‘चिकित्सक’ भनेकोमा आपत्ति !

‘चिकित्सक’ भनेकोमा आपत्ति !



घटना र विचारको अनलाइन समाचार संस्करण घटना र विचार डट कममा प्रकाशित समाचारप्रति गैह्रसरकारी आयुर्वेद चिकित्सक सङ्घले आफ्नो भिन्न धारणा सार्वजनिक गरेको छ ।

‘चिकित्सक बीपी तिमल्सिनासँग पादरीहरू ग्यालिलियोसँग रिसाएको भन्दा बढी क्रुद्ध’ https://ghatanarabichar.com/204112 शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै सङ्घका तर्फबाट जारी विज्ञप्तिमा घटना र विचारले समेत क्षमायाचना गर्नुपर्ने दाबी गरिएको छ ।

सङ्घका अध्यक्ष डा. मूक्तराज लामिछानेले घटना र विचारमा टेलिफोन सम्पर्क गरी बीपी तिमल्सिनालाई चिकित्सक भनेर लेख्नु पत्रिकाको गम्भीर भुल भएको र तिमल्सिनाको नाम चिकित्सकका रूपमा कतै रेकर्ड नभएको स्पष्ट गर्दै त्यसनिम्ति पत्रिकाले क्षमायाचना गर्नुपर्ने बताएका छन् । डा. लामिछानेले ‘पाथिभरा आयुर्वेदिक अस्पताल दशौँ वर्षदेखि सञ्चालनमा आएको हामीलाई थाहा छ र, हामी चुपचाप थियौँ, तर कोरोना जस्तो सम्वेदनशील भाइरसका बारेमा तिमल्सिनाका अभिव्यक्ति गैरजिम्मेवार भएकोले जनतालाई सचेत तुल्याउनुपर्ने अवस्था आएको’ अभिव्यक्ति दिएका छन् । लामिछानेले घटना र विचारको समाचार आफूहरूको बेइज्जत गर्ने किसिमबाट आएको जिकिर पनि गरेका छन् ।

स्मरणीय छ, पाथिभरा आयुर्वेदिक अस्पताल विगत झण्डै दुई दशकदेखि विधिवत सञ्चालनमा छ । नेपालमा सर्वाधिक जडिबुटीहरू पहिचान गर्ने एक मात्र विज्ञका रूपमा बीपी तिमल्सिनाको नाम लिइन्छ । उनले साढे चार हजार प्रकारका जडिबुटी चिन्न सक्ने दाबी गरेका छन् । ‘तपाईंलाई चिकित्सक भनेकोमा सङ्घले आपत्ति जनाएको छ नि’ भन्ने प्रश्नमा तिमल्सिनाको भनाई छ- ‘प्रमाणपत्र दिने निकाय र हेर्ने निकायलाई भ्रम छैन ।’