बालिकाको उपचारमा सघाउन गल्कोट समाज जापानको सत्प्रयास

बालिकाको उपचारमा सघाउन गल्कोट समाज जापानको सत्प्रयास


स्पाइनल मस्कुलर अट्रोफी रोगबाट ग्रस्त बालिकाको उपचारका लागि करिव पच्चीस करोड आवश्य पर्ने


मानवीय सेवामा सधै अग्रस्थानमा रहँदै आएको गल्कोट समाज जापानले सियोना श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरी अर्को एक उदाहरणीय कार्य गरेको छ । नवलपरासीको रामग्राम २ घर भएका डा. सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा विरलै देखिने स्पाइनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त भएकी छन् ।

विश्वका अन्य देशमा समेत उपचार असम्भव जस्तै भएको यो रोगको अमेरिकामा मात्रै उपचार सम्भव छ । उक्त रोगको उपचारको निम्ति करिव २१ लाख अमेरिकी डलर अर्थात नेपाली करीब २५ करोड खर्च लाग्ने परिवारको जानकारीसँगै यो अभियान संचालन गरेको गल्कोट समाज जापान विपत तथा मानवीय सेवा विभाग संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए।

नेपालीहरु एकअर्काको दुःखमा संसारको जुनसुकै कुनामा भए पनि हातेमालो गरेर एकअर्काको दुःख पार लगाउन सधैं तत्पर रहन्छौ भन्ने प्रमाणित गर्दै यस गल्कोट समाज जापानले पनि सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।

समाजको यस अभियानमा छोटो समयमा सात लाख त्रिसठ्ठी हजार,तीन सय सत्सठ्ठी नेपाली रुपैया संकलन भएको थियो । संकलित रकम नेपाल हस्तान्तरण गरिसकेको समाजले जानकारी दिएको छ भने सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ।