नेपाली कांग्रेसको बैठक शुक्रबार

नेपाली कांग्रेसको बैठक शुक्रबार



देहरादूनमा विद्यार्थी कुटिएको घटनाप्रति गम्भीर


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ

पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

यसै क्रममा भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेसले सरकार समक्ष आग्रह गरेको छ ।

कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक वक्ताव्य जारी गर्दै देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएका छन् ।

शर्माको विज्ञप्तिमा भनिएको छ- ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन् । जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरुको हो । कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एक मात्र पनि नेपाली विद्यार्थी या अन्य कोही पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ । अतः देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’

‘नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसमक्ष माग गर्दछौँ ।’