बेलायती ह्याम्पशायर प्रहरीका सल्लाहकार बने नेपाल प्रहरीका पूर्वअधिकृत श्रेष्ठ

बेलायती ह्याम्पशायर प्रहरीका सल्लाहकार बने नेपाल प्रहरीका पूर्वअधिकृत श्रेष्ठ



बेलायतको नेपाली समुदायका एक अग्रज सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् ।

बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए ।

ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ पनि एक छन् । श्रेष्ठलाइ सल्लाहकार बोर्डमा नियुक्त गरिएको कुरा ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले शिवजी श्रेष्ठलाई जानकारी गराएकी थिइन् । नेपाल प्रहरीका पूर्वडिएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीकोे सल्लाहकारमा नियुक्त गरिएको उनले बताए ।

बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरुपछि उनलाई नियुक्ति दिइएको हो । त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसंगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु गरिएका थिए ।

बोर्डमा सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको शुरुदेखि २ वर्ष रहनेछ ।

बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् ।

स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदायहरु र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढिकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ ।

प्रहरीका गतिविधि र घटनाक्रमहरुलाई स्वतन्त्रतापूर्वक समिक्षा गर्ने, त्यसप्रति आफ्नोे धारणाहरु दिने र समुदायको भावना एवम् आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने काम बोर्डको हो ।

प्रहरीले सञ्चालन गरेका विभिन्न घटनाहरुमाथिका प्रमुख अनुसन्धानहरुको मुल्यांकन गर्दै स्थानीय प्रहरीको नीति तथा योजना तर्जुमाका लागि समेत सुझाव दिने काम सल्लाहकार बोर्डले गर्न सक्छ ।

बेलायती प्रहरीको क्षेत्रीय स्तरको सल्लाहकार बोर्डमा नेपाली समुदायबाट नियुक्त हुने सम्भवतः श्रेष्ठ नै पहिलो हुन् ।

‘मैले यो जिम्मेवारीलाई गौरवका रुपमा लिएको छु । हाम्रो सिंगो नेपाली समुदायकै प्रतिनिधिका रुपमा मलाई सल्लाहकार नियुक्त गरिएको मैले ठानेको छु’, श्रेष्ठले भने, ‘हाम्रो समुदायको भावना र आवश्यकताको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो अठोट छ ।’

प्रहरीमाथि लाग्ने जातीय भेदभाव र शक्ति दुरुपयोगको आरोपलाई हटाउने दिशामा सक्दो योगदान गर्ने उनले बताए ।

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको बेजिंगस्टोक मल्टकिल्चर फोरममा हाल अध्यक्ष छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको फोरममा केहि महिनाअघि उनी अध्यक्ष नियुक्त भएका हुन् ।

लेबर पार्टीको बेजिंगस्टोक कार्यसमितिका सदस्य श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदाय हेर्ने विभागका संयोजक हुन् । स्थानीय क्रयामबोर्न कलेजमा उनी गभर्नर पनि छन् ।

बेलायतको स्थानीय समुदायसंग निकट रहेर सामाजिक कामहरु गर्दै आएका श्रेष्ठ यहाँको नेपाली समुदायमा पनि उत्तिकै क्रियाशिल छन् ।