बिहेको रमझममा अल्मलिँदा सुनसहित तीन लाख नगद चोरी

बिहेको रमझममा अल्मलिँदा सुनसहित तीन लाख नगद चोरी


सुरेश धामी, बझाङ

बुङगल नगरपालिका वडा नं २ रैसिल्लीको एक घरमा चोरी भएको छ । स्थानीय जयमल जाग्रीको घरबाट गत शनिबार राति ३ लाख नगदसहित गरगहना चोरी भएको हो । उक्त रात गाँउमा बिहे थियो ।

घरका सबै जना वैवाहिक समारोहमा सरिक हुन पुगेको मौकामा नगद र गरगहना गरी ३ लाख ५० हजार बराबरको चोरी भएको जयमल जाग्रीले बताए ।

उनले भने, ‘शनिवार साँझ ७ बजे तिर हामी सबै जना ढोकामा ताल्चा लगाएर भाइको बिहेमा गएका थियौँ । घरमा कोही नभएको मौकामा चोरले घरको ताल्चा फोडेर माथिल्लो तालामा रहेको बाकससहित उठाएर लगेछ । चोरले उक्त बाकस २ सय ५० मिटर परको जंगलमा छोडेको पाइयो ।’

जाग्री परिवारको यस वर्ष हिउँदमा मधेसतिर घर बनाउने योजना थियो । अत्तरियामा घर बनाउने योजना भएकाले उनीहरुले रकम जम्मा गर्दै थिए । केही दिनअघि मात्र पैसा असुली गरेर घरमा राखिएको थियो ।

चोरी गर्ने मान्छे टाढाको नभई गाउँकै हुन सक्ने प्रहरीको अनुमान छ । घरको बारेमा सबै थाहा पाएको मानिसले मात्र यस्तो घटना गर्न सक्छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

(तस्बिर : घरभन्दा २५० मिटर टाढा जङ्गलमा भेटिएको चोरीको बाकस)