छ ।

प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पौडेलले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताए ।

नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको दाबी गर्दै महासचिव पौडेलले पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नाको विकल्प नभएको बताए । आफू अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागिपर्ने पनि उनले उल्लेख गरे ।

पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउँदै उनले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको तर्क गरे । मर्यादाबाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुनेछ भन्दै उनले पार्टी एकताको रक्षाका लागि एक ठाउँमा उभिन सम्बन्धित सबैलाई आग्रह गरे ।

पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको जानकारी दिए ।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभई संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको स्पष्ट गरे ।

अर्थमन्त्री पौडेलले सरकार देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको जिकिर गर्दैउनले भने, ‘अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ ।’