एसएसपी सिंहले सम्हाले काठमाडौं परिसरको नेतृत्व

एसएसपी सिंहले सम्हाले काठमाडौं परिसरको नेतृत्व



सबै प्रहरीले अनुशासित, मर्यादित र सभ्य भएर नागरिकसँग व्यवहार गर्नुपर्नेमा जोड

■ सनत आचार्य

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले आज (८ मंसीर) देखि परिसरकोे जिम्मेवारी सम्हालेका छन् ।

गृहमन्त्रालयको मङ्सिर ५ को निर्णयअनुसार एसएसपी श्यामलाल ज्ञवाली प्रहरी प्रधानकार्यालय सरुवा भएपछि सिंहलाई परिसर कमाण्डको जिम्मेवारी दिइएको थियो ।

कमाण्ड सम्हालेलगत्तै आजै परिसरमा रहेका जुनियर तथा सिनियर अधिकृतहरूलाई आवश्यक निर्देशन दिँदै एसएसपी सिंहले आफ्नो प्राथमिकता भनेको राजधानीको शान्ति–सुरक्षा रहेको र आमनागरिकलाई सुरक्षित छु भन्ने अनुभूति दिन कसैले कुनै कसर राख्न नहुने गरी काम गर्न आवश्यक रहेकोले आफ्नो मातहतका सबैले सोहीअनुसार भूमिका निर्वाह गर्नु पर्ने बताए ।

एसएसपी सिंहले आफ्नो मातहतका सबै प्रहरीले अनुशासित, मर्यादित र सभ्य भएर नागरिकसँग व्यवहार गर्नुपर्नेमा जोड दिए ।

काठमाडौंमा कुनै पनि आपराधिक घटना हुन नदिन सबै सजगतापूर्वक लाग्नुपर्ने र कानुनलाई कसैले हातमा लिएर काम गर्छ भने त्यो आफुलाई सह्य नहुने पनि सिंहले प्रष्ट पारे ।

एसएसपी सिंहको मंगलबार बिहान काठमाडौं परिसर मातहतमा रहेका प्रहरी कार्यालयका अधिकृतहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

यसअघि एसपी हुँदा उनले काठमाडौं र ललितपुर परिसरमा काम गरिसकेको हुनाले उपत्यकाको शान्तिसुरक्षा र अमनचैन कसरी स्थापित गर्न सकिन्छ भन्नेमा जानकार रहेको हुँदा सोहीअनुसार एसएसपी सिंहले रणनीति निर्माण गर्ने बुझिएको छ ।